विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको चौथो दिन मंगलबार ‘भविष्य निर्माण’ मञ्चन भएको छ । हाटखोलास्थित गुरुकुलमा आदर्श माध्यमिक विद्यालयले विद्यार्थी प्रनिशा रेग्मीद्वारा निर्देशित नाटक मञ्चन गरेको हो । देवकुमारी थापाद्वारा लिखित कथालाई रुपान्तरण गरी मञ्चन गरिएको नाटकमा सोही विद्यालयका विद्यार्थी निर्देशक रेग्मी सहित रिदिप ठाकुर, प्रियंका साह, सदिक्षा लुइँटेल, आरशी अधिकारी, प्रतिश खड्का र समृद्धि घिमिरेले अभिनय गरेका थिए ।
कक्षा ८ को नेपाली विषयमा समावेश उक्त कथाले युद्ध र दुस्मनी छाडेर सामाजिक कामबाट हाम्रो भविष्यको निर्माण गर्नुपर्ने सन्देश दिएको थियो । आरोहण गुरुकुल विराटनगरको आयोजनामा शनिबारदेखि सुरु भएको महोत्सवमा बुधबार ग्रीनल्याण्ड सेकेण्डरी स्कुलले रङ नामको नाटक मञ्चन गर्नेछ । भदौ ३१ गतेसम्म बालकृष्ण पोखरेल नाटकघरमा हुने महोत्सवमा विराटनगर, विराटचौक, बेलबारी, रङ्गेलीबाट ९ विद्यालयहरुले दैनिक एउटा नाटक मञ्चन गर्दैछन् ।
बिहीबार पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले एक पटक बोलेको एक रुपियाँ मञ्चन गर्नेछ । यस्तै शुक्रबार नमुना विद्या मन्दिरले जिम्मेवारी कसको ?, शनिबार मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुललेस्मार्ट बन्द, आइतबानर सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले ‘ज्ञ’ र अन्तिम श्री एकता सेकेण्डरी स्कुललेसाबित्रीको बाख्रो मञ्चन गर्नेछ । महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्डको व्यवस्था गरिएको छ ।