किमाथांका नाका बन्द

विराटनगर । नेपाल–चीन जोड्ने किमाथांका नाका बन्द भएको छ ।

तीन दिनदेखिको अविरल वर्षका कारण नाका बन्द भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवकुमार खड्काले बताए ।

‘‘चीनतिरको भूभाग चागामा पहिरो जाँदा सडक अवरुद्ध भएका कारणले बन्द भएको हो,’ उनले भने, ‘नेपालीहरूको चाडपर्वको बेला छ, छिट्टै खुल्ने भनेर त्यहाँको प्रशासनले भनेको छ ।

प्रजिअ खड्काले ४÷५ भित्रै खुल्ने जानकारी आएको बताए ।

शनिबार चीनतिर सामग्री किन्न गएका नेपाली नागरिकलाई समेत पहिरोले रोकेको थियो ।

‘२० जना स्थानीयसहित व्यापारीहरू सामग्री किन्न जानुभएको रहेछ,’ उनले भने, ‘८ जना फर्कनु भएछ । १० जनालाई पहिरोले रोकेछ । उताको प्रशासनसँग समन्वय गरेर हामीले उहाँहरूलाई ल्याएका छौं ।’​

संखुवासभाको भोटखोला गाउँपालिकाका स्थानीयले चीनका बजारबाट दैनिक उपभोग सामग्रीहरू ल्याउने गरेका छन् ।

किमाथांका सदरमुकाम खाँदवारीबाट करिब ६० किलोमिटर टाढा छ ।

नाका लामो समयसम्म बन्द भएमा खाद्यान्नलगायतका सामग्री अभाव हुने स्थानीयले बताएका छन् ।

सोमबार, १४ असोज, २०८१, साँझको ०६:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर