विराटनगरका क्यासिनोमा नेपाली खेलाडी !

‘प्लस टु पढ्दै गरेका विद्यार्थी पनि क्यासिनो पुग्छन् । प्रहरीकै मिलेमतो भएको दावी’

विराटनगर । विराटनगरस्थित होटल बिगमा सञ्चालित च्याम्पियन जोन प्रा.लि. (क्यासिनो)मा गत जेठमा विराटनगरका एक व्यापारी प्रवेश गरे । उनी क्यासिनो खेल्न गएका थिएनन् । बरु त्यहाँको रमझम हेर्न आफ्ना केहि साथीहरूसँगै गएका थिए ।

नेपाली प्रवेश नपाउने भनिएको क्यासिनामा आफूले सहजै प्रवेश पाउने उनले विश्वास नै गरेका थिएनन् । तर, उनलाई क्यासिनोका ‘नियमित ग्राहक’ रहेका साथीहरुको मद्दतमा सहजै प्रवेश मिल्यो । भित्र पुगेपछि उनी छक्क परे । किनकि त्यहाँ विदेशीभन्दा धेरै नेपाली थिए । प्लस टु पढ्ने विद्यार्थीहरूसमेत त्यहाँ क्यासिनो खेलिरहेको उनले देखे । अर्धनग्न नृत्य र मदिरामा रमाइरहेका क्यासिनोका पारखीहरु आ–आफ्नै धुनमा थिए ।

क्यासिनोमा नेपाली नागरिकले प्रवेश पाउँदैनन् । प्रवेश गर्नेले विदेशी भएको परिचयपत्र खुलाउनुपर्ने व्यवस्था छ । तर, न उनीसँग र उनका साथीसँग, कसैसँग पनि क्यासिनो व्यवस्थापकले परिचयपत्र मागेनन् । ‘चिनजान भएका व्यक्तिहरु पुग्दा चेकजाँच गर्नेले परिचय पत्र नै नमाग्ने रहेछ’ उनले भने, ‘त्यसै म आफैं पनि पटक–पटक साथीहरुसँग रमाईलो गर्न क्यासिनो पुगेँ र नेपाली विद्यार्थीहरु पनि बर्बाद हुँदै गरेको देखें ।’
क्यासिनोमा नेपालीले सहजै प्रवेश पाएको आफ्नै आँखाले देखेपछि उनले त्यसबारे सुरक्षा निकायलाई जानकारी दिए । जिल्लाको प्रहरीले कुनै वास्ता नगरेपछि उनले कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङलाई टेलिफोन गरेर भने, ‘क्यासिनोमा नेपाली प्रवेश गरिरहेका छन्, विद्यार्थीसमेत छन् । यो त नियम विपरित भएन र सर ? यसलाई रोक्नु पर्यो ।’ जवाफमा डिआइजी खापुङले आफूले त्यसबारेमा बुझ्ने बताए ।
क्यासिनोमा नेपालीको प्रवेश रहेको जानकारी प्रहरीलाई भएपछि त्यहाँ प्रहरी पुग्ने र छापा मार्ने उनको विश्वास थियो । त्यसको जानकारी लिन सोही दिन बेलुका ८ बजेतिर उनी होटल बिगको सोही क्यासिनोमा छिर्नखोजे । अन्य समयमा सहजै छिर्न पाउने उनलाई सेक्युरिटी गार्डले रोके । सेक्युरिटी गार्डले भने, ‘आज छिर्न रोक्नु भन्ने आदेश छ । प्रहरीले छापा मार्ने कुरा आएको छ ।’

गार्डको कुरा सुनेर उनी चकित परे । नभन्दै रातको १० बजेतिर प्रहरीको टोली आयो र क्यासिनोमा पस्यो । सो दिन क्यासिनोमा कोहि नेपाली थिएनन् । डिआइजी खापुङलाई मात्रै भनेर प्रहरीले छापा मार्ने कुरा सेक्युरिटी गार्डलाई सुरुमै कसरी थाहा भयो भन्ने प्रश्न अहिले पनि उनको मनमा छ । प्रश्नको उत्तर पनि उनले खोजेका छन् । ‘क्यासिनोनामा नेपाली छिराउन प्रहरीकै मिलेमतो हुने रहेछ’ उनले भने, ‘प्रहरीको मिलेमतो हुन्थेन भने कसरी त्यहि दिन क्यासिनोमा कडाई भयो र त्यहि दिन प्रहरी पुग्यो ?’

ती व्यपारीका अनुसार सो घटनाक्रमपछि डिआइजी खापुङले उल्टै उनलाई झपारे । ‘यो त सेटिङ भएन र ?’ भन्ने प्रश्न गर्दा ‘कुरै नबुझी व्यवसायीलाई निरुत्साहित गर्दै किन हिँड्नुहुन्छ ?’ भनेर डिआईजीले भनेको उनी बताउँछन् ।विराटनगरमा बिग होटलमा च्याम्पियन जोन प्रा.लि. र रत्ना होटलमा सम्राट क्यासिनो प्रा.लि. सञ्चालनमा छन् । समयमा नविकरण नभएको कारण रत्ना होटलको क्यासिनो भने केहि समयदेखि बन्द छ ।

क्यासिनोमा नेपाली प्रवेश गराएकोबारे दुबै क्यासिनोका सञ्चालकहरुको एउटै भनाइ छ, ‘आधार कार्ड वा भारतीय परिचयपत्र देखाएपछि मात्रै हामी मान्छे छिराउँछौं ।’ तर, विराटनगरका मारवाडी समुदायका अगुवाहरु यो कुरा अस्वीकार गर्छन् । ‘प्रहरीले कडाई नगरिदिँदा मारवाडी समुदायका युवा व्यवसायी र मधेशी समुदायका व्यापारिक घरानाका युवाहरु क्यासिनोको लतले डुबिसके,’ विराटगरकै एक मारवाडी समुदायका अगुवाले भने, ‘सार्वजनिक ढंगले क्यासिनोले डुबायो भन्नसक्ने अवस्था पनि छैन । नभन्दा पनि क्यासिनोमा गएर पैसा सकियो । व्यापार चौपट भयो ।’

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना औद्योगिक र व्यवसायिक घरानाकाका कतिपय युवाहरु क्यासिनामा नियमित जाने गरेको आफूले सुनेको बताउँछन् । ‘मसँग पनि कतिपय गुनासो आएको छ । यसलाई कसरी रोक्ने चुनौति बनेको छ,’ सुरानाले भने, ‘मैले जाने सुनेकै मान्छेहरु पनि क्यासिनोमा डुबेको देखेको छु ।’

प्रहरीकै कतिपय अधिकारीहरुले दिएको जानकारी अनुसार क्यासिनोमा निर्वाध रुपमा नेपाली छिराइरहेको अवस्था छ । ‘मेसिनबाट खेलाउनु पर्ने क्यासिनो तास र कौडाको रुपमा हातैले खेलाइरहेका अवस्था पनि छ’ स्रोतले भन्यो, ‘क्यासिनो नियमावलीमा अटोमेटिक मेसिनमा मात्रै खेलाउन पाइने नियम छ ।’ प्रहरी स्रोत त ठोकुवा गरेरै भन्छ, ‘प्रहरी प्रमुखलाई क्यासिनो सञ्चालकले मासिक रकम बुझाउने गरेकोले प्रहरीले पनि वेवास्ता गरेको छ ।’

होटल बिगमा रहेको च्याम्पियन क्यासिनो सञलक रामकृष्ण गौतमले आफूहरुको क्यासिनोमा नेपाली नआएको दावी गर्छन् । ‘नेपाली हामी छिराउँदैनौं । आधार कार्डवाला मात्रै छिराउँछौं,’ उनले भने । विराटनगरका मारवाडी समुदायका युवाहरुले क्यासिनो खेल्ने गरेको भने उनले स्वीकार गरेका छन् ।

‘यहाँ खेल्दा गाह्रो हुन्छ रे । झापामा कसैले पनि चिन्दैन रे ! त्यतै गएर खेल्छन् भन्ने सुनेको छु’ उनले भने, ‘हाम्रोमा आउँदैनन्, झापा र पानी ट्याङ्कीतिर जान्छन् ।’ विराटनगरका युवा क्यासिनो खेल्न झापा जान्छन् भने झापाका चै तपाईकोमा आउँछन् त ? भन्ने प्रश्नमा उनले भने, ‘हैन, हैन ! हाम्रोमा नेपाली आउँदैनन् ।’

होटल रत्नाको सम्राट क्यासिनोका सञ्चालक दिपक गुरुङ पनि आफ्नो क्यासिनोमा नेपालीलाई प्रवेश नदिएको दावी गर्छन् । ‘सबैले कार्ड देखाएर आउँछन् । नक्कली हो कि सक्कली हो छानविन गर्न हामीले सक्ने कुरा भएन । तर, भारतीय परिचयपत्रबिना हामी प्रवेश दिँदैनौं ।’
प्रहरी नेतृत्वलाई मासिक रकम बुझाएर क्यासिनोमा नेपाली छिराएको आरोप पनि गुरुङले अस्वीकार गरे । ‘ठूलो राजश्व तिरेर बैधानिक रुपमा क्यासिनो चलाएका छौं’ उनले भने, ‘नाफा पनि गर्न सकिएको छैन, अरुलाई कसरी पैसा बुझाउनु ?’

क्यासिनोमा नेपाली प्रवेशबारे कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी चन्द्रकुबेर खापुङसँग बुझ्दा सुरुमा आफूलाई त्यस्तो जानकारी नआएको बताए । ‘मलाई कसैले क्यासिनोमा नेपाली प्रवेश गरेको जानकारी दिएको छैन’ उनले भने, ‘त्यसबारे म थप बुझ्छु ।’सुरुमा क्यासिनोमा नेपाली प्रवेशबारे जानकारी नआएको बताएका डिआईजी खापुङले कुराकानीकै क्रममा मारवाडी समुदायका युवाहरु क्यासिनो जाने गरेको गुनासो आएको बताए । ‘मारवाडी समुदायका मानिसहरुले आफ्ना छोराछोरी गएको भनेर गुनासो आएको छ,’ उनले भने, ‘हामीले कडाइ गरिरहेका छौं । थप बुझ्छौं ।’

प्रहरीले नै क्यासिनोनामा नेपाली प्रवेश गराएवापत मासिक पैसा लिइरहेको आरोपबारे डिआइजी खापुङले त्यस्तो भए नभएको आफूले बुझ्ने बताए । ‘तपाईलाई सूचना आएको होला । त्यस विषयमा म बुझ्छु, । मेरो त्यसमा कुनै संलग्नता छैन’ उनले भने ।

प्रहरीले र सञ्चालकले क्यासिनोमा नेपाली प्रवेश नभएको दावी गरेपनि गत पुस २८ गते क्यासिनोमा विराटनगरका दुई युवा समूहबीच खुकुरी हानाहान भएको थियो । क्यासिनोमा जुवा खेल्ने क्रममा भएको विवादपछि विराटनगर–११ का ३१ वर्षीय रोनाल कँडेलमाथि झापाको घैलाडुब्बा घर भइ विराटनगर–८ मा बस्दै आएका ३८ वर्षीय विक्रम थपलियाले खुकुरी प्रहार गरेका थिए । घाइते कँडेलको टाउकोमा १२ र कानमा ५ टाँका लगाउनु परेको थियो ।

रत्ना होटलमा रहेको सम्राट क्यासिनोमा जुवा खेल्ने क्रममा विवाद भएपछि बाउन्सरले उनीहरूलाई बाहिर निकालेका थिए । बाहिर निकाल्नसाथ क्यासिनो परिसरमै खुकुरी र हेल्मेट हानाहान भएको थियो । क्यासिनोभित्र भएको विवादपछि उत्पन्न घटनामा प्रहरीले थपलियालाई पक्राउ गरेको भएपनि क्यासिनो सञ्चालकलाई कुनै कार्वाही नै चलाएन । नेपाली युवालाई प्रवेश दिएर जुवा खेलाएको आरोपमा क्यासिनोका सञ्चालकविरुद्ध पनि जुवा ऐनअन्तर्गतको मुद्दा चल्ने आधार सो घटनामा थियो ।

क्यासिनो सञ्चालन नियमावली, २०७० अनुसार क्यासिनो सञ्चालन गर्न इजाजतपत्र लिन चाहने कम्पनीले निवेदन दस्तुरवापत १० लाख रुपैयाँ बुझाउनुपर्छ भने आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा त्यस्तो क्यासिनो कम्पनीले ५ लाख रुपैयाँसहित विभागमा निवेदन दिनुपर्छ । इजाजतपत्र दस्तुरका लागि भने ठुला क्यासिनोका लागि २ करोड रुपैयाँ र साना क्यासिनोका लागि एक करोड रुपैयाँ लाग्ने व्यवस्था छ ।

सोमबार, १४ साउन, २०८१, बिहानको ०८:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर