क्यासिनोमाथि खै निगरानी ?

 सम्पादकीय

सुरक्षा निकायको कमजोरी वा मिलेमतोमा कोशी प्रदेशमा एकपछि अर्को गैरकानुनी काम बढिरहेको देखिएको छ । पछिल्लो समयमा तस्करीका घटना, मिटरब्याजबाट पीडितहरुको गुनासो, जुवा र क्यासिनोमा नेपाली युवाहरुको खुलेआम सहभागिताले सुरक्षा संयन्त्रमाथि प्रश्न खडा गरेको छ । मोरङका सुरक्षा निकायका प्रमुखहरुले तस्करसँग मासिक रकम असुलेर तस्करीलाई प्रश्रय दिइरहेको आरोप एकअर्कालाई लगाएर माथिल्लो निकायमा उजुरी गरेको घटना सेलाएको छैन । पछिल्लो समयमा ‘मिलेर अगाडि बढ्ने’ सहमति सुरक्षा निकायका प्रमुखहरुले गरेका छन् । तर, मिल्ने तस्करीको नियन्त्रण गर्नको लागि हो कि तस्करीको गर्नेहरुसँग सहकार्य गर्नको लागि हो भन्ने प्रश्न नागरिक तहबाट उठिरहेको छ । किनकि तस्करी नियन्त्रणमा रहेको सुरक्षा प्रमुखहरुको दावीलाई न त सुरक्षा निकायका तल्लो तहका अधिकृतहरुले स्वीकार गरेका छन् न त भन्सार कार्यालयले त्यो स्वीकार गरेको छ । तस्करीका सामान बरामदीमा आएको कमी र भन्सार राजश्वमा पनि आएकोे कमीले तस्करी नियन्त्रणमा छ भन्ने दावीलाई खण्डन गरिरहेको छ ।

तस्करीको आरोपमा मुछिएको सुरक्षा निकायले पछिल्लो समयमा विदेशी नागरिकले मात्र खेल्न पाउने क्यासिनोमा नेपालीहरु सहज रुपमा प्रवेश गरेर आफ्नो सम्पत्ती डुबाइरहेको अवस्थामा नजरअन्दाज गरेको देखिएको छ । विराटनगरमा रहेका दुई क्यासिनो र झापामा तीन क्यासिनो कोशी प्रदेशमा सञ्चालनमा छन् । ती क्यासिनोमा नेपालीहरु प्रवेश गरेको क्यासिनो सञ्चालकले पनि स्वीकार गरेका छन् । तर, उनीहरु आफ्नो क्यासिनोमा नभई अर्को क्यासिनोनामा ‘नेपालीहरु प्रवेश गर्ने गरेको सुनेको’ बताउँछन् । विराटनगरस्थित होटल बिगमा सञ्चालित च्याम्पियन जोन प्रा.लि. (क्यासिनो) का सञ्चालक रामकृष्ण गौतमले झापामा रहेका क्यासिनामो विराटनगरका मारवाडी समुदायका युवाहरु जाने गरेको सुनेको बताएका छन् । तर, आफ्नो क्यासिनोमा नेपाली प्रवेश नपाउने उनको दावी छ । जबकि गत पुसमा त्यहि क्यासिनामा विराटनगरका दुई युवा समूहबीच विवाद भएर खुकुरी हानाहानको अवस्था बनेको थियो । मा गत जेठमा विराटनगरका एक व्यापारी प्रवेश गरे । उनी क्यासिनो खेल्न गएका थिएनन् । बरु त्यहाँको रमझम हेर्न आफ्ना केहि साथीहरूसँगै गएका थिए । विराटनगर–११ का ३१ वर्षीय रोनाल कँडेलमाथि झापाको घैलाडुब्बा घर भइ विराटनगर–८ मा बस्दै आएका ३८ वर्षीय विक्रम थपलियाले क्यासिनो परिसरमै खुकुरी प्रहार गरेको घटनाले क्यासिनोभित्र नेपालीहरुको प्रवेशलाई पुष्टि गरेको थियो । तर, त्यसबारे क्यासिनोमाथि कुनै कार्वाही र अनुसन्धान भएन ।

पुसको घटना मात्र नभएर अहिले पनि नेपालीहरुले क्यासिनोमा सहज प्रवेश पाइरहेको क्यासिनो प्रवेश गर्नेहरुले नै बताएका छन् । क्यासिनोका ‘नियमित ग्राहक’ सँग पुग्नेहरुले परिचयपत्र पनि नदेखाई त्यहाँ प्रवेश पाउने उनीहरु बताउँछन् । जबकि कानुन अनुसार क्यासिनोमा नेपालीले प्रवेश नै पाउँदैनन् । विदेशीले पनि आफ्नो परिचयपत्रको फोटोकपी बुझाएर मात्र प्रवेश पाउने कानुन छन् । तर, त्यसको उल्लंघन गर्दै नेपाली युवा विद्यार्थीहरु पनि क्यासिनोमा गइरहेको तथ्यहरुले देखाएका छन् । त्यसबारे सुरक्षा निकायका प्रमुखहरुलाई जानकारी दिँदा त्यसको अनुसन्धान गर्नुको साटो क्यासिनो सञ्चालकलाई नै प्रहरीले अनुसन्धान गर्ने पूर्वजानकारी दिएको पाइएको छ । यो विषय गम्भीर छ । क्यासिनोमा जुन दिन प्रहरी पुग्छ, त्यसको जानकारी सञ्चालकलाई अगाडि नै हुने घटनाले मिलेमतोको आशंका बढेको छ । यसमा गम्भीर अनुसन्धानको खाँचो छ । क्यासिनोमा गएर विराटनगरका धेरै युवाले आफ्नो सम्पत्ती डुबाएको बताइन्छ । तर, कोहि पनि गैरकानुनी काम गरेको कारण खुलेर त्यसबारे बोल्न तयार छैनन् । युवाहरुको बर्बादीलाई रोक्न कानुनको प्रभाबकारी कार्यान्वयन हुनुपर्छ । गैरकानुनी काम गर्नेमाथि कार्वाहीको दायरा फराकिलो बनाउनुपर्छ । सुरक्षा निकायले कुनै सम्झौता वा लालचविना सक्रिय गरेको विश्वास नागरिकलाई तथ्य र कामबाट दिन सक्नुपर्छ ।

मङ्गलबार, १५ साउन, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर