अबैध सम्बन्ध लुकाउन आमाछोराको हत्या गर्ने पक्राउ

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङछविसेमा गत भदौ २० मा आमा–छोराको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

घरनजिकै किराना पसल गरी बस्ने ३८ वर्षीया निर्मला थापा र उनका ६ वर्षीया छोरा आरुस थापाको हत्या गरेको अभियोगमा स्थानीय ३२ वर्षीय ताराबहादुर थापामगरलाई पक्राउ गरेको हो ।

गत भदौ १९ गते बुधबार राति किसाना पसलमा पुगेका मगरले निर्मलाको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राजन चापागाईं नेतृत्वको टोलीले १५ दिनको अनुसन्धानपछि मगरलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीका अनुसार घटना भएको राति अभियुक्त मगर निर्मला सुतेको स्थानमा पुगेका थिए । त्यसपछि उनीहरुबीच विवाद भएको र रिसमा अभियुक्तले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । अभियुक्तले घरबाट नै खुकुरी बोकेर गएको प्रहरीले जनाएको छ ।
बोलेरो चालक रहेका मगर र निर्मलाबीच सम्बन्ध रहेकोले निर्मलाले विवाह गर्न दबाब दिँदै आएको पाइएको प्रहरीले जनाएको छ । घरमा श्रीमती भएकै कारण मगरले निर्मलालाई विवाह नगर्ने तर सम्बन्ध कायम राख्ने बताएका थए । सोही विवादमा उनको हत्या भएको हो ।

खुकुरी लिएर निर्मलाको पसलमा पुगेका ताराबहादुरले विगतमाझैं ढोका खोल्नुपूर्व गरिँदै आएको संकेतअनुसार दुई पटक ढोका ढक–ढक पारेपछि उनले ढोका खोलेकी थिइन् । त्यसपछि उनीहरूबीच विवाद भएको र ताराबहादुरले खुकुरी प्रहार गरी हत्या गरेको एसपी योगीले बताए ।

निर्मलामाथि खुकुरी प्रहार गरेपछि सुतिरहेका छोरा आरुस उठेर कराउन थालेपछि छोरालाई पनि खुकुरी प्रहार गरी हत्या गरेको अभियुक्तले स्वीकार गरेको प्रहरीले जनाएको छ । मगरमाथि ७ दिनको म्याद थपेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । घटनापश्चात अभियुक्तले प्रयोग गरेको खुकुरी, मृतक महिलाको मोबाइल, अभियुक्तले घटनापश्चात नजिकैको खोलामा धोएर सुकाएको हाफपाइन्ट बरामद गरिएको छ ।

बयानमा ताराबहादुरले निर्मलाले पसल सञ्चालन गरेदेखि नै नियमितरूपमा आफू जाने, खाजा खाने गरेको र त्यतिकैमा शारीरिक सम्पर्कसम्मको सम्बन्ध स्थापित भएको बताएका छन् । हत्यालगत्तै घरको पछाडिबाट भागेको र नजिकै रहेको सोरुङ खोलामा नुहाएर घर पुगेको बयान उनले दिएका छन् ।

प्रहरीका अनुसार अभियुक्त भोलिपल्ट बिहान घटनास्थलमा पनि आएका थिए । कटारी अस्पत्तालमा शव परीक्षणका समयमा पनि स्थानीयसँग आएको र दाहसंस्कारमा उपस्थित भएकाले सुरुमा उनीमाथि प्रहरीले शंका नै गरेको थिए ।

मृतक महिलाका श्रीमान अशोक थापा तीन वर्षअघि नै कान्छी श्रीमती लिएर भारततिर गएका थिए । अभियुक्त मगरका श्रीमती, एक छोरा र छोरी छन् ।

शनिबार, ०५ असोज, २०८१, दिउँसोको ०३:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर