विराटगनर । विराटनगर–३ मोर्डन एरा स्कुल अगाडिबाट आइतबार दिउँसो ३ बजेको समय १४ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको खबर फैलियो । तर साँझ अबेरसम्म पनि लुटपाट भएको हो वा होइन भन्ने विषय प्रहरीले यकिन गर्न सकेको छैन । प्रहरीले प्रारम्भिक सूचनाका आधारमा अनुसन्धान अगाडि बढाएको छअनुसन्धान अगाडि बढाएको छ तर लुटपाट नै भएको हो भन्नेमा यकिन भने गरिसकेको छैन ।
विराटनगरका निमार्ण व्यवसायी विवेक कर्णले आफ्नो कार्यालयबाट आइतबार दिउँसो ३ बजे रकम लुटिएको जानकारी गराएका थिए । लुटपाटको खबर सहरमा फैलिसक्दा प्रहरी भने बेखबर नै थियो । मिडियामा प्रकाशित सूचनाका आधारमा अनुसन्धानमा खटिएको प्रहरीले सिसि क्यामेरा फुटेज हेरेर अनुसन्धानलाई अगाडि बढाएको छ तर घटनाको प्रकृतिका बारेमा यकिन जानकारी प्राप्त गर्न बाँकी रहेको बताइरहेको छ ।
कार्यालयबाट १४ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको घटना सुरुमा मिडियालाई जानकारी गराइएको र उनको दाबीलाई आधार मान्दै संचारमाध्यमहरुले पनि समाचार सम्प्रेसण गरेका थिए । मिडियामार्फत लुटपाटको घटना जानकारी पाएपछि मोरङ प्रहरीले अनुसन्धान अगाडि बढाएको र अबेरसम्म घटना शंकास्पद देखिएको एक प्रहरी अधिकृतले बताए ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले लुटपाट भएको खबर रकम लुटिएको पक्षले प्रहरीमा जानकारी नगराएको र मिडियामार्फत जानकारी पाएको बताए । ‘रकम लुटिएको भनिएको छ । हामीले पनि मिडियाