लोड हुँदैछ...

मेनु

तीजको लहर गयो बरिलै, संस्कृतिलाई विकृतिले खायो बरिलै..

तीजको लहर गयो बरिलै, संस्कृतिलाई विकृतिले खायो बरिलै..

तीजको नाममा हुने गरेको महिनौदेखिको मनोवैज्ञानिक सामाजिक आतंकले एक वर्षको लागि युद्धविराम गरेको छ । हुन त तीज मौलिक संस्कृति हो । वर्षमा एक पटक माइतीमा भेला भएर पारिवारिक मनोरन्जनका साथ मिठो मसिनो खाने चलन तीजको मौलिक संस्कृति हो । भोलिपल्ट अर्थात भाद्र शुक्ल तृतीयामा निराहार व्रत बस्ने, पूजापाठ गर्ने र संगिनी नाच्ने सांस्कृतिक प्रचलन हो । तीजको रात सांस्कृतिक कार्यक्रमका साथमा जाग्राम बस्ने मौलिक परम्परा हो । तीजको भोलि पल्ट मंगल चौथी गर्ने र अन्तिम दिन ऋषिपन्चमी व्रतको साथमा समापन गर्ने तीजको धार्मिक संस्कृति हो ।

आजभोलि पर्वका सबै मूल्य मान्यताहरु विस्थापित भएका छन् । चार दिनको तीजलाई महिनौंअघिको होटल नाचले विस्थापित गरेको छ । संगिनी नाचलाई छाडा तथा आयतीत गीत संगीतले विस्थापित गरेको छ । खिर, ढकने र सेल जस्ता मौलिक परिकारलाई बजारु वस्तु र ककटेल्सले विस्थापित गरेको छ । समाजका आम कुरीति र अराजकतालाई रोक्ने सामाजिक व्यवहार तथा सुधार ऐनलाई राज्यको ढर्रावादी नीतिले विस्थापित गरेको छ । सामाजिक तथा सांस्कृतिक रुपमा रुपान्तरित समाज निर्माण गर्ने राजनीतिक दलको उद्देश्यलाई सत्ता भोक र भोटको राजनीतिले विस्थापित गरेको छ ।

अन्य पर्वहरु जस्तै तीज पनि हरेकको कुटिल मनोकांक्षा पूर्तीको माध्यम बनेको छ । कसैको लागि तीज रत्यौली नाच भएको छ । कसैका लागि राजनीतिक स्वार्थ सिद्धिको सिंडी र महिलाको भोट संकलन केन्द्र भएको छ । कसैको लागि सस्तो लोकप्रियताको सहज मार्ग बनेको छ । कसैको लागि धन सम्पत्ति र गरगहना प्रदर्शनले समाजमा आफूलाई अब्बल सावित गर्ने साधन भएको छ । जसले जुन आकांक्षाले महिनौं अघिदेखि होटल तथा पार्टी प्यालेस घन्काए तापनि यो संस्कृतिको नाममा मौलाएको विकृित नै हो । जुन कानुनी दृष्टिमा दण्डनीय र सामाजिक दृष्टिमा अपराध हो ।

तीज मात्र हैन पर्वको नाममा देखापरेका अनेकौं विकृतिले समाजलाई विक्षिप्त बनाएको छ । हुने खाने वर्गले हुँदा खाने वर्गमाथि मनोवैज्ञानिक आतंक सिर्जना गरेको छ । उच्च तथा मध्यम वर्गीय परिवारको ढर्राले हँुदा खाने वर्गलाई पनि सांस्कृतिक रुपमै बिचलित बनाएको छ । जसरी पनि प्रतिस्पर्धा गर्नै पर्ने परिवेशले समाजलाई डिप्रेशनको सिकार बनाएको छ ।

हरेक पर्वमा बजारकोे आतंक थामिनसक्नु छ । महंगी, मिसावट र कृत्रिम अभाव आम उपभोक्ताको दैनिकी बनेको छ । नियमनकारी निकायको नियमन केवल झारो टार्ने किसिमको देखिन्छ । अनेकौ नामधारी उपभोक्तवादी भन्नेहरुको ध्यान अनुदान र सस्तो प्रचारबाजीमा मात्र केन्द्रित छ । आखिर यो अवस्था कसरी आयो ? यसका कारक तत्वहरु के के हुन ? के तीज महिलाको कारणबाट मात्र विकृत बनेको हो त ? साथै तीजमात्र विकृत छ वा अरु पर्व पनि ? यस विषयमा सबैले चासो दिनुपर्छ ।

