विराटनगर । मिटरब्याजीले जबर्जस्ती हडपेको विराटनगर–१८ लावाघाट र दमादिगी बस्तीका ६ जना सर्वसाधरणको जग्गा सम्बन्धित व्यक्तिकै नाममा फिर्ता भएको छ । विराटनगर १८ का मिटरब्याजी ५३ वर्षीया सुनिल साहले वर्षौदेखि हडपेको जग्गा फिर्ता दिएका हुन् ।
मिटरब्याजीले जग्गा कब्जा गरेको विषयमा हाम्रोमत दैनिकले पटक–पटक समाचार प्रकाशित गरेको थियो । समाचारपछि जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा जग्गा फिर्ता भएको हो ।
जग्गा फिर्ता पाएपछि विराटनगर–१८ लावाघाटकी ६५ वर्षीया लक्ष्मी साह दंग छिन् । ८ वर्षपछि मिटरब्याजीले हडपेको घरसहितको १७ धुर जग्गा आफ्नो नाममा आएपछि उनको परिवारमा खुसी छाएको छ ।बुधबार बिहान ९ बजेतिर हाम्रोमतको टोली मिटरब्याज पीडित बस्ती लावाघाट पुग्दा लक्ष्मी खेतमा धान गोड्दै थिइन् । स्थानीय सुनिल साहले बस्ती उठिबास लगाउन लागेको समाचार निरन्तर लेख्ने पत्रकार आएको जानकारीपछि उनी घर आइपुगिन् र खुसी साटिन् ।
घर आउनसाथ लक्ष्मीले ८ वर्षपछि गुमेको जग्गाको फिर्ता पाएको धनीपूर्जा निकालेर उनले धन्यवाद ज्ञापन गरिन् । ‘तपाईहरुले सहयोग गरेर जग्गा फिर्ता भएकोमा धेरै खुसी छौं, उठिबास लाग्न लागेको अवस्थामा जग्गा फिता भएकोमा सबैलाई धन्यवाद’ उनले भनिन् । खुसी साट्दै गर्दा आफूले पाएको दुःख पनि स्मरण गरिन् ।

सुनिलसँग १७ धुर घरसहितको जग्गा राजीनामा पास गरेर १ लाख रुपैयाँ कर्जा लिएकी लक्ष्मीले १ लाख ऋण लिएको भएपनि ९ लाखको कपाली तमसुक बनाएको पत्तै पाएकी थिइनन् । लक्ष्मीका छोरा नारयणले १ लाखको ऋण दिएका वर्षदिनमै २ लाख रुपैयाँ फिर्ता गरेका थिए । तर, सुनिलले अझै ९ लाख रुपैयाँ तिर्नुपर्ने भन्दै जग्गा र तमसुलक फिर्ता गरेनन् ।
जग्गा फिर्ता गर्नुको साटो सुनिलले मानिसहरू लिएर घर खाली गराउन धम्की दिँदै आएका थिए । लगातारको धम्कीपछि आजित लक्ष्मीको परिवार घरघडेरी खाली गरेर अन्तै जाने मनस्थितिमा पुगिसकेको थियो । त्यसबेला प्रचण्ड नेतृत्वको सरकारले मिटरब्याज पीडितलाई न्याय दिन अध्यादेश ल्याएपछि उनीहरुमा आशा पलाएको थियो ।
लक्ष्मीसहित लावाघाट र दिगादिगी बस्तीका आधा दर्जन पीडितले गत फागनु १० गने मिटरब्याजी सुनिलविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिए । त्यसअघिदेखि हाम्रोमत पीडितको ब्यथा उजागर गरेको थियो ।
प्रशासनमा उजुरी दिएको पाँच महिनापछि आइतबार लक्ष्मीसहित ६ जनाको जग्गा सुनिलले फिर्ता गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा चार पटक छलफल गरेपछि सुनिलले लक्ष्मीहित विराटनगर १८ लावाघाटकी ५४ वर्षीया सुमित्रादेवी मण्डल, ५६ वर्षीया श्यामसुन्दर साह, मिनादेवी मण्डल र विराटनगर १८ दिगादिगीकी पुनम मण्डलको जग्गा फिर्ता गरेका हुन् । दिलिप अमातको भने जग्गा अर्कैलाई बिक्री गरिसकेकोले उनले १ लाख ५० हजार नगद फिर्ता गरिदिएका छन् ।
सुनिलले कपाली तमसुक फिर्ता गर्नुका साथै मालपोतमा गएर जग्गा फिर्ता गरिदिएको पीडितहरुले बताएका छन् । घरजग्गाको करिब आश मारेका उनीहरु अहिले खुसी छन् । ‘घरजग्गा फिर्ता होला भन्ने आश मारिसकेका थियो, त्यहि बेला सरकारले अध्यादेश ल्यायो’ लक्ष्मीले भनिन्, ‘तपाईहरुले समाचार लेखेर दबाब दिएकोले प्रशासनले पनि समस्या समाधानको पहल गरिदिएकोले न्याय पाएका छौं । सहयोग गर्ने सम्पूर्णप्रति हामी कृतज्ञ छौं ।’

जग्गा फिर्ता पाउने विराटनगर – १८ लावाटोलीका ५६ वर्षीय श्यामसुन्दर साहले पनि ५ कठ्ठा ६ धुर जग्गा सुनिललाई दिएर १ लाख रुपैयाँ ऋण लिएका थिए । उनले विभिन्न मितिमा ७ लाख ७५ हजार रुपैयाँ बुझाए पनि सुनिलले थप २० लाख रुपैयाँ माग्दै आएका थिए । अहिले १४ वर्ष अगाडि सुनिलले लगेको जग्गा फिर्ता पाएको उनले बताए ।
मिटरब्याजी साहले ऋण दिएको रकम समयमै नदिएको भन्दै विराटनगर १८ दगादिगीका दिलिपकुमार अमातको १० कठ्ठा जग्गा बिक्री गरिदिए । दिलिपले चार वर्ष अगाडि ६ लाख रुपैयाँ ऋण लिएका थिए । जसमध्ये ३ लाख फिर्ता गरेका थिए । बाँकी रकम ढिलो गरेको भन्दै सुनिलले दिलिपको श्रीमति अनिता आमातको नाममा रहेको विराटनगर १८ मा रहेको किता नं. ३१७ र ३१६ को १० कठ्ठा जग्गा नै बेचिदिए । अहिले जग्गा बिक्री गरिसकेको भन्दै ३ लाख कटाएर सुनिलले दिलिपलाई १ लाख २५ हजार रुपैयाँ फिर्ता गरिदिएका छन् ।

श्रीमति पुनम मण्डलको नाममा रहेको ४ कठ्ठा जग्गा सुनिलसँग धितो राखेर ६ वर्ष अगाडि १ लाख ८० हजार ऋण लिएका रमानन्द मण्डलको जग्गा पनि फिर्ता आएको छ । उनले ऋण लिएको रकम पहिले नै फिर्ता गरे पनि सुनिलले जग्गा फिर्ता नगरी थप ८ लाख रुपैयाँ माग्दै आएका थिए । अहिले ३ लाख ५० हजार दिएपछि जग्गा फिर्ता आएको उनले बताए ।
मिटरब्याजी सुनिलले दर्जनौंको जग्गा कब्जा गरेको भएपनि प्रशासनमा उजुरी दिएकाहरुको फिर्ता गरेका छन् । सुनिलको ऋणको फन्दामा पर्ने विराटनगर १८ लावाटोली र दिमादिगीका दर्जनभन्दा धेरैको घरजग्गा अझै सुनिलकै नामम छ ।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले अहिलेसम्म उजुरी परेकामध्ये ११० जना पीडितलाई जग्गा र पैसा फिर्ता गरेको जानकारी दिए । दुबै पक्षबीच सहमति नभएका ९० वटा निवेदन अदालत पठाउने तयारी गरिएको उनको भनाइ छ । ‘सजिलो तरिकाले मेलमिलाप हुँदैन । सत्य तथ्यमा पुग्न धेरै समय लाग्छ’, उनले भने, ‘जति ऋण दिएको छ, त्यसको उचित व्याज साँवासहित दिने सहमति गराउँछौं ।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।