लोड हुँदैछ...

मेनु

विपद् जोखिम न्युनिकरणको सवाल

विपद् जोखिम न्युनिकरणको सवाल

विपद्ले विनाश गर्छ, विनाशले जीवनचक्र आतङ्कित बनाउँछ, आतङ्कले जनधनको क्षति र तनाव बढाउँछ । मानव जीवनमा अप्ठ्यारो, आपत्कालीन, भयभित अवस्था सिर्जना भइ धनजनको क्षति हुनु विपद् हो । मानव संकटले जीवन सञ्चालनमा अवरोध गर्ने हुँदा विपद् जोखिममा हासियारी अपनाउनुपर्छ । यस्तो संकट आकस्मिक र अप्रत्याशित रूपमा आउने हुँदा विपदविरुद्ध सधैँ होसियारीसहित शासकीय तयारी हुनुपर्छ । तर, नेपालमा त्यसो हुन सकेको छैन । विपद् प्राकृतिक र मानवीय कारणबाट हुने गर्दछ । विपद् न्युनिकरण, प्रतिकार्य र पुर्नलाभ सम्मका समग्र कार्यहरूलाई विपद् व्यवस्थापन भनिन्छ । विपद्लाई समयमै व्यवस्थापन गर्न सकिएन भने यसबाट ठुलो धनजनको क्षति हुन्छ । नेपाल प्रकोपको दृष्टिकोणले विश्वमै अति उच्च जोखिमयुक्त मुलुक हो । बर्षेनी प्रकोपबाट यहाँ ठूलो धनजनको नोक्सान हुनेगरेको अवस्था विधमान छ । नेपालमा हावा हुरी, चट्याङ, बाढी पहिरो, भूकम्प, आगलागी, दुर्घटना र स्वास्थ्यको प्रकोपको जोखिम रहेको छ । नेपालमा प्राकृतिक विपद्बाट वार्षिक औसत पाँच सय जना र मानव सिर्जित विपद्बाट दुई हजार मानिसको मृत्यु हुने तथा ८ अर्व बराबरको आर्थिक क्षति हुने गरेको अध्ययनहरुले देखाउँछ ।

विगत पाँच वर्षको अवधिमा विपद्का कारण मोरङमा झण्डै ५ सय जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार विराटनगरमा मात्र १४१ जनाले ज्यान गुमाएका छन् । स्थानीय तहले दिएको सूचनाको आधारमा राखिएको विवरणमा केराबारी गाउँपालिका, लेटाङ र बेलबारीमा भने विपद्बाट कुनै दुर्घटनामा परी मानिसको ज्यान नगएको उल्लेख छ । विपद्मा परी विगत पाँच वर्षमा २ हजार १८६ जना घाइते भएको देखिएको छ । सबैभन्दा बढी सडक दुर्घटनाबाट मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ । सडक दुर्घटनामा पाँच वर्षमा २३० जनाको र महामारीबाट १४८ जनाको मृत्यु भएको छ । यस्तै बाढीमा परी ५७ जना, आगलागीबाट २१ जना, वन्यजन्तुको आक्रमणबाट २४ जना, हुरी, बतास र असिनाबाट २ जना, चट्याङबाट १७ जनाले ज्यान गुमाएका छन् ।

२०८१ सालमा मोरङका ६ हजार ४ सय घरधुरीका २६ हजार ९५४ जनसंख्या प्रभावित हुनसक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रक्षेपण गरेको छ । त्यसलाई आधार मानेर विपद जोखिम व्यवस्थापन गर्नुपर्नेछ । यद्यपि प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । विपद् व्यवस्थापनको लागि दक्ष जनशक्ति आवश्यक पर्दछ । यस्तै योजना कार्यान्वयन गर्ने सन्दर्भमा स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र, गैर सरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी क्षेत्रको सहकार्यको खाँचो छ । विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा भएका हाम्रा प्रयासहरू पर्याप्त छैनन् । विपद् पूर्वतयारी, प्रतिकार्य तथा पुनःस्थापनामा चाहिने जति सावधानी अपनाउन सकेका अवस्था छैन । राज्यका निकायहरु पूर्वतयारीमा भन्दा प्रतिकार्यमा केन्द्रित छन् । विपद व्यवस्थापनको लागि छुट्ट्याइएको कोषको सही सदुपयोग गरी विपद्सँग जुध्न स्थानीय सरकार र प्रदेश सरकारको भूमिकालाई बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।