विराटनगर । झापाको विर्तामोडस्थित प्रभु बैंक लिमिटेडको शाखा कार्यालयमा मुद्दती खातामा मञ्जुकुमारी नेपालले राखेको भनिएको एक करोडभन्दा बढी रकम बैंकका जम्मा नै नभएको बैंकले दावी गरेको छ ।
नेपालले दावी गरिरहेको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली रहेको बैंकले जनाएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै बैंकको कोशी प्रदेश प्रमुख बद्रिकुमार कटुवालले नेपालले देखाएको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको जनाएका छन् । नेपालले बैंकमा रकम जम्मा गरेको दावी गरेको सम्बन्धमा थप छानविन भइरहेको भन्दै विज्ञप्तिमा कानुन बमोजिम दोषीउपर कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।
प्रभु बैंकको विर्तामोड शाखा कार्यालयमा निक्षेपकर्ता मन्जुकुमारी नेपालले मुद्दती रसिदको रकम फिर्ता पाउँ भनी निवेदन पेश गरेपछि चेक गर्दा रकम सम्बन्धित खातामा नरहेको जानकारी प्राप्त हुनासाथ आन्तरिक छानबिन गरेको बैंकले जनाएको छ । छानविनमा उक्त मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको व्यहोरा प्रारम्भिक रुपमा देखिएको बैंकको दावी छ ।
देशैभर २८३ एटिएम र ३१४ शाखा कार्यालयहरु समेतको सञ्जालमार्फत अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको प्रभु बैंक आफ्ना निक्षेपकर्ता, ग्राहक तथा सेवाग्राहीहरुको हित एव गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाहको लागि कटिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ । सो प्रकरणमा आवश्यक छानविन तथा प्रचलित कानुन बमोजिमको कारवाही पश्चात् उक्त घटनाको सत्य, तथ्य र वास्तविकता पत्ता लागेर दोषीमाथि कारवाही हुने विश्वास बैंकको छ ।
झापाका पत्रकार टिकाराम नेपालले श्रीमती मञ्जुको नाममा राखेको फिक्स डिपोजिटको १ करोड १० लाख ४३ हजार रुपैयाँ गायब भएको बताएका थिए । नेपालले गत माघ ३ गते ६ महिनाका लागि सो रकम राखेको बताएका छन् । तीन महिना अमेरिका बसेर फर्किएका नेपाल दम्पतीले बैंकमा राखेको पैसा निकाल्न जाँदा पैसा नै गायब भएको पाइएको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए ।
बैंकका मार्केटिङ म्यानेजर भद्रपुर निवासी प्रमोद सिटौलाले रकम अपचलन गरेको आरोप लागेको छ । घटनापछि सिटौला सम्पर्कविहीन रहेको भनिएकोमा बैंकले त्यसबारे केहि बताएको छैन । फरार सिटौलाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय झापामा पीडित नेपालले जाहेरीसमेत दिएका छन् ।