सौर्य एयरलाइन्स दुर्घटना : अध्यक्ष पोखरेलका भाञ्जासहित विराटनगरका तीनको मृत्यु

विराटनगर । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइनसको जहाज दुर्घटनामा परेर एयरलाईन्सका अध्यक्ष दिपक पोखरेका भाञ्जाको पनि निधन भएको छ ।

दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये आश्विन निरौला झापाको भद्रपुर घर भएका अध्यक्ष पोखरेलका भाञ्जा हुन् । उनी एरोनोटिकल इन्जिनियर थिए । उनको घर विराटनगर हो । उनका बुबा र आमा अस्टे«लियामा रहेको बताइएको छ ।

जहाजलाई मर्मतका लागि पोखरा लैजाने क्रममा काठमाडौंबाट उड्ने वित्तिकै जहाज विहान ११ बजेर ११ मिनटमा दुर्घटना भएको थियो । दुर्घटनामा ज्यान गुमाउने जहाजका को–पाइलट सुशान्त कटुवाल र चिफ अफ सेफ्टी सागरराज आचार्य पनि विराटनगरका बासिन्दा भएको एयरलाइन्सले जनाएको छ ।

को–पाइलट कटुवालको घर विराटनगर ४, निरौलाको विराटनगर १ र आचार्यको विराटनगर ८ भएको बुझिएको छ । उनीहरुको विस्तृत विवरण एयरलाइन्सले दिएको छैन ।

दुर्घटना भएको जहाजमा १९ जना सवार रहेकोमा ३७ वर्षीय पाइलट मनिषरत्न शाक्यको भने उद्धार गरिएको छ । उनको अहिले उपचार भइहरेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको जहाज टेकअप लिए लगत्तै कोल्टिएर भुईमा बजारिएपछि आगलागी भएको थियो । दुर्घटनापछि जहाजमा ककपिटबाहेकको पछाडिको भाग करिब २ सय मिटर पर उछिट्टिएको थियो ।

बुधबार, ०९ साउन, २०८१, दिउँसोको ०३:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर