कोशीका सभामुख र उपसभामुखको सुविधा बढाइयो

विराटनगर । कोशी प्रदेश सरकारले सभामुख र उपसभामुखको सेवा सुविधा बढाएको छ । प्रदेश सरकारले सभामुख अम्बरबहादुर विष्ट र उपसभामुख सिर्जना दनुवारको सेवा सुविधा बढाएको हो । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को अनुसूची संशोधन गर्दै सभामुख र उपसभामुखलाई दिने इन्धन सुविधा थप गरेको हो ।

उनीहरूलाई घर जान–आउन इन्धन अभाव भएको भन्दै सेवासुविधा बढाइएको हो । मासिक ७५ लिटर र उपसभामुखका लागि ५० लिटर पेट्रोल सुविधा थप गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारीले बताए ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले सभामुख र उपसभामुखलाई दिँदै आएको इन्धन बढाएको कोशी प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री अधिकारीले बताए । यसअगाडि सभामुखलाई १५० लिटर इन्धन दिने गरिएको थियो भने उपसभामुखलाई १२५ लिटर दिने गरिएको थियो ।

अहिले सभामुखलाई दिइने इन्धन बढाएर २२५ लिटर बनाइएको छ । उपसभामुखलाई भने १७५ लिटर दिनेगरी मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

प्रदेश सरकारले जारी गरेको राजजपत्रअनुसार प्रमुख प्रतिपक्षी दलका नेता तथा सत्तापक्षका प्रमुख सचेतकको सेवा सुविधा भने बढाइएको छैन ।

‘सभामुख–उपसभामुखले नै घर जान–आउन इन्धन अभाव भएको भनेर भनेपछि थप इन्धन दिने निर्णय गरिएको हो,’ मन्त्री अधिकारीले भने, ‘अन्य पदाधिकारीलाई भने थप इन्धन दिने निर्णय गरेका छैनौं । यसले ठुलो मार पर्दैन ।’

सभामुख विष्टको घर झापा हो भने उपसभामुख दनुवारको घर उदयपुर हो । दुवै जनालाई प्रदेश सरकारले आवासको सुविधासमेत दिएको छ ।
सभामुख राप्रपाका हुन् भने उपसभामुख एमालेकी हुन् ।

उपसभामुख दनुवारले आर्थिक वर्ष २०८०–०८१ मा २ लाखभन्दा बढी भ्रमण भत्ता बुझेकी थिइन् । उनले गत आर्थिक वर्षमा २ लाख १६ हजार १ सय ७ रुपैयाँ भ्रमण भत्ताबापतको रकम बुझेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

उपसभामुख दनुवारले उदयपुर जाँदा महिनामा ४ दिनको मात्रै भत्ता बुझ्न पाउँछिन् ।

यस्तै, सभामुख विष्टले भने १ लाख ६ हजार ९७५ रुपैयाँ बुझेको संसद् सचिवालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

मङ्गलबार, ०८ असोज, २०८१, दिउँसोको ०४:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर