उमागौरी सहकारी प्रकरण र पोखरेलको छट्पटी

 सम्पादकीय

संसद्को सार्वजनिक लेखा समिति कार्यकारिणीले गर्ने राज्यकोषको खर्च र कारोबार नियम अनुसार भए वा नभएको जाँच गर्ने थलो हो । लेखा समिति सरकारलाई वित्तीय अनुशासनमा बाँध्ने महत्वपूर्ण निकाय पनि हो । पछिल्लो समयमा भने सार्वजनिक लेखा समिति कार्यकारिणीले गर्ने गलत निर्णयको मतियार बन्ने बाटोमा लागेको छ । विद्युत प्राधिकरणले महशुल नबुझाउने उद्योगीहरुमाथि गरेको एक्सनविरुद्ध सरकारले उभिएको सन्दर्भमा बक्यौता महशुल उठाउन सरकार र प्राधिकरणलाई निर्देशन दिनुपर्ने लेखा समिति बक्यौता महशुल असुली प्रक्रियालाई प्रभावित पार्ने खेलमा लागेको प्रष्टै छ । त्यसको मतियार समितिका सभापति ऋषिकेश पोखरेल भइरहेका छन् । समितिभन्दा बाहिर बिचौलियासँग बसेर गरेकाे निर्णय ड्राफ्ट नै उनले त्यसलाई यसअघि बसेको समितिको बैठकबाट सांसदहरुको असहमतिबीच जबरजस्ती पारित भएको घोषणा गरेका थिए । तर, समितिका सदस्यहरुको आपत्तीपछि उनी हच्किएर जथाभावी बोल्दै हिँडेका छन् । मिनी संसदको रुपमा रहेका समितिको सभापतिलाई संसदको सभामुखको जस्तै तटस्थ र मर्यादित भूमिको अपेक्षा गरिन्छ । तर, पोखरेलले आफैं ती सिमा र मर्यादालाई भत्काएका छन् ।

लेखा समितिमा बसेर अमर्यादित गतिविधि गर्दैै आएका पोखरेल आफैं मोरङको एउटा सहकारीमा भएको अनियमिततामा तानिएका छन् । सहकारीमा पोखरेल आफैं प्रत्यक्ष जोडिएको तथ्य अहिलेसम्म आएको छैन । यद्यपि सहकारी स्थापनादेखि श्रीमतीलाई सञ्चालक बनाउने प्रक्रियासम्म उनको संलग्नता देखिएको छ । पोखरेलकी श्रीमती करिब ६ वर्ष सञ्चालक र सदस्य रहेको मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमागौरी कृषि सहकारी संस्थामा करोडौं रुपैयाँ अनियमितता भएको सहकारी रजिष्टार कार्यालयमा परेको उजुरीले प्रमाणित गरिसकेको छ । सहकारीका सञ्चालकहरुले सर्वसाधारणले ऋण लिने बुझाएको कागजात दुरुपयोग गरेर बैंकबाट ११ करोड ५६ लाख रुपैयाँ ऋण निकालेर ठगी गरेको जिल्ला अदालत रुपन्देहीमा चलिरहेको मुद्दा र पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित सञ्चालकहरु कालोसुचीमा रहेको प्रकरणले प्रमाणित गरिसकेको छ । सहकारीले सयभन्दा धेरै सर्वसारण बचतकर्ता र ऋणीको बिचल्ली बनाएको छ । नियमक निकायले मागेको कागजात पनि नबुझाई सहकारीको कार्यालयमा ताला लगाएर सञ्चालकहरु लापत्ता छन् । यो विषयलाई सहकारी रजिष्टर कार्यालयमा पनि नयाँ शैलीको ठगी मानेको छ । यहि विषयलाई हाम्रोमत दैनिकले प्रकाशित गरेपछि सांसद पोखरेल तिल्मिलाएको देखिएको छ ।

हाम्रोमतले सहकारीमा पोखरेलले ठगी गरेर भने अहिलेसम्म लेखेको छैन । तर, जुन समयअवधिमा सहकारीमा गडबढी भएको छ । त्यो समयमा उनकी श्रीमती सञ्चालक रहेको कागजातहरुले पुष्टि गरेका छन् । यो अवस्थामा शिक्षिकसमेत रहेकी पोखरेल पत्नीले आफूलाई झुक्याएर सञ्चालक बनाएको भन्दै सहकारीको गलत धन्दाबाट उन्मुक्ति पाउने अवस्था छैन । कार्यक्षेत्र भन्दा बाहिर गएर सञ्चालक समिति सदस्य बन्न सहकारी ऐनले नै बन्देज लगाएकाे छ । तर, पहुँचकै भरमा काेईराला कानून विपरीत सञ्चाल समिति सदस्य बन्नुले पनि अवैध धन्दामा पाेखरेल दम्पती कै संलग्नता हाे कि भन्ने कुरालाई बल पुग्छ । सञ्चालक समितिमा श्रीमतीलाई राखेर पोखरेलले उनीमार्फत सहकारीको कारोबार गरेको सदस्यहरुले नै दावी गर्दै आएका छन् । त्यसमाथि संस्थाका अध्यक्षसँगको पोखरेलको उठबस र सहकारीको स्थापनादेखि वार्षिकोत्सवहरुमा पनि उनको सहभागिताले ‘मलाई थाहा छैन, संलग्नता छैन’ भनेर मात्र उनले उम्कने ठाउँ छैन । आफ्नै परिवार जोडिएको सहकारीमा भएको अनियमितता ढाकछोप गर्न सञ्चार माध्यममाथि आरोप लगाएर उनले आफ्नो छट्पटी प्रस्तुत गरिरहेका छन् । जसले झनै आशंका बढाएको छ ।

आइतबार, ३० भदौ, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर