विराटनगर । मोरङको बेलबारी नगरपालिका–८ का ५८ वर्षीय महेन्द्र गुरागाइँले व्यक्तिगत कर्जा दिने नाममा एक व्यक्तिको ३ कठ्ठाभन्दा बढि जग्गा ठगी गरेका छन् । कर्जा दिने सहमति गरेर जग्गा हात पारेका गुरागाइँ लगतै सम्पर्कविहीन भएपछि मोरङ केराबारी ७ डाँगीका ३० वर्षे खड्गसिंह लिम्बू लामो समयदेखि तनावमा परेका छन् ।
मालपोतमा जग्गा पास गरेपछि कर्जा दिन्छु भनेका गुरागाइँ मालपोतको काम सकेर पैसा नदिई आफ्नो बाटो लागेपछि लिम्बू ठगीमा परेका हुन् । लिम्बूलाई ठगी गरेका गुरागाईँ भने पेशेवररुपमै ठगी धन्दा चलाउँदै आएका व्यक्ति भएको स्थानीयले बताएका छन् । उनले वैदेशिक रोजगारीमा जान पैसाको अभाव झेल्दै आएका परिवारहरुको जग्गा लिने र फिर्ता नदिने धन्दा नै चलाइरहेका छन् । उनीविरुद्ध प्रहरीमा दर्जनौं उजुरीहरु छन् ।
गुरागाइँबाट ठगीमा परेका लिम्बूले आफ्नो जग्गा फिर्ता लिनका लागि दुई वर्षदेखि निरन्तर प्रयास गरिरहेका छन् तर उनी सफल भएका छैनन् । ठगीको चपेटामा परेका उनी न्यायका लागि हारगुहार गर्दै कहिले जिल्ला प्रशासन कार्यालय त कहिले प्रहरी र कहिले सञ्चारमाध्यमका कार्यालयहरु धाइरहेका छन् ।
उनी दुई वर्षअगाडि वैदेशिक रोजगारमा गएका थिए । त्यतिबेला सासुको नामको जग्गा धितो राखेर कर्जा लिएका थिए । वैदेशिक रोजगारमा गएको ठाउँ राम्रो नभएपछि उनी फर्किए र सासुको कर्जा तिर्न आफ्नै जग्गा धितो राख्ने योजना बनाइरहेको बेला गाउँमा कर्जा लगानी गर्दै आएका गुरागाइँसँग उनको भेट भयो । जग्गा राजीनामा पास गरिदिए कर्जा दिन उनी तयार पनि भए । लिम्बूलाई पाँच लाख रुपैयाँ कर्जा चाहिएको थियो । त्यसका लागि उनी केराबारी ७ मा रहेको ३ कठ्ठा ७ धुर जग्गा गुरागाइँकी पत्नी उमा गुरागाइँको नाममा २ कठ्ठा र बेलबारीका राजेन्द्र राईको नाममा १ कठ्ठा ७ धुर जग्गा राजीनामा पास गरिदिए । मालपोतमा लेनदेन प्रमाणित गर्ने बेलामा गुरागाइँकै सल्लाहमा लिम्बूले रकम पाइसकेको बताए । लिम्बूले बेलबारी मालपोतमा २०८० पुस १९ गते कित्ता नम्बर १००० भएको गुरागाइँको नाममा दुई कठ्ठा र सोही दिन किता नम्बर १००१ भएको १ कठ्ठा ७ धुर जमिन राईको नाममा राजीनामा पास गरिदिएका हुन् । ‘जग्गा पास गरेको १५ दिनपछि महेन्द्र गुरागाईले पैसा दिन्छु भन्नुभएको थियो । तर भनेको मितिमा फोन गर्दा उहाँसँग सम्पर्क हुन सकेन । जग्गा पहिले नै उहाँले भनेको मान्छेको नाममा गइसक्यो तर अहिलेसम्म मैले न पैसा पाएँ न त जग्गा फिर्ता पाउन सकें । म नराम्ररी ठगिएको छु र मलाई ठगी गर्ने गुरागाइँ खुलेआम अरुमानिस ठगी गर्दै हिडिरहनुभएको छ, म भने मेरो जग्गा फिर्ता लिनका लागि हारगुहार गर्न विवस भएको छु,’ उनले भने ।
गुरागाइँलाई पास गरिदिएको जग्गाको धनीपूर्जाको फोटोकपी संचारकर्मीलाई देखाउँदै लिम्बूले भने, ‘जिल्ला प्रशासन कार्यालय मोरङदेखि प्रहरी कार्यालयसम्म ठगी गर्ने गुरागाइँलाई कारवाही गरी मेरो गरिखाने जग्गा फिर्ता गरिदिनुपर्यो भन्दै धाएको वर्षौं भइसक्यो । अहिले पनि जग्गा फिर्ता आएको छैन । ठगी गर्ने गुरागाईँ गाउँघरमा खुलेआम हिंड्दै आएका छन् ।’ गुरागाइँबाट ठगीमा परेकाहरु गाउँघरमा अरु पनि धेरै रहेको लिम्बूले बताए । ‘पहिले मैले थाहा पाइन, सजिलै कर्जा दिने मानिस खोजी गर्दा आफन्तले नै गुरागाइँलाई देखाइदिएपछि चिनजान भयो, कर्जा दिन्छु पनि भने तर कर्जा नदिई जग्गा हडपिदिए, उनले गाउँका अरु धेरै सोझा सिधा मानिसलाई यसरी नै ठगेका रहेछन्, आफू ठगीमा परेपछि मात्र थाहा पाएँ,’ लिम्बूले भने ।
पटक–पटक जग्गा फिर्ताको लागि स्थानीय र प्रहरी प्रशासन गुहारेपछि गुरागाइँकी पत्नीको नाममा पास गरेको २ कठ्ठा जग्गा २०८० फागुन २० गते फिर्ता गरेको लिम्बुले सुनाए । अब १ कठ्ठा ७ धुर जग्गा फिर्ता पाउन बाँकी रहेको उनको भनाइ छ ।‘जग्गा फिर्ता दिन्छु भनेर गुरागाइँले प्रहरी प्रशासन र जिल्ला प्रशासन कार्यालय मोरङमा पनि कागज गरेका छन् । दुवै सरकारी निकायमा छलफल गरेर लिखित सहमती गरेका उनले अहिलेसम्म जग्गा दिएका छैनन्,’ उनले भने, ‘जग्गा फिर्ता गर्छु भनेर गरेको लिखित सहमतीको भाका पनि नाघिसक्यो । तर, जग्गा फिर्ता दिएका छैनन् ।’
गुरागाइँले इलाका प्रहरी कार्यालय बेलबारीमा २०८१ जेठ २१ गते १५ दिनको भाका राखेर १ कठ्ठा ७ धुर जग्गा लिम्बूको नाममा फिर्ता गरिदिन्छु भनेर लिखित कागज गरेका छन् । उक्त लिखित गरेको जग्गा फिर्ताको कागजको भाका २०८१ असार ३१ गते सकिएको छ । तर, गुरागाइँले जग्गा फिर्ता नगरेपछि लिम्बू जिल्ला प्रशासन कार्यालय मोरङमा आए । १ साउन २०८१ मा जिप्रका मोरङका प्रमुख जिल्ला अधिकारीसहितको छलफलमा गुरागाइँले १० साउनमा लिम्बूको नाममा जग्गा फिर्ता गर्छु भनेर कागज गरेका छन् । ‘दोस्रो पटक प्रशासन कार्यालयमा बसेर गरेको सहमती अनुसार पनि जग्गा फिर्ता गरेका छैनन् । म त आजित भइसकें । प्रशासन कार्यालय धाइरहेको छु । प्रमुख जिल्ला अधिकारीदेखि सहायक प्रमुख जिल्ला अधिकारीसम्मलाई सहमती अनुसार जग्गा फिर्ता नगरेको गुनासो सुनाइसकें । तर, पनि गुरागाइँलाई जिल्लामा झिकाएर कारवाही गर्ने पहल प्रशासनले गरेको छैन,’ लिम्बूले भने, ‘गरिखाने त्यही एउटा जग्गा थियो । त्यो पनि ठगको फन्दामा परें । जग्गा फिर्ता दिन्छु भन्न छोड्दैन । भाका मात्रै राखिरहन्छ । तर, फिर्ता गर्दैन ।’ पीडित लिम्बूले प्रहरी प्रशासनबाट पनि ठगी गर्ने गुरागाइँलाई कारवाही नभएको गुनसो गरे । ‘प्रशासनमा बसेर लिखित सहमती भएको कागज छ । समयमै जग्गा फिर्ता पनि गरेको छैन । यतिको प्रमाण पनि छन् । प्रहरी चाहिँ किन ठगीमा जाहेरी लिन मान्दैन,’ उनले भने प्रश्न गरे ।
लिम्बूले राजीनामा पास गरिदिएको त्यो जग्गा प्रतिकठ्ठा १५ लाख रुपैयाँका दरले किनबेच भइरहेको ठाउँको मूल्यवान जग्गा हो ।
यता ठगीको आरोप लागेको गुरागाईँले पनि पैसा नदिइकन जग्गा आफ्नो नाममा ल्याएको स्वीकार गरेका छन् । ‘दुई कठ्ठा जग्गा फिर्ता गरिसकेको छु । अब १ कठ्ठा ७ धुर बाँकी छ । त्यो पनि फिर्ता गर्छु भनेकै छु । मलाई अझै २० दिन जति समय लाग्छ,’ उनले भने, ‘मलाई किचकिच नगरी बसे अबको २० दिनभित्रमा जग्गा फिर्ता गर्नेछु ।’
सासुलाई पनि ठगी गरेको आरोप
गुरागाइँले लिम्बूको सासूआमा विष्णुमाया राईको जग्गा पनि आफ्नो नाममा ल्याएको बताएका छन् ।दुई वर्ष अगाडि लिम्बू विदेश जानेभएपछि सासू बिष्णुमाया राईको नाममा रहेको घरजग्गासहित डेढ कठ्ठा जग्गा गुरागाइँको नाममा राजीनामा पास गरेर २०७९ सालमा २ लाख ५० हजार रुपैयाँ लिएका थिए । ‘अहिले सासूको घरजग्गा फिर्ता गरिदिनु ऋण लिएको पैसा फिर्ता गर्छु भनेको छु,’ लिम्बूले भने, ‘अहिलेसम्म त्यो जग्गा पनि फिर्ता भएको छैन, तर फिर्ता दिन्छु भन्न चाहिँ छोडेका छैनन् खाली भाका सार्दै हिडिरहेका छन् ।’ लिम्बुले २ रुपैयाँ ब्याजले गुरागाइसँग ऋण लिएका थिए ।
गुरागाइँविरुद्ध इलाका कार्यालय बेलबारीमा यस्ता थुप्रै उजुरी परेका छन् । उनी पटक पटक प्रहरीबाट पक्राउ पर्दै छुट्दै आएका छन् । आफूलाई अप्ठ्यारो पर्ने भएपछि उनले सहयोगी मार्फत घुमाइफिराई एक एक जनाको रकम फिर्ता गर्ने अनि फेरि बाहिर निस्किएर पुरानै धन्दा चलाउने काम गर्दै आएको एक प्रहरी अधिकारीले जानकारी दिए ।