उन्नति सहकारी ठगी : खनालविरुद्ध प्रहरीद्वारा उजुरी आव्हान

अध्यक्ष सुमन खनाल २०८० फागुनमा बचतकर्ता तथा शेयर सदस्यको रकम फिर्ता गर्ने तमसुकमा सही छाप गरेर उम्किएका थिए ।

विराटनगर । प्रहरीले झापा शिवसताक्षी नगरपालिका ३ को उन्नति बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका शेयर सदस्य तथा बचतकर्तालाई उजुरी दिन सार्वजनिक सूचना टाँस गरेको छ । नेकपा एमालेका कोशी प्रदेश सांसद राधाकृष्ण खनालका पुत्र तथा सहकारीका अध्यक्ष सुमन खनालका विरुद्धमा पीडित नन्दप्रसाद सुवेदीसहित २० जनाले बचतकर्ताहरुले बचत गरेको रकम संस्थाका पदाधिकारी तथा व्यवस्थापक समेतले हिनामिना, अपचलन गरी ठगी गरेको भन्दै उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाले शनिबार सार्वजनिक सूचना जारी गर्दै उक्त सहकारीबाट ठगीमा परेका अन्य शेयरधनी तथा बचतकर्ताहरु भए सहकारीमा बचत गरेको पासबुक, नागरिकताको प्रतिलिपिसमेत कागजातहरु लिएर प्रहरी कार्यालयमा उपस्थित हुन आग्रह गरेको हो । प्रहरी कार्यालय झापाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जारी गरेको सूचना शिवसताक्षी नगरपालिकाको कार्यालय, सहकारीको कार्यालयमासमेत टाँस गरिएको छ ।

उक्त सहकारीका अध्यक्ष खनालले बचतकर्ता र शेयर सदस्यहरुको एक करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ ठगी गरेको शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष भाष्कर न्यौपानेको नेतृत्वमा गठित समितिको प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदनमा भएजति आफूले ठगी नगरेको अध्यक्ष खनाल बताउँछन् । ‘त्यहाँ भनेजस्तो ठगी भएको छैन । ऋण लगानी भएको छ । ८०–८२ लाख जति रकम अहिले अभाव भएको हो । ऋण उठाएर तिर्न सक्छौं,’ उनी भन्छन् ।

ठगीमा संलग्न खनाल झापा क्षेत्र नम्बर ४(१)बाट निर्वाचित एमालेका सांसद राधाकृष्ण खनालका पुत्र हुन् । २०७९ साल मंसिरमा निर्वाचन हुनु पूर्व खनालले आफ्नो छोराले गरेको अनियमितताको जिम्मा लिँदै रकम फिर्ता गर्नका लागि आफूलाई जिताउन सर्वसाधरणलाई ‘तपाईंहरुको पैसा डुब्दैन, मलाई जिताउनु, पैसा म फिर्ता गर्छु’ भनेका थिए । तर, निर्वाचन जितेको यतिका समय बितिसक्दा पनि रकम फिर्ता नपाएपछि पीडितहरुले उजुरी दिएका हुन् ।

यसअघि २०८० साल फागुन २४ गते अध्यक्ष खनाल आफैंले एक तमसुक बनाएर २ महिनाभित्र सबै रकम र हरहिसाब बुझाउन सही छाप गरेको पाइएको छ । ‘…श्री उन्नति बचत तथा ऋण सहकारी संस्था लि.को शेयर र बचत खातामा सदस्यहरुले जम्मा गरेको रकम हरहिसाब गरी आजको मितिले २ महिनाभित्र बुझाउने छु,’ उनले गरेको तमसुकमा उल्लेख छ, ‘यदि उक्त भाकाभित्रमा सम्पूर्ण रकम मैले बुझाउन नसकेमा वा नबुझाइ फिर्ता नदिएमा तपाईहरुले म सुमन खनाललाई कानुन बमोजिम कारबाही अगाडि बढाएमा मेरो मन्जुर छ ।’

केही महिना अगाडि स्थानीयले खनाललाई इलाका प्रहरी कार्यालय झिलभिलेमा झिकाएर केरकार गरेका थिए । त्यसबेला खनालले आफूले रकम चलाएको र कोही पनि अरु संलग्न नभएको बताएका थिए । ‘योजनामै रकम घोटाला गरेको देखिन्छ,’ एक पीडितले भने । अहिले जग्गा दिन्छु भनेको उनको भनाइ छ । ‘मंगलबारे मास्तिर रहेको २ कठ्ठा जग्गा र गाउँमा रहेको खेतीको १२ कठ्ठा जग्गा बेचेर तिर्छु भनेका छन्,’ ती पीडितले भने, ‘तर, त्यो जग्गा पनि अर्कै सहकारीमा राखेर ऋण लिएको पाइयो ।’

सहकारीको संस्थापक अध्यक्ष पनि उनै खनाल हुन् । उनले आर्थिक वर्ष २०७८/७९ को अन्त्यमा १ करोड ४४ लाख ८० हजार ३९४ रुपैयाँ र २०७९/८० को अन्त्यसम्ममा त्यो रकम बढेर १ करोड ६२ लाख ६२ हजार ३६९ रुपैयाँ अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ । यद्यपि अध्यक्ष खनालले आफ्नोे शेयरमा १ लाख १० हजार र बचत खातामा २३ लाख २२ हजार ५९९ रुपैयाँ गरी जम्मा २४ लाख २५ हजार ५९९ रुपैयाँ राखेको देखिएको र उक्त रकम कट्टा गर्दा उनले सहकारीलाई अझै १ करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ तिर्नुपर्ने देखिएको प्रतिवेदनले ठहर गरेको छ ।

एमालेका सांसदपुत्रले ठगे सहकारीको १ करोड ३८ लाख

सोमबार, ०७ असोज, २०८१, बिहानको ०९:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर