लोड हुँदैछ...

मेनु

निजामति ऐनको कमजोरी सच्याउ

निजामति ऐनको कमजोरी सच्याउ

प्रदेश संरचना बनेको पाँच वर्षपछि २०७९ असोजमा प्रदेशको लागि आवश्यक कर्मचारीको भर्ती, सरुवा, बढुवा लगायतको व्यवस्था गर्ने प्रदेश निजामती अध्यादेश कोशी प्रदेशमा जारी भयो । सो अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ऐन परिमार्जितसहित पारित गर्दै २०७९ फागुन १५ गतेदेखि लागू गरियो । तर, अहिलेसम्म ऐन प्रभाबकारी रुपमा कार्यान्वयन हुन सकेको छैन भने कर्मचारी क्षेत्रको समस्या समाधान हुन सकेको छैन । ऐनलाई अध्यादेशबाट संशोधन गरि संसदबाट पनि पारित गरिएको छ । सरकारले ऐन कार्यान्वयनको लागि नियमावली पनि स्वीकृत गरिसकेको छ । तर, स्वीकृत नियमावली राजपत्रमा अझै प्रकाशित भएको छैन । यहिबेला सरकारले प्रदेश निजामती सेवा ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा दर्ता गरिसकेको छ । सरकारले चौथो पटक ऐन संशोधनको तयारी गरिरहेको भएपनि अझै पनि त्यसले धेरै समस्या समाधान नगर्ने सरोकारवालाले बताइरहेका छन् ।

संघीय सरकारबाट आएका कानूनको ड्राफ्ट गर्ने कर्मचारीको भरमा बिधेयक निर्माण गरेको कारण समस्या भएको प्रदेशका कर्मचारीले बताउन थालेका छन् । प्रदेशप्रतिको उनीहरुको अनुदार सोच विधेयकमा प्रकट भएको र प्रदेशसभाले त्यसलाई जस्ताको तस्तै पारित गर्दा समस्या भएको उनीहरुको भनाइ छ । प्रदेशको ऐनमा संघीय ऐनमा कर्मचारीले उपभोग गर्दै आएका कतिपय सुविधाहरु पनि कटौती गरिएको छ । श्रेणीबिहनीबाट चौथो तहमा जान रोक्ने, लेखा समूहका कर्मचारीमाथि विभेद गर्ने, मेकानिकल इन्जिनियरमा नवौं तहमा दरबन्दी नै नराख्ने, राजस्वका ८ औं तहका कर्मचारी बढुवाको प्रबन्ध नै नराख्ने जस्ता धेरै कमजोरी ऐनमा छन् । आइटी इञ्जिनियर, महिला विकास, तथ्याङ्क, वनका फरेष्ट्री समूहका कर्मचारीमाथि ऐनले विभेद गरेको छ । अर्कोतिर छैटौं र सातौंका अधिकृतमा बढुवा हुन शैक्षिक योग्यता नचाहिने प्राबधान पनि विवादित देखिएको छ ।

प्रदेश निजामती ऐन जति पटक संशोधन भयो, त्यति नै विवादमा पर्दै आएको छ । त्यसमा सरकारको कमजोरी देखिन्छ । कानुन निर्माणमा व्यापाक छलफल, अध्ययन र अनुसन्धान तथा सरोकारवाला पक्षको राय परामर्श लिनुपर्छ । विज्ञहरुसँग सुझाव लिएर ऐनलाई समृद्ध बनाउनु पर्छ ।

त्यसो भयो भने मात्र कानुन अब्बल बन्छ । ऐन बनेको दुई वर्ष पुरा हुन लाग्दा केहि दफा मात्र कार्यान्वयन भएको कर्मचारीहरुले गुनासो गर्दै आएका छन् । नवौं तहको जेष्ठता र कार्यमूल्याङ्कनको दफाबाहेक अरु दफा कार्यान्वयनमा नगएको र विभेदकारी ऐन बनेको भन्दै कर्मचारीमा चर्को असन्तुष्टि छ । लेखा समूह र वन समूहका कर्मचारीले यसअघि विभेद हटाउन माग गर्दै आन्दोलन नै गरेका थिए । राजनीतिक नेतृत्व र सरकारले ‘बिधेयक बनाउने अधिकार मेरो हो, अरु कसैलाई सोध्न पर्दैन’ भन्ने दम्भ पाल्ने गरेको छ । जसको कराण बनेका कानुनहरु कार्यान्वयनमा समस्या हुने गरेको छ । कोशाी प्रदेशसभाले ६ दर्जन हाराहारी कानुन बनाए पनि कार्यान्वयमा रहेका कानुन एक दर्जन हाराहारी मात्र रहेको बताइन्छ । यो प्रबृत्ति रोकिनुपर्छ । दरबन्दीको आधा मात्र कर्मचारी पदपुर्ती भएको कारण पनि सरकारको काम प्रभाबकारी हुन सकेको छैन । त्यसैले ऐनमा भएका कमजोरीलाई हटाएर निश्कर्षमा पुग्नुपर्छ । प्रदेशको लागि आवश्यक कर्मचारीहरु नियुक्तिको प्रक्रिया अगाडि बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।