भारतले थप २५१ मेगावाट बिजुली लैजाने

विराटनगर । नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारतीय राजदूतावासले थप विद्युत निर्यातका लागि नेपालले गरेको प्रस्ताव स्वीकृत गरेको सोमबार जानकारी गराएको हो । भारतले अन्तरदेशीय व्यापारका लागि नेपाल विद्युत प्राधिकरणले तोकेको १२ जलविद्युत आयोजनाले उत्पादन गरेको विद्युत निर्यातका लागि स्वीकृती दिएको हो ।

यसैगरी नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौता मार्फत विद्युत् निर्यात गर्ने भएको छ । नयाँ स्वीकृतीसँगै नेपालले अब ९४१ मेगावाट विद्युत निर्यात गर्न सुरु गर्नेछ । पछिल्लो अनुमतिसँगै नेपालले विभिन्न २८ वटा आयोजनाले उत्पादन गरेको बिजुली भारतमा निर्यात गर्ने छ । यसअघि नेपालले विभिन्न १६ आयोजनाबाट उत्पादित ६९० मेगावाट बिजुली निर्यात गर्दै आएको थियो ।

नेपालले गत आर्थिक वर्षमा भारतलाई १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको थियो । यो निर्यात कुल आयातको तुलनामा बढी परिमाण भएकोले नेपाल खुद बिजुली निर्यातकर्ताको रुपमा उदाएको हो ।

सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट ३९ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणाभन्दा धेरै बढेको छ ।

इन्डियन इनर्जी एक्सचेन्जको ‘डे अहेड मार्केट’ मा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरु गरेको थियो । त्यसयता भारतले ‘रियल टाइम मार्केट’ मा समेत पहुँच प्रदान गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत् बिक्री सम्झौता पनि गरेको छ । भारतले खरिदकर्ताका लागि जलविद्युत् खरिद दायित्व (एचपीओ) को एक हिस्साका रूपमा नेपालबाट हुने जलविद्युत् आयात गणना गर्ने प्रावधान पनि खोलेको छ जसले खरिदकर्तालाई नेपालबाट विद्युत् खरिद गर्न प्रोत्साहित गर्दछ ।

नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ । यो सम्झौताको पहिलो वर्ष हो र झन्डै १ हजार मेगावाट निर्यात भइसकेको छ । नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सहमति गरिसकेको छ । एद्यपि त्यसको औपचारिक सम्झौता भने हुन बाँकी छ ।

सोमबार, ०३ भदौ, २०८१, दिउँसोको ०२:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर