विराटनगर । क्षमताभन्दा बढि यात्रुहरु चढाउने सार्वजनिक सवारी साधनलाई कारवाही गर्नुको साटो अनदेखा गर्दा सर्वसाधारण नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य बनिरहेका छन् ।
विराटनगरवाट चल्ने साना तथा मझौला सवारीसाधनमा क्षमताभन्दा बढि यात्रु कोचेर राख्ने सवारी साधन सडकमा निर्वाध गुड्ने गरेपनि ट्राफिक प्रहरीले खासै कारबाही गर्दैन । जसले गर्दा यात्रुहरुले एकातिर सास्ती खेप्न परिरहेको छ भने अर्कातिर जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेका छन् ।
विराटनगरबाट विभिन्न गन्तव्यमा जाने सार्वजनिक यातायातमा यात्रु र सामान खचाखच हुने गरेको छ । कतिपय सवारी साधनले क्षमताभन्दा दुई गुणा बढी यात्रु बोक्ने गरेको भएपनि ट्राफिक प्रहरी सडकमा मुकदर्शक बनिदिनाले सर्वसाधारणको जीवन जोमिखमा पर्दै आएको छ ।
गाडीमा सिट नभएपनि बाटोमा यात्रुलाई झुक्याएर चढाउने प्रवृत्ति सवारी धनीहरुमा कायमै छ । अगाडि सिट खाली हुन्छ भन्दै यात्रु टिप्ने र सिट नदिने तर पूरा भाडा लिने धन्दाबाट यात्रुहरु ठगीमा पर्दै आएको सनुसरी दुहवीका मोहमद नजिमले बताए । उनी सप्तरीको राजविराज जानु पर्ने भएकाले विराटनगरबाट राजबिराज जाने माइक्रो बसमा चढे । तर, सानो गाडीमा सिट थिएन, अलिपर खाली हुन्छ भन्दै उनी लामो दूरीसम्म उभिएर यात्रा गर्न बाध्य बने ।
दुहवी–इनरुवा सडकखण्डमा उभिने ठाउँ नभए इनरुवा पुगेपछि सिट मिलाइदिने भन्दै उनलाई त्यहाँसम्म यात्रा गर्न बाध्य बनाए । त्यसपछि पनि सिटको प्रबन्ध नभएपछि उभिएरै गन्तब्यसम्म पुग्न विवश भएको उनले बताए । ट्राफिक भएको ठाउँमा ढोका बन्द गर्ने नभएको ठाउँमा फेरि यात्रु कोचीहाल्ने प्रवृत्ति रहेको सप्तरी भारदहका मनोज साहले बताए ।‘एक त पुरानो माइक्रो संचालनमा छ’, उनले भने –‘त्यसमा यात्रु खचाखच हाल्दा पनि कसैले अनुगमन गर्ने र सहज यात्राको वातावरण बनाउने काम गर्दा रहेनछन्, सडक सुरक्षामा खटिने ट्राफिक प्रहरीलाई चालक र सहचालकले हात हल्लाउँदै हिडेको देखियो तर कारवाही गरेको देखिएन ।’
विराटनगरबाट ग्रामीण सडकमा गुड्ने बसहरुमा पनि यस्तै मनपरी देखिएको छ । सडकमा ट्राफिक जाँच र सवारी अनुगमन फितलो हुँदा यात्रा सुरक्षित बन्न नसकिरहेको सर्वधारण यात्रुहरुको अनुभव छ । यसरी जथाभावी यात्रु बोक्दा दुर्घटनाको जोखिम हुने स्वयं सुरक्षा निकायका प्रमुखहरुले बताउने गरेका छन् ।
सवारी साधनमा क्षमताभन्दा बढी यात्रु र सामान लोड गर्दा त्रासमा यात्रा गर्न बाध्य हुनुपर्ने स्थानीय बताउँछन् ।सार्वजनिक बसहरुमा सम्बिधत निकायको उपस्थति नहुदाँ यात्रुवाहक सवारी साधनले नै क्षमता भन्दा बढी यात्रु र मालसामान ढुवानी गर्ने गरेका छन् ।
जिल्लामा सञ्चालन भइरहेका दर्जनौं यात्रुवाहक बसहरुले निर्वाध रुपमा क्षमता भन्दा बढी यात्रु बोक्ने गरेका छन् ।जिल्ला स्थित ट्राफिक प्रहरी र अन्य सुरक्षा निकायलाई पनि आर्थिक प्रलोभनमा परेर क्षमता भन्दा बढी यात्रु बोकेर कुदाउने गरेको भाष्य सार्वजनिकरुपमा प्रचलित छ । तर ट्राफिक प्रहरी भने उक्त आरोप स्वीकार गर्न तयार छैन ।
अधिक भारवहन गरेको भन्दै प्रहरीले भारतीय सवारी साधनबाट जरिवाना असुल्ने गरेको छ । कतिपय चालकसँग रकम असुलेरै दुःख दिने गरेको भारतीय गाडीका चालक राकेश पटेलले गुनासो गरे । उनले नेपाल प्रवेश गरेपछि ठाउँठाउँमा चेकजाँच गर्ने नाममा दुःख दिने र रकम असुल्ने काम हुने गरेको दाबी पनि गरेका छन् । यात्रु रमेश कटुवालले विराटनगर र राजविराज चल्ने माइक्रोमा यो समस्या अन्यत्रभन्दा बढी रहेको र ट्राफिक प्रहरीले आवश्यक ध्यान नदिएको गुनासो गरे ।
यातायात व्यवस्था विभागले तयार पारेको मापदण्ड अनुसार यात्रु राखेनराखेको हेर्ने र जरिवाना गर्ने तथा थप कारवाहीका लागि सिफारिस गर्नुपर्नेमा ट्राफिक प्रहरीबाट त्यो काम प्रभावकारी रुपमा भइरहेको छैन । यसले व्यवसायीलाई ‘जे गरे पनि हुन्छ’ भन्ने परेको विराटनगरका विकास यादव बताउँछन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुमन न्यौपानेले ट्राफिकले सडकमा अनुगमन गरेर कारवाही गर्दै आएको बताए । उनले भने ‘ हामीले सडकमा चल्ने सार्वजनिक सवारी साधनमाथि निरन्तर नजर राखेका छौं र नियम विपरीत पाउनासाथ कारबाही गरेका छौं ।’ उनले मोरङ खण्डमा आफूले सकेसम्म अनुगमन र निगरानीलाई प्रभावकारी बनाएको तर सिमाना काटेर गएपछि हुने घटनाका बारेमा जानकारी नभएको बताए । यस्तै उनले ट्राफिक प्रहरीले रकम असुल्ने गरेको भन्ने आरोपमा सत्यता नरहेको पनि बताएका छन् ।