लोड हुँदैछ...

मेनु

जानकीदेवी मृत्यु प्रकरण

मृत्यु भएको ४४ दिनमा पनि मुद्दा दर्ता भएन, मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयको आनाकानी

मृत्यु भएको ४४ दिनमा पनि मुद्दा दर्ता भएन, मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयको आनाकानी

विराटनगर । विराटनगर–४ इक्राही घर भएकी जानकीदेवी मण्डलको रहस्यम मृत्यु प्रकरणमा प्रहरीले कमजोर मिसिल बनाएर सरकारी वकिलको कार्यालयलाई दिएको पाइएको छ । प्रहरीले अभियुक्त भनिएका जानकीदेवीका श्रीमान् दिलिप मण्डलसँग मिलेमतो गरेर मिसिल कमजोर बनाएको मृतक जानकीका आफन्तको दाबी छ । उता, जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सोही मिसिलको आधारमा मुद्दा दर्ता गर्न तदारुकता भने देखाएको छैन ।

प्रहरीले अनुसन्धानको कागजात सरकारी वकिलको कार्यालयलाई बुझाइसकेको बताउने र जिल्ला सरकारी वकिलको कार्यालय मुद्दा नै नचलाउँदा पीडितहरु सशङ्कीत बनेका छन् । सरकारी वकिलको कार्यालयले यसअघि नै सो विषयमा मुद्दै नचलाउने निर्णय गरेको थियो । तर, उच्च सरकारी वकिलको कार्यालयले जिल्लाको सो निर्णय बदर गर्दै मुद्दा चलाउन आदेश गरेपनि जिल्ला वकिलको कार्यालयले अझै आनाकानी गरिरहेको छ ।

सोही कारण बुधबार जानकीदेवी मण्डलको रहस्यम मृत्यु प्रकरणमा अदालतमा मुद्दा दर्ता गराउन माग राख्दै पीडित पक्षले जिल्ला सरकारी वकिलको कार्यालय अगाडि धर्ना दिएका छन् । सुनसरी छिटाहा माइती घर भइ विराटनगर–४ इक्राही घर भएकी जानकी मण्डलको २९ जेठमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो । मृतकका माइती पक्षले भने श्रीमान् दिलिप मण्डलले हत्या गरेर आत्महत्या देखाउन शव झुण्डाएको आरोप लगाएका छन् । दिलिप र जानकीको १८ वर्ष अगाडि मागि विवाह भएको थियो । विवाह गरेको दुई वर्षमा उनीहरुका दुई छोरा जेठो १६ वर्षीय रुपेश मण्डल र अर्का ८ वर्षका छन् ।

दिपिलले उनकी प्रेमिका र प्रेमिकाको आमासँग मिलेर जानकीलाई मारेको आफन्तको आरोप छ । उनका छोरा रुपेश पनि बुबाले आमालाई मारेको दाबी गर्छन् । मृतककी माइती पक्षले मण्डलले हत्या गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा ‘आत्महत्या दुरूत्साहन’ मुद्दामा उजुरी दिएका थिए । जानकीको मृत्यु भएको ४४ दिन वितिसक्दा पनि उक्त मुद्दा अदालतमा दर्ता नै भएको छैन ।

उच्च सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन भनेपछि जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग अदालत लैजाने तयारी गरेको छ । जिल्लाले उच्चले मुद्दा दर्ता गर्ने आदेश दिएपछि मात्रै मुद्दा दर्ता गर्ने भनेर आलटाल गरिरहेको छ । पीडित पक्षले भने चाँडो भन्दा चाँडो अभियोग अदालत लैजान माग राखेका छन् । ‘यसअघि पनि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गर्यो । उच्चले बदर गरेर मुद्दा चलाउने निर्णय गरेको छ । जिल्ला सरकारी वकिलप्रति हामीलाई शङ्का छ । त्यही भएर अभियोग अदालत बुझाउन हामीले माग राखेका हौं,’ मृतकका आफन्त सन्तोष मण्डलले भने, ‘जे हुन्छ अदालतबाट न्याय निरुपण हुनेछ । त्यसैले चाँडो अभियोग लैजान हामी माग गर्दछौं ।’

जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता सुवासकुमार भट्टराईले आइतबारसम्म अभियोग अदालतमा दर्ता गर्ने बताए । ‘आत्महत्या दुरुत्साहन मुद्दा हेर्ने जिल्ला सहायक न्यायाधीवक्ता विदामा हुनुुहुन्छ । उहाँ बिहीबारसम्म कार्यालयमा हाजिर हुनुहुहुन्छ । त्यसपछि अभियोजन तयार गरेर आइतबारसम्म अदालतमा अभियोग लैजाने छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।