विराटनगर । मिटरब्याजमा लगानी गर्ने मोरङ कटहरी गाउँपालिका २ घर भई हाल विराटनगर ७ बस्ने ५३ वर्षीय सञ्जयकुमार करवाले छोटो समयमा करडौं रूपैयाँ सम्पत्ती आर्जन गरेका छन् । छोटो समयमा करुवाले अस्वभााभिक रूपमासम्पत्ति आर्जन गरेको देखिएको हो ।
लामो समयदेखि मिटरब्याजको धन्दामा रहेका करवाको विराटनगर महानगरपालिकाभित्र मात्रै १३ कित्ता जग्गा रहेको पाइएको छ । उनको कटहरी र विराटनगरमा घर पनि रहेको छ ।
करवाको नाममा मोरङ जिल्लाभरी २८ कित्तामा ३ बिघा १८ कठ्ठा १६.३६ धुर जग्गा देखिएको छ । उक्त जग्गा विराटनगर, कटहरी, सुनवर्षी नगरपालिकाभित्र छ । सो जग्गाको मूल्य करडौं पर्ने देखिन्छ ।
मोरङ सुनवर्षी नगरपालिका–४ का राजेन्द्र बहरदार र रामकाजी दासको २ बिघा जग्गा करुवाले आफ्नो नाममा ल्याएका छन् । घर व्यवहार मिलाउन राजेन्द्र र रामकाजीले २०६८ सालमा करवाको नाममा २ विघा जग्गा पास गरिदिए ४ लाख १० हजार रुपैयाँ ऋण लिएका थिए ।तीन रुपैयाँ ब्याजले लिएको ऋणमा उनीहरुले २०७३ सालसम्ममा करवालाई ३२ लाख रुपैयाँ बुझाए । तर, करुवाले अझै ३६ लाख दिएमात्रै जग्गा फिर्ता गरिदिने बताउँदै आएको पीडित राजेन्द्र बताउँछन् ।
राजेन्द्रकीश्रीमति रीनाकुमारी बहरदारको नाममा रहेको सुनवर्षी नगरपालिका ४ को साविक किता नं. ६५२, ६३८, ६४२, ६७३, ६४८ र विराटनगर ८ मा रामकाजी दासको श्रीमति नुतनकुमारी दासको नाममा रहेको ३६०९ कित्ता नम्बरको २ बिघा जग्गा करुवाले कब्जा गरेका छन् । ‘४ लाखको ब्याज र सावा गरेर ३६ लाखभन्दा बढी रकम करुवालाई बुझाइसक्यौंं’ राजेन्द्रले भने,‘अझै ३६ लाख दिएपछि मात्रै जग्गा फिर्ता दिन्छु भन्दै आएका छन् ।’राजेन्द्रले जग्गा फिर्ताको लागि धेरै ठाउँमा गएर हारगुहार गरे । तर, कतैबाट सुनवाइ भएको छैन ।
राजेन्द्र र रामकाजी त उदाहरण मात्र हुन्, करवाले मिटरब्याजमा ऋण लगानी गरेर उठिबास लगाएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा एक दर्जन बढि पीडितको उजुरी परेको छ । उजुरी प्रशासनमा बिचारधिन छ । कुनै उजुरीको सुनुवाई भएको छैन ।
करवाको मिटरब्याजको जालोमा परेर बिचल्लीमा परेका अर्का पीडित हुन्, विराटनगर–१० का ६४ वर्षीय गजेन्द्रप्रसाद साह । १४ वर्ष अगाडि लिएको २५ लाख रुपैयाँको ब्याज १ करोड १२ लाख रुपैयाँ तिरिसक्दा पनि अझै ३ करोड रुपैयाँ करवाले मागेको साह बताउँछन् । मिटरब्याजीले भनेजति पैसा नदिएपछि आफ्नो घर नै कब्जा गर्न खोजेको उनको भनाइ छ ।
करवासँग उनले विराटनगर १० मा रहेको कित्ता नं. १३३७÷६९५ को १ कठ्ठा साढे १८ धुरमा बनेको एक तले घर अनिताकुमारी साहको नाममा राजीनामा गरेर १२ असोज २०६७ मा २५ लाख रुपैयाँ लिएका थिए । ‘२५ लाखको ब्याज र सावा गरी उनले अहिलेसम्म १ करोड १२ लाख रुपैयाँ बुझाइसके’ उनले भने,‘अझै ३ करोड रुपैयाँ करुवाले माग्ने गरेको छ । जग्गा र घर अहिले अनिता कुमारीको नामबाट करुवाकै नाममा नामसारी गरिसकेको छ ।’
करुवा भने अनिताकुमारी साहसँग जग्गासहितको घर २६ लाख ११ हजार रुपैयाँ खरिद गरेको दावी गर्छन् । तीन करोड दिए घर फिर्ता गरिदिने उनले बताउँदै आएका छन् । घरमा गजेन्द्र नै बस्दै आएका छन् । तर, अहिले घर खाली गर्न उनलाई करवाले दबाब दिइरहेका छन् ।
साह आफैँ पनि जग्गा कारोबार गर्दथे । ‘ऋण तिर्दातिर्दै भएको सम्पत्ति सबै रित्तियो । तर, ऋण अझै बाँकी छ भन्न साहुले कहिल्यै छोडेनन्’ उनले भने, ‘२५ लाख ऋण लिएको हो । अहिलेसम्म १ करोड १२ लाख तिर्दासमेत ऋण चुक्ता भएन ।’ करवाले आफ्नो घरजग्गा कब्जा गर्न खोजेपछि २०७९ जेठ ५ गते जिल्ला प्रशासन कार्यालय मोरङमा करुवाविरुद्ध मिटरब्याजमा उजुरी दिएका छन् । तर, त्यसको सुनुवाइ भएको छैन ।
चलनचल्तीको ऋण भनेर लिएको रकम अहिले बल्ल आफू ‘मिटर ब्याज’को जालोमा जेलिएको थाहा पाएको साहले बताए । करवाको नाममा रहेको २८ कित्ता जग्गा मिटरब्याजबाटै आएको पीडितहरुले बताएका छन् । तर, करवाले भने आफूले सबै जग्गा खरिद गरेको भन्दै त्यसको प्रमाण रहेको बताए । नियम अनुसार चलन चल्ती अनुसार ब्याजमा ऋण दिने गरेको उनले बताएका छन् ।
अकुत सम्पत्ति आर्जन गरेको उजुरी परे प्रहरी थप अनुसन्धान गरेर सम्पत्ती सुद्धिकरण विभागलाई पत्रचार गर्न सकिने मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिएका छन् । तर, करवा विरुद्ध त्यस्तो उजुरी नआएको उनले बताए । ‘उजुरी आएको अवस्थामा प्रमाण संकलन गरेर थप कारवाहीको लागि सम्पत्ती सुद्धिकरण विभागमा पठाउन सकिन्छ,’ उनले भने ।