कोशी प्रदेशमा बृद्धिमुखी उद्यमशिलता र रोजगारी कार्यक्रम सुरु

विराटनगर । कोशी प्रदेशमा बृद्धिमुखी उद्यमशिलता र रोजगारी कार्यक्रम सुरु भएको छ । प्रदेशका ५ वटा पालिकामा ३ करोड ७५ लाख रुपैयाँको लगानीमा कार्यक्रम सुरु गरिएको हो ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पालिका, प्रदेश सरकार र दायित्व नाम संस्थाबीच त्रिपक्षीय सम्झौता भई कार्य प्रारम्भ भएको हो ।

झापाको गौरादह नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, खोटाङको ऐसेलुखर्क गाउँपालिका, भोजपुरको पौवादुङ्वा गाउँपालिका र इलामको फकफोकथुम गाउँपालिकामा कार्यक्रम सञ्चालन हुनेछ । प्रदेश को उद्योग कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत यो कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रममा प्रदेश सरकारले ४० लाख, पालिकाले २० लाख र दायित्वले १५ लाख रुपैयाँ यो कार्यक्रममा खर्च गर्नेछ । सम्झौता कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरिबी हटाउने र उद्यमशिलता बढाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । उनले रोजगार बृद्धि गर्न र बजारीकरणको लागि प्रदेश सरकार लागिपरेको बताउँदै यसले प्रदेशको समृद्धिमा योगदान पुग्ने दावी गरे ।

कार्यक्रमबाट २०० व्यक्तिलाई उद्यामशिलता विकास गर्न सहयोग पुग्ने र त्यसबाट करिब १ लाख २५ हजार नागरिक लाभान्वित हुने दायित्वका कार्यकारी निर्देशक डा.पुकार मल्लले जानकारी दिए । कृषि मन्त्रालयका सचिव डा.लेखनाथ दाहालले यो कार्यक्रमलाई सफल बनाउन मन्त्रालय लागिपर्ने बताए ।

सम्झौता गर्नको लागि पालिकाका प्रमुख र उपप्रमुखहरु विराटनगर आएका थिए ।

मङ्गलबार, २९ साउन, २०८१, बिहानको ११:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर