विराटनगर । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना साउनमा ४ अर्ब १९ करोड रूपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ ।
देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गरी एक महिनामा ४ अर्ब १९ करोड ३९ लाख २४ हजार रूपैयाँ आम्दानी नेपाल विद्युत प्राधिरकणले जनाएको छ ।
साउनमा दैनिक रूपमा १३ करोड ११ लाख रूपैयाँको विद्युत निर्यात गरिएको छ । साउनमा निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ८ रूपैयाँ ५१ पैसा छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत निर्यात गर्ने अवस्थामा प्राधिकरण रहेको बताएका छन् ।
८ वर्षअघि उनी प्राधिकरणको कार्यकारी निर्देशन हुनु अगाडि वर्षायाममा दैनिक ८–९ घण्टा र सुख्खायाममा १८ घण्टासम्मको लोडसेडिङ थियो ।
भारततर्फ विद्युत निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन हुँदा देशको विदेशी मुद्रा सञ्चिति एवं नेपाल र भारतबीचको व्यापार घाटा कम गर्नमा समेत सकारात्मक योगदान पुगिरहेको घिसिङले बताएका छन् । प्राधिकरण गत आवबाट देशभित्र खपत गरी बढी भएको विद्युत भारतीय बजारमा बिक्री गरी खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिसकेको छ ।
गत आर्थिक वर्षमा भारतबाट १६ अर्ब ९३ करोड रूपैयाँको विद्युत प्राधिकरणले आयात गरेकोमा १७ अर्ब ६ करोड रूपैयाँको विद्युत निर्यात गरेको थियो । प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरूबाट उत्पादित ९४१ मेगावाट विद्युत बिक्री गर्न स्वीकृति पाएको छ ।