धरान । आज साउन महिनाको अन्तिम सोमबार सुनसरीको धरानस्थित पिण्डेश्वर धाममा जल चढाउने भक्तजनहरूको घुईंचो लागेको छ ।
साउने अन्तिम सोमबार बोलबममा गएका भक्तजनहरुले धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा चतराको कौशिकी नदीबाट जल ल्याएर चढाउने गरेका छन् ।
बराहक्षेत्रस्थित सप्तकोशी नदीको संगमस्थलबाट ल्याएको जल चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । मन्दिरमा पूर्वी क्षेत्रका अधिकांश जिल्लाका भक्तजन, पश्चिमका बैतडी, दाङ, बाजुरा, रौतहत, अछाम, डडेलधुराका साथै छिमेकी मुलुक भारतको सिक्किम, दार्जिलिङलगायत स्थानबाट भक्तजन आउने गरेका छन्।
उता झापाको झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा जलेश्वर धाममा पनि हजारौँ भक्तजनले जल चढाएका छन् । साउनको अन्तिम सोमबार आज धामको मूल मन्दिरमा जल चढाउन बिहान ४ बजेदेखि भक्तजन लामबद्ध भएका थिए ।
पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा धाममा जल चढाउन झापाका विभिन्न स्थानसँगै काठमाडौँ, सिराहा, मोरङ, सुनसरी, इलाम र भारतका सीमावर्ती क्षेत्रबाट ठुलो सङ्ख्यामा भक्तजन पुग्ने गरेका छन् ।