एक दिनको करेक्सनपछि नेप्सेमा फेरि उच्च अंकको बृद्धि

विराटनगर । अघिल्लो कारोबार दिन मंगलबार भएको उच्च अंकको करेक्सन भएको नेपालको शेयर बजार पुनः लयमा फर्किएको छ । मंगलबार १४५ अंक घटेको नेप्से बुधबार दिन १०८ अंकभन्दा धेरैले बढेर बन्द भएको छ।

यस दिन नेप्से परिसूचक १०८.३५ अंक बढेर २७५.६७ विन्दुमा पुगेको छ । त्यस्तै, यसदिन सेन्सेटिभ इण्डेक्स १८.९० अंक बढेको छ भने फ्लोट इण्डेक्स ७.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.९९ अंक बढेको छ ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च, २३ अर्ब ७१ करोडको शेयर कारोबार भएको थियो । यस दिन ३३० स्टकको २ लाख १२ हजार ६८१ पटकको कारोबारमा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन ११ स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन बोटलर्स नेपाल, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, मैलुङ्ग खोला जलविद्युत कम्पनी, दोल्टी पावर कम्पनी, सिटि होटल, हिमालयन रि इन्स्योरेन्स, सेन्ट्रल फाइनान्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यस दिन मूल्य घटेका स्टकहरुको गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ । मूल्य घट्ने कम्पनीहरु म्युचल फण्ड र डिबेञ्चरका छन् ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको ेछ । त्यस्तै, यस दिन नेपाल फाइनान्सको ६५ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सानिमा माइ हाइड्रोपावरको करिब ५६ करोडको शेयर किनबेच भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ७.८९ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक ७.६३ प्रतिशत बढेको छ भने व्यापार, जलविद्युत र होटल तथा पर्यटन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा धेरै बढेको छ।

बुधबार, २३ साउन, २०८१, दिउँसोको ०४:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर