ट्राफिक व्यवस्थापन मेरो पहिलो प्राथमिकता

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् ।

एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख लम्सालले सञ्चार कर्मीहरूसँग आइतबार परिचयात्मक कार्यक्रममा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा केन्द्रित भएर लागि पर्ने बताएका हुन् ।

ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा लागि पर्ने उनले बताए । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणको लागि सबैको साथ सहयोगको खाँचो रहेको उनको भनाई छ ।

विराटनगर महानगरपालिका समन्वयमा विराटनगर क्षेत्रमा ट्राफिक लाइट राख्ने तयारी गरिएको उनले जानकारी दिए । ‘ट्राफिक व्यवस्थापनको लागि विराटनगरको मुख्य चोकहरूमा ट्राफिक लाइट जडानको अन्तिम तयारी भएको छ,’ उनले भने ।

आउँदै गरेको चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना पनि चाँडै ल्याउने उनले बताए । उनका अनुसार योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ति परिचालन, चेकजाँचमा कडाइ र नागरिक सहायता कक्षा स्थापना गरी सेवा प्रवाह गरिने बताए । ‘मैले यी दुई काम गर्छु, जसले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सघाउ पु¥याउनेछ तर अन्त्य गर्छ भनेर अहिले भन्दिनँ’, उनले भने, ‘ट्राफिक नियमको पूर्ण पालना गराउने कुरामा केही व्यवस्थापन गर्न सकिए मात्रै धेरै सहज हुन्छ त्यही अनुसार काम गर्छौँ ।’

सिटी सफारीले ट्राफिक नियमको पालना नगर्ने गरेको उनले बताए । यसमा सबैको साथ सहयोगले मात्रै ट्राफिक व्यवस्थापन गरिनुपर्ने उनले बताए ।

सोमबार, ०७ असोज, २०८१, बिहानको ०९:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर