नेप्से तीन हजार माथि, करिब ३० अर्ब कारोबार रकमले नयाँ रेकर्ड

विराटनगर । नेपालको शेयर बजार मापक नेप्से परिसुचक तीन वर्षपछि ३ हजार विन्दुमाथि पुग्दा बिहीबार पनि कारोबार रककमा पुरानो रेकर्ड ब्रेक भएको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४२.९६ अंकले बढेर ३०००.७१ विन्दुतमा पुग्दा कारोबार रकममा नयाँ रेकर्ड बनेको हो ।

यस दिन करिब ३० अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । ३३४ स्टकको ३ लाख ११ हजार ५३६ पटकको कारोबारमा ५ करोड ८९ लाख ८० हजार ३४६ कित्ता शेयर खरिदबिक्री भएको छ । कारोबार रकम २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार ९१७ रुपैयाँ छ । यो नेप्सेकै इतिहासमा सबैभन्दा उच्च कारोबार हो ।

यसअघि साउन २८ गते २७ अर्ब २४ करोड ३ लाख ९९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । कारोबारको उच्च अंक आज तोडिएको हो ।

शेयर बजार एकपछि अर्को उचाईंमा पुग्दा नेप्से सुचक करिब तीन वर्ष अगाडिको उच्च विन्दुमा पुगेको छ । यसअघि सेयर बजार २०७८ भदौ ९ गते ३ हजार बिन्दुमाथि थियो । बिहीबार प्रिओपन सेसनबाटै दोहोरो अंकले बढेको सेयर बजारमा तीव्र उतारचढाव भएको थियो ।

आज १०५ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने एकको स्थिर रह्यो । सबैभन्दा धेरै बैंकिङ क्षेत्रको सूचक यस दिन ५.६५ प्रतिशत बढ्यो । त्यसबाहेक विकास बैंक १.२८, होटल तथा पर्यटन ०.३२, हाइड्रोपावर ०.७९, लगानी २.६९, निर्जीवन बीमा ०.९४ तथा व्यापार समूह १.८१ प्रतिशत बढे । यस दिन फाइनान्स ३.०५, जीवन बीमा ०.७३, उत्पादन १.७३ र अन्य समूहको सूचक २.३० प्रतिशत घटे ।

यस दिन कारोबार रकमका आधारमा ९१ करोडभन्दा बढीसहित हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा माई हाइड्रोपावर र अपि पावर परेका छन् । सानिमाको ८३ करोड र अपीको ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन राष्ट्रिय विमा कम्पनीको साधार र प्रमोटर शेयर, मोदी इनर्जी र बुटवल पावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो भने नेपाल इन्भेस्टमेन्ट मेघा, एनएमबी, ग्लोबल आईएमईसहितका बैंकको ९ प्रतिशतभन्दा धेरै मूल्य बढ्यो । नेपाल फाइनान्सको भने नकारात्मक सर्किट लागेको थियो ।

बिहिबार, ३१ साउन, २०८१, दिउँसोको ०३:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर