सेयर कारोबारमा रेकर्ड ब्रेक, अहिलेसम्मकै सबैभन्दा ठूलो कारोबार

विराटनगर । धितोपत्र दोस्रो बजारमा हालसम्मकै उच्च मूल्यको कारोबार भएर ऐतिहासिक रेकर्ड कायम भएको छ ।

बुधबार २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँ मूल्य बराबरको सेयर कारोबार भएको छ ।

यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो । आजको कारोबारले त्यो रेकर्डलाई पनि ब्रेक गरेको छ । यस दिन ३३२ वटा धितोपत्रको पाँच करोड नौ लाख ३८ हजार ५९७ कित्ता सेयर किनबेच भएको छ ।

बुधबार नेप्से सुचक ६४.२६ अंकले बढेर २७६०.९१ विन्दुमा पुगेको छ । नेप्से २९ महिनाकै उच्च विन्दुमा आइपुगेको छ । यसअघि नेप्से २०७८ माघ २७ गते २८०१ विन्दुमा थियो ।

यस दिन १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको सेयर मूल्य घट्दा ७ कम्पनीको सेयर मूल्य स्थिर छ । बुधबार एक दर्जनभन्दा बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने सबै समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा सबैभन्दा बढी तेजी आएको छ ।

लामो समयसम्म उठ्नै नसकेर थला पारेको सेयर बजार केही समययता बेस्सरी बढ्न थालेको छ । सबै समूहका सूचक र सेयर मूल्य बढेका छन् । नेप्से सूचक पनि बिहीबार इन्ट्रा–डे आधार २८ सय नजिक पुगेको थियो ।

बुधबार युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया, कुथेली बुखरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ्ग कम्पनी र प्रोग्रेशिभ फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसबाहेक अन्य ११ स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ । यस दिन आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.५२ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ८४ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, माउन्टेन इनर्जीको ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको ४० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.०८ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक ६.८९ प्रतिशत बढेको छ भने विकास बैंक र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।

बुधबार, १६ साउन, २०८१, दिउँसोको ०३:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर