कोशी प्रदेशमा रोजगारी सिर्जना गर्न समझदारी

बिराटनगर । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौं र कोशी प्रदेश सरकारबीच विभिन्न उद्यमशिलता र रोजगारमुलुक कार्यक्रम गर्ने विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्तिथिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यलयका उपसचिव अर्जुनकुमार निरौलाले बिहीबार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

समझदारीपछि कोशी प्रदेशका सर्वसाधारण नागरिकमा उद्यमशिलताको बिकास र रोजगारी सिर्जना गर्न सहयोग पुग्ने सरकारले जनाएको छ । यो समझदारीले सर्वसुलभ कर्जा प्रवाह गर्न बैंक तथा बित्तीय संस्थालार्इ प्रोत्साहित गर्ने बताइएको छ ।

समझदारी पत्र हस्ताक्षर समारोहमा मुख्यमन्त्री कार्कीले समझदारीले प्रदेशमा रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बताए । अब प्रदेश नयाँ समझदारीका साथ अघि बढ्दा विकास र रोजगारीमा सहयोग पुग्ने उनको दावी छ ।

प्रमुख सचिब केदारनाथ शर्माले समझदारीले नागरिकका अपेक्षा पुरा गर्न सहयोग गर्ने बताउँदै आगामी दिनमा प्रदेशमा नयाँ काम गर्न सहज हुने बताए । कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरेले कोशी प्रदेशमा युवा रोजगार ,घरेलु उद्योग विकास र उद्यमशिलता विस्तारलार्इ समझदारीले नयाँ ढोका खोलेको बताए ।

कार्यक्रममा मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा.मोहन सुबेदीले कोशी प्रदेशमा करिब एक हजार रोजगारी सिर्जना गर्ने गरि यो समझदारी गरिएको जानकारी दिए । चाँडै नै रोजगारिका लागि मन्त्रालय तहमा समझदारी गरि अघि बढ्ने उनले बताए । प्रदेशमा १२ कक्षा उत्तीर्ण करिब एक हजार युवालार्इ तालिम दिइ अनलाइन रोजगारी दिने प्रदेश सरकारको तयारी छ ।

बिहिबार, १७ साउन, २०८१, दिउँसोको ०१:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर