अध्ययन भ्रमणको नाममा सुन्दरहरैंचाको जम्मो टोली पुग्यो राराताल

भ्रमणमा नगरपालिकाका प्रमुख, उपप्रमुखसहित ३८ जनाको टोली

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका जनप्रतिनिधि र कर्मचारीले अध्ययन भ्रमणका नाममा राराताल पुगेका छन् । नगरपालिकाको लाखौं रुपैयाँ खर्चेर उनीहरु मनोरञ्जन र आन्तरिक पर्यटनका नाममा रारा ताल पुगेका हुन् ।सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदार गुरागाईँ, उपप्रमुख अक्कली चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेसहित ३८ जनाको टोली घुम्दैफिर्दै राराताल पुगेको हो । टोलीमा कार्यपालिका सदस्य र कर्मचारीहरु सहभागी छन् ।

भ्रमणका लागि २० जना जनप्रतिनिधि र १८ जना कर्मचारीको टोली गएको नगरपालिकाले जनाएको छ । सुन्दरहरैंचामा २२ जना कार्यपालिका सदस्य रहेका छन् । तीमध्ये दुई जना वडाध्यक्ष भने टोलीमा सहभागी छैनन् । नगर प्रवक्तासमेत रहेका रोशन ढकाल र ११ नम्बरका वडाध्यक्ष बिसनलाल चौधरी भ्रमणमा नगएका हुन् । ‘मेरो घरमा काम भएका कारणले म त्यो टोलीमा सहभागी हुन सकिन,’ नगरपालिकाका प्रवक्तासमेत रहेका १२ नम्बर वडाका अध्यक्ष ढकालले भने ‘११ नम्बरको वडाध्यक्ष पनि जानु भएको छैन । भ्रमणमा हामी २२ जना कार्यपालिका सदस्यमध्ये दुई जना गएनौं ।’

जनप्रतिनिधिहरूमा मेयर केदारप्रसाद गुरागाईँ र उपमेयर अक्कली चौधरीसहित ९ जना वडा अध्यक्ष र ९ जना कार्यपालिका सदस्य घुम्नका लागि गएका हुन् । मेयर गुरागाईँले नै सो टोलीको नेतृत्व गरिरहेका छन् । सुन्दरहरैंचामा जम्मा १२ वटा वडाहरू रहेका छन् । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने रारा मात्रै घुम्न नगएको दाबी गरेका छन् । ‘हामी घुम्न मात्रै गएका होइनौ,’ उनले भने ‘अध्ययन भ्रमणमा गएका थियांै ।’ राराहुँदै एक दुई वटा पालीकामा अध्ययन गरेर फर्केको उनले बताए । चालु आवमा नगरसभाबाट नगरपालिकाले १० लाख रुपैयाँ बजेट अध्ययन भ्रमणमा खर्चिने गरी विनियोजना गरेको थियो । त्यही कार्यक्रम अन्तरगतको बजेट कार्यान्वयन गर्नका लागि कार्यपालिका सदस्य र कर्मचारीहरूका विभागीय प्रमुखहरू अध्ययन अवलोकन भ्रमणमा निस्केको उनले बताए । नगरपालिकामा काम नभएकाले अहिले नै गएको उनले बताए । ‘अहिले नगरपालिकामा कामको चाप पनि छैन,’उनले भने ‘त्यही भएर समयको उपयोग गरेका हांै । अब अलि पछाडि त हिँड्न पनि त भ्याइँदैन नि ! ’

यतिबेला अघिल्ला वर्षहरुमा देखिएका समस्या समाधान गर्ने र चालु आथिएक वर्षको बजेट खर्च गर्न कार्यविधि, मापदण्ड बनाउने, ठेक्का प्रक्रिया अगाडि बढाउने र त्रैमासिक योजनाहरु कार्यान्वयन गर्ने बेला भए पनि प्रमुखसहित जिम्मेवार अधिकारीहरुको टोली अध्ययन भ्रमणको नाममा अनावश्यक खर्च गर्दै भ्रमणमा निस्किएको भन्दै स्थानीयवासीहरुले चर्को विरोध गरिरहेका छन् ।

स्थानीय प्रमेन्द्र केसीले फेसबुकमा स्ट्याटस लेख्दै उपयोगहीन भ्रमणले फजुल खर्च बढाएको भन्दै विरोध गरेका छन् । उनी लेख्छन् ‘घुम्न जाउँ रारा, नगरपालिकाले पैसा तिर्छ सारा । रमाइलो छ सुन्दरहरैंचामा ।’जनप्रतिनिधि र कारोबारमा सहजीकरण गरिदिनेहरु नगरपालिकाको बजेट खर्च गरेर घुम्न गएको अर्का अगुवा महेश आचार्यको आरोप छ । नगरका बाटोघाटोमा बाह्रमासै देखिने तालहरू छलेर रारा तालमा जम्बो टोली गएको भन्दै आचार्यले आक्रोश पोखे ।

अध्ययन भ्रमणबाट उपलब्धी भने शून्य हुने गरेको जानकारहरू बताउँछन् । एउटा पालिकाले गरेको उत्कृष्ट काम हेरेर त्यो अनुशरण गर्ने भनेर बजेट विनियोजन गर्ने गरिए पनि त्यसको प्रतिफल भने कहिल्यै नआएको स्थानीयतहका विज्ञका रूपमा चिनिएका पूर्व उपसचिव गणेशप्रसाद दाहालले बताए । ‘काम गरिरहेका कर्मचारीलाई रिफ्रेसमेन्ट हुन्छ,’ उनले भने ‘त्यस बाहेकका अन्य उपलब्धी चाहिँ शून्य हुन्छ ।’

कर्मचारीसमेत घुम्न गएपछि नगरपालिकाको दैनिक काम काजसमेत असर परेको स्थानीयले बताएका छन् ।स्थानीय तहरुले साउनको १५ गतेभित्रमा चालु आवको नयाँ कार्यक्रमको कार्य योजना तयार गरी सक्नुपर्छ भने अघिल्लो वर्षको समीक्षा गरिसक्नुपर्छ । यस्तै डिपिआर सर्भे गर्ने काम पनि साउन र भदौ महिनामा सक्नुपर्ने पूर्व उपसचिव दाहालले बताए । ‘नगर सभाले पास गरेको बजेट कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृतलाई अध्यक्ष वा प्रमुखले अख्तियार दिइसक्नुपर्छ,’ उनले भने ‘प्रमुख प्रशासकीय अधिकृतले शाखा महाशाखा र वडाहरुलाई कार्यादेश दिनुपर्छ । दुई महिना भित्रमै नयाँ आयोजनाको डिपिआर बनाउनेदेखि सर्भे गर्नेसम्मका काम पनि गरिसक्नुपर्छ ।’

                                                                                तस्बिर : घुम्न गएका जनप्रतिनिधिहरुको फेसबुक वालबाट ।

बिहिबार, १३ भदौ, २०८१, बिहानको ०८:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page