कुलमानले सुनाए प्रगति विवरण : विद्युत प्राधिकरण ४७ अर्ब ४१ करोड सञ्चित नाफामा

विराटनगर । आठ वर्ष अगाडि ३४ अर्ब ६१ करोड सञ्तित घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ ।

प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकालको तीन वर्ष पुरा भएको दिन शुक्रबार गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

गत आर्थिक वर्ष २०८०–८१ मा मात्र प्राधिकरणको खुद नाफा १३ अर्ब ३१ करोड रुपैयाँ रहेको घिसिङले जानकारी दिए । आव २०७३–७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरण त्यसयता निरन्तर नाफामा गएको हो ।

पहिलो कार्यकालका लागि प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त हुँदा प्रतिवर्ष ३ अर्ब ३२ करोड युनिट विद्युत खपत हुने गरेकोमा अहिले प्रतिवर्ष १० अर्ब २३ करोड युनिट विद्युत खपत भइरहेको घिसिङले जानकारी दिएका छन् । उनले प्राधिकरण ५९ लाख ६० हजार ग्राहक रहेको जानकारी दिएका छन् ।

प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो मात्रामा लगानी भइरहेको जानकारी दिँदै घिसिङले सुकुम्बासी बस्ती, चेपाङ बस्ती र मुसहर बस्तीलगायत विपन्न वर्गको घरपरिवारमा विद्युत् पुर्‍याउन निःशुल्क मिटरसमेत वितरण गरिएको बताए । देशलाई छिट्टै पूर्ण विद्युतीकरण घोषणा गरिने योजना रहेको बताउँदै उनले डेडिकेटेड र ट्रङ्कलाइन महसुलले मात्र नाफा नभएको बताए ।

घिसिङले महालेखाबाटै अडिट गरी आएको हिसाबअनुसार नाफाको विवरण रहकोे बताएका छन् । तीन पटक गरि २५ प्रतिशत महसुल घटाउँदा पनि नाफा रहेको भन्दै उनले ५९ लाखमध्ये २२ लाख ग्राहकलाई न्यूनतम शुल्कमा विद्युत प्रदान गरिरहेको जानकारी दिएका छन् ।

प्राधिकरणले विगत ८ वर्षमा मात्र करिब एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम भएको जानकारी दिँदै घिसिङले उद्योगीसँग विगत पाँच वर्षदेखि देखिएको विवादका सम्बन्धमा सबै निकायले महशुल उठाउनु भनेकोले बिल छुट दिन नसकिने बताए ।

महिनैपिच्छे काटेको बिलको प्रमाण प्राधिकरणसँग रहेको बताउँदै घिसिङले फर्जी विल काटेको आरोपको प्रतिवाद गरे । अदालतले प्राधिकरणले गरेको कामलाई अन्यथा गर्न मिल्दैन भनेर व्यवसायीका ९० वटा मुद्दा खारेज गरिसकेको जानकारी दिँदै उनले सार्वजनिक लेखा समितिले करिब दुई वर्ष छलफल चलाएर प्राधिकरणलाई महशुल उठाउन भनिसकेको बता ।

सरकारसँग विवाद नभएको र सरकारको विरुद्धमा काम नगरेको भन्दै घिसिङले प्राधिरकण सरकारकै अंग भएको बताए । आफ्नो कार्य सम्पादन मूल्यांकनका आधारमा आव २०७८–७९ मा ९४.२३ र त्यसपछिको आवमा ९८.९४ अंक प्राप्त भएको उनले जानकारी दिए ।

शुक्रबार, २५ साउन, २०८१, दिउँसोको ०३:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर