मेयरको निर्देशनमा सार्वजनिक सम्पत्ती नष्ट गर्ने धरान प्रहरीका असई मग्राती पक्राउ

विराटनगर । मेयर हर्क साम्पाङको निर्देशनमा प्रदेश सरकारले बनाएको ग्याबिन पर्खाल भत्काउने सुनसरीको धरान उपमहानगरपालिका नगर प्रहरी सहायक निरीक्षक (असई) सुरेश मग्राती पक्राउ परेका छन् ।

मग्रातीको नेतृत्वमा धरान–१३ स्थित खहरे खोलामा पहिरो रोकथामका लागि निर्माण गरिएको ग्याबिन पर्खाल भत्काएपछि आइतबार प्रहरीले पक्राउ गरेको हो । मग्रातीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय इनरुवा लगिएको छ ।

कोशी प्रदेश सरकारको २० लाख रुपैयाँको लागतमा खोलामा तारजालीमा ढुंगा भरेर पहिरो रोकथामका लागि पर्खाल बनाइएको थियो । उक्त पर्खाल स्थानीय एक व्यक्तिको उजुरीको आधारमा भत्काउन मेयर साम्पाङले निर्देशन दिएका थिए । घटनापछि धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले सार्वजनिक सम्पत्ति क्षति पुर्‍याएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीपछि मग्रातीलाई पक्राउ गर्न शुक्रबार नै प्रहरी टोली नगर प्रहरीको कार्यालयमा पुगेको थियो । त्यस समयमा मेयर साम्पाङ र धरानका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईले मग्रातीलाई आफैं लिएर हाजिर गराउने बताएपछि प्रहरी फर्किको थियो । तर, उनी हाजिर नभएपछि आइतबार धरान १४ स्थित घरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

ग्याबिन भत्काएर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा प्रहरीले यसअघि नै भारती राई, राजकुमार राई र दिलकुमार राईलाई पक्राउ गरिसकेको छ । भारती राईको गुनासोको आधारमा ग्याबिन भत्काउन मेयर साम्पाङले नगर प्रहरीलाई निर्देशन दिएका थिए ।

नगर प्रहरी प्रमुख विष्णु कोइराला नेतृत्वको टोली यसअघि नै मेयरको निर्देशन बमोजिम खहरेमा पुगेको थियो । तर, स्थानीयको चर्को विरोधका कारण टोली फर्किएको थियो । मेयर साम्पाङले भने आफ्नो आदेश कार्यान्वयन नभएको भन्दै कोइरालालाई बर्खास्त गरिसकेका छन् । कोइरालालाई बर्खास्त गरेपछि साम्पाङले नगर प्रहरीका सहायक निरीक्षक मग्रातीको नेतृत्वमा टोली जाली भत्काउन खटाएका थिए ।

खहरेको बीचमा जाली लगाएर बस्ती डुबाउन खोजेकोले भत्काएको मेयरको दावी छ । ग्याबिनबारे वडाअध्यक्षले नगरलाई जानकारी नदिएको र वडाका प्राविधिकलाई पनि थाह नभएको उनको भनाइ । बजेट दुरुपयोग गरेको भन्दै मेयर साम्पाङले सो विषयमा छानविन गर्न अख्तियारमा पत्राचार गरेका थिए ।

आइतबार, २७ साउन, २०८१, साँझको ०६:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर