विराटनगर । नेप्सेमा फेरि दोस्रो सकारात्मक सर्किट ब्रेकर लागेको छ । नेप्से ५ प्रतिशतले बढेपछि फेरि दोस्रो सर्किट लागेको हो ।
मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन आइतबार नेप्से १२९.०७ अंकले बढेर २६९७.२१ विन्दुमा पुगेको छ ।
यसअघि बराज खुलेको पहिलो डेढ मिनेटमै सर्किट ब्रेकर लागेर कारोबार २० मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि कारोबार खुलेको लगत्तै पुनः नेप्सेमा १ प्रतिशत बृद्धि भएपछि कारोबार बन्द भएको हो । दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।
अब बजार १२ बजेर २ मिनेट २२ सेकेन्डपछि खुल्नेछ । आज कारोबार भएको अबधिमा ५२ करोड ४९ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर बजारका लागि लचिलो व्यवस्था गरेसँगै बजारमा सकारात्मक उत्साह देखिएको हो । मौद्रिक नीतिमार्फत बैंकले संस्थागत लगानीकर्ताका लागि २० करोड रुपैयाँको सीमा खारेज गरेको छ भने बैंकहरुको मुनाफा बृद्धि हुने नीति लिएको छ । जसको प्रभाब शेयर बजारमा परेको हो ।