दुर्घटनाग्रस्त विमानका पाइलटको जिवितै उद्धार : अन्य सबैको निधन भएको अनुमान

काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलटको उद्दार गरिएको छ । जहाजमा रहेका १९ जनामध्ये अन्य भने जिवित रहने संभावना न्युन रहेको छ ।

उद्दार टोलीले क्याप्टेन मनिष शाक्यको जिवितै उद्धार गरेको छ । उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले क्याप्टेन शाक्यको उद्धार गरी उपचारार्थ केएमसी अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन् ।

५० सिट क्षमताको विमानमा रहेकाहरु सौर्य एयरलाइन्सकै कर्मचारी रहेको पाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौँबाट पोखराका लागि प्राविधिक मर्मतको लागि उडान गर्ने वित्तिकै दुर्घटनामा परेको हो ।

अहिले मृतक यात्रुहरुको शव दुर्घटनास्थलबाट धमाधम निकाल्ने काम भइरहेको छ । कति शव भेटियो भन्ने आधिकारिक जानकारी आइसकेको छैन ।

विहान ११ बजे एयरलाइन्सको एएन एएमपी सीआरजे २०० जहाज ०२ रनवेमा उडेलगत्तै दुर्घटनामा परेको हो । जहाजमा १९ जना रहेको प्रारम्भिक जानकारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

सौर्य एयरलाइन्सको बोम्बाडियर सीआरजे २०० जहाज ४१ हजार फिट उचाईसम्म उडान भर्नसक्ने बताइएको छ । सौर्य एयरलाइन्सका अनुसार पोखरामा मेन्टेनेन्सको कामका लागि कर्मचारीहरु लैजान लागिएको थियो । अधिकांश इन्जिनियर र प्राविधिकहरु थिए ।

बुधबार, ०९ साउन, २०८१, दिउँसोको १२:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर