विराटनगर । पूर्वाधार विकास निर्माणसँगै सर्वधारण नागरिकले मोरङ जिल्लामा निर्माण गर्ने घर तथा अन्य संरचना महंगिने भएको छ । जिल्ला दररेट निर्धारण समितिले डकर्मी, सिकर्मी तथा ज्यामीहरुको पारिश्रमिकसँगै मुख्य निर्माण सामग्रीहरुको मूल्य बढाएर निर्धारण गरिदिएका कारण निर्माण कार्य महंगो हुने भएको हो ।
आर्थिक वर्ष २०८१–८२ का लागि स्वीकृत जिल्ला दररेट अनुसार एनएस चिन्हप्राप्त फलामे डण्डीको मूल्यमा झण्डै चार प्रतिशत वृद्धि गरी निर्धारण गरेको छ । गत आर्थिक वर्ष २०८०–०८१ मा प्रतिकेजी १०१ रुपैयाँ रेहेको ८ एमएम ब्यासको फलामे डण्डीको नयाँ दररेट १०५ रुपैयाँ कायम गरिएको छ । आर्थिक वर्ष २०७९–०८० मा यसको मूल्य प्रतिकेजी ९७ रुपैयाँ थियो । यसैगरी २८ एमएमदेखि ३२ एमएम ब्याससम्मको फलामे डण्डीको मूल्य पनि प्रतिकेजी १०१ रुपैयाँबाट बढाएर १०५ रुपैयाँ निर्धारण गरिएको छ ।
जिल्ला दररेट निर्धारण समितिले जिआई वारबेड वायर, फलामे डण्डी बाँध्ने तारदेखि १२ गेजको लाइट जिंक कोटेड जिआई तारसम्मको मूल्य बढाएर निर्धारण गरेको छ ।
पछिल्लो एक वर्षयता फलामे डण्डीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । उद्योगहरुले ८ एमएमको फलामे डण्डी प्रतिकेजी ७७ रुपैयाँमा बिक्री गर्दै आएको र बजारमा प्रतिकेजी ९० देखि ९२ रुपैयाँमा किनबेच भइरहेको फलामे डण्डीको झण्डै १५ प्रतिशत हाराहारीमा बढाएर दररेट निर्धारण गर्दा सरकारी क्षेत्रबाट निर्माण हुने संरचनाको लागतमा भारी वृद्धि हुने देखिएको छ । जिल्ला दररेट निर्धारण समितिले हेभि जिंककोटेड ग्याबियन जालीको दररेट भने पुरानै कायम राखेको छ ।
यसैगरी समितिले फलामजन्य निर्माण सामग्रीहरुको दररेट बढाउने निर्णय गरेको छ । अहिलेसम्म प्रतिकेजी १४० रुपैयाँमा कारोबार भइरहेको प्रतिवर्गमिटर १५ केजी सम्मको तयारी ग्रिलको मूल्य १४० रुपैयाँबाट बढाएर १५० रुपैयाँ पु¥याएको छ । यस्तै २० केजीसम्मको तयारी ग्रिलको मूल्य १४० रुपैयाँबाट बढाएर १५५ रुपैयाँ निर्धारण गरेको छ । तयारी मेटल गेटको मूल्य पनि १४० बाट बढाएर १५० रुपैयाँ निर्धारण गरिएको
भवन निर्माणमा प्रयोग हुने फलामे वस्तुहरु काँटी, कब्जा, छेस्किनी, पित्तलको छेस्किनी, एल ड्रप, मोर्टिस लक, लकिङ सेट, हाइड्रोलिक डोर स्प्रिङ आदि अधिकांश वस्तुको दररेट बढाएर निर्धारण गरिएको छ । ती वस्तुहरुको दररेटमा कम्तिमा पनि १५ प्रतिशतले वृद्धि गरिएको हो ।
भवन निर्माणमा प्रयोग हुने सिसाको दररेट पनि बढाएर निर्धारण गरिएको छ । अघिल्लो वर्ष प्रतिवर्ग फिट ७७.३९ रुपैयाँ रहेको ४ एमएमको सिसाको दररेट बढाएर यस वर्ष ८१ रुपैयाँ कायम गरिएको छ । यस्तै ५ एमएमको सिसाको मूल्य ९२ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम गरिएको छ भने १२ एमएम सिसाको मूल्य २३३.७३ रुपैयाँबाट बढाएर २४५ रुपैयाँ निर्धारण गरिएको छ ।
भवनमा प्रयोग हुने स्टेनलेस स्टिल पाइपका सबै साइजको प्रतिपिस दररेट १२७ रुपैयाँ वृद्धि गरिएको छ । यस्तै आल्मुनियमका सामग्रीहरुको दररेट पनि बढाएर स्वीकृत गरिएको छ ।
यसैगरी मार्वल सादा र रंगिन दुवैको दररेट बढाइएको छ । सादा मार्वलको प्रतिवर्गफिट दररेट १८३ रुपैयाँबाट बढाएर १८९ निर्धारण गरिएको छ भने रंगिन मार्वलको दररेट १७३ रुपैयाँबाट बढाएर १७८ रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी विद्युत स्वीच, बोर्डदेखि ट्रान्सफर्मरसम्मको दररेट बढाएर स्वीकृत गरिएको छ । खानेपानी तथा सरसफाइमा प्रयोग हुने सामग्रीहरु धारा, सकेट, पाइप आदि वस्तुको मूल्यमा पनि बढाइएको छ ।
जिल्ला दररेट निर्धारण समितिले डकर्मी, नकर्मी, सिकर्मी, पेन्टर आदि दक्ष कामदारहरुको दैनिक ज्यालाको दर पनि बढाएको छ । यस्ता दक्ष जनशक्तिले गतवर्षसम्म दैनिक एक हजार रुपैयाँ ज्याला पाउँदै आएकोमा अब १०५० रुपैयाँ ज्याला पाउने छन् । अर्धदक्ष डकर्मी, सिकर्मी, पेन्टरको दैनिक ज्याला ८४० रुपैयाँ, कुल्ली, ज्यामी, माली आदिको दैनिक ज्याला ७३५ रुपैयाँ कायम गरिएको छ । यसअघि अर्धदक्ष डकर्मी सिकर्मीहरुको दैनिक ज्याला ८०० रुपैयाँ, कुल्ली, ज्यामी, चेनम्यान, माली आदिको ज्याला ७०० रुपैयाँ थियो ।
जिल्ला दररेट निर्धारण समितिले मोरङमा सबै प्रकारको इँटा, सिमेन्ट र गिटी बालुवाको दररेट भने गतवर्षकै कायम राख्ने निर्णय गरेको छ ।