विराटनगर । मंगलबार नेपालको शेयर बजारमा पहिरो गएको छ । यस दिन नेप्से परिसूचक १११.९६ अंकले झरेर २७८२.६० अंकमा बन्द भएको छ ।
आइतबार पनि नेप्से सूचक ७९.८८ विन्दुले घटेर २८९४.५७ अंकमा अडिएको थियो । साताको दोस्रो दिन पनि गिरावटलाई नेप्सेले निरन्तरता दिएको हो ।
नेप्सेमा ३.८६ प्रतिशतले गिरावट आउँदा २२३ कम्पनीको शेयर मूल्य घटेको छ भने २० कम्पनीको मात्र मूल्य बढेको छ । कारोबार रकम पनि घटेर यस दिन १८ अर्ब ६४ करोड ९५ लाखमा सीमित भएको छ ।
बजारमा यति ठूलो गिरावट आउँदा पनि तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र डोल्टी पावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत गुमाएका छन् ।
करिब डेढ महिनाकै अवधिमा नेप्से सूचक भन्डै १ हजार अंकले बढेको थियो । बजार बढ्दै गएपछि ट्रेडरहरु प्रोफिट बुक गर्नतिर लागेकोले बजार घटेको विज्ञहरुले बताउँदै आएका छन् ।
यस दिन कारोबार रकमको आधारमा ६५ करोड ४२ लाखभन्दा बढीको कारोबार भएको हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र अरुण भ्याली हाइड्रोपावर परेका छन् ।