विराटनगर । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से यस दिन ३४.४७ अंक घटेर बन्द भएको हो ।
आइतबार बजार खुल्नसाथ उच्च अंकले बढेको नेप्सेमा दिनभर उतारचढाव देखिएको थियो । अन्तिममा बिक्री चाप बढेको कारण नेप्से परिसूचक घटेर २९६६.३३ विन्दुमा झरेको हो ।
गत बिहीबार ३००० बिन्दु कटेको नेप्से घटेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ६.६५ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंक घटेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन २९ अर्ब ९५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३० स्टकको ३ लाख ९१८ पटकको कारोबारमा २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ बराबरको ६ करोड ५४ लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
नेप्से घटेपनि यस दिन चार स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसदिन राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), मल्टीपर्पस फाइनान्स कम्पनी र सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन लिबर्टी इनर्जीको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने कारोबारमा आएको नेपाल फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ८२ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यस दिन अपि पावरको ७८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने कुमारी बैंकको करिब ६६ करोडको शेयर किनबेच भएको छ।
यस दिन ४७ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो । बैंकिङ ०.८४ तथा निर्जीवन बीमा ०.४६ प्रतिशत बढेको बजारमा विकास बैंक २.२५, फाइनान्स २.७९, होटल तथा पर्यटन ४.४९, हाइड्रोपावर ३.७४, उत्पादन २.५८, माइक्रोफाइनान्स ०.३१, अन्य ३ र व्यापार समूह १.३२ प्रतिशत घट्यो ।
सोमबार जनै पुर्णिमा र मंगलबार गाइजात्राको विदा भएको कारण अब शेयर बजार बुधबार मात्र खुल्नेछ ।