सांस्कृतिक पर्वहरुलाई रुपान्तरण गर्ने जिम्मेवारी महिला पुरुष दुवैले गर्नुपर्छ । तीजको नाममा महिलाहरुलाई सांस्कृतिक मर्यादाविमुख गराउन अभिप्रेयिरत गर्ने सामाजिक तत्व र अरु पर्वमा पुरुष वा महिलालाई गलत मार्गदर्शन गर्न खोज्ने तत्वहरुसँग सचेत रहनुपर्छ । त्यस्ता तत्वमध्ये मुख्य राजनीतिक दलहरु हुन् । शुभकामना आदानप्रदानको नाममा पार्टी प्यालेसमा भोजभत्तेर लगाउने प्रचलन यिनैले भित्र्याएका हुन् । राजनीतिक दलहरु भनेका जनताका पथ पदर्शक शक्ति हुन् । रुपान्तरणका वाहक हुन् । कानुनका परिपालक हुन् । त्यसकारण सामन्तवादी चेतबाट दिक्षित समाजलाई परिवर्तीत चेतनाले सज्जित गर्ने काम राजनीतिक दलहरुको हो । तर दलहरुले बाटो बिराएपछि यस्ता पर्वहरु पनि कुत्सित मनसायको सिकार बन्न पुगे । तीजमा देखिएको विकृति पनि त्यसबाटै प्रभावित भएको हो ।

पर्वको मौलिक संस्कृतिलाई खर्चिलो, भड्किलो र प्रतिस्पर्धाको माध्यम बनाउने अर्को कारक भनेका सहकारीकर्मीहरु हुन् । सहकारीले मुनाफाको हिस्साबाट शिक्षा, स्वास्थ्य लगायतका सामाजिक सुरक्षामा खर्च गर्नै पर्ने कानुनी व्यवस्थाको आडमा भोजभत्तेरको चलन चलाइयो । एक सहकारी एक पर्वको नीति चल्यो । यसले फेसनको रुपसँगै पार्टी प्यालेस संस्कृतिको विकास ग¥यो ।

सरकारी कार्यालय, कर्मचारी र तिनका संगठन लगायतका पेशाकर्मीहरु राज्यको कानुन पालना गर्ने जिम्मेवार नागरिक हुन् । सामाजिक व्यवहार तथा सुधार ऐनका परिधिमा बाँधिनु उनीहरुको कर्तब्य हो । तर राजनीतिक दलहरु जस्तै यिनीहरुको पनि कर्तब्यविमुख र अनुशासनहीन आचरणले सुधारको साटो बढ्दो विकृतिमै समर्पण देखियो । समाजको अर्धचेतना र धार्मिक अतिभक्त, त्यसमाथि पनि राज्यका निकाय नै कानुनको परिधिमा नबसेपछि त्यसको प्रभाव जनता स्वभाविक पर्ने नै भयो ।

समाजलाई मनोवैज्ञानिक आतंकको भुमरीमा फसाउने अर्को पक्ष भनेका एनजिओ व्यवसायीहरु हुन् । सशक्तीकरणको नाममा उनीहरुले मौलिक संस्कृतिमाथि हस्तक्षेप गरे । त्यसैले भदौ महिनादेखि कात्तिकसम्म एनजिओको काम नै शुभकामना आदानप्रदान गर्ने र आफ्नो व्यापार बजारीकरण गर्ने हुन थाल्यो । यसले विकृति बढाउन बाहेक के प्रभाव पारेको छ ?

सामन्तवादको मेसिनमा कुँदिएको सामाजिक चेतना जहाँ अनेकौं आवरणका धर्मभिरुहरुले धर्मको कलात्मक नसाले समाजलाई लठ्ठ र चेतनाशून्य बनाएका छन् । किनभने अगुवा भनिनेहरुको नक्कल गर्नै पर्छ, जसले गर्दैन उसलाई समाजले चिन्दैन । यस्तो सामाजिक परिवेशमा राज्यको सम्पूर्ण तह र तप्का नै गैरजिम्मेवार भएपछि विकृति नआएर के आउँछ ?

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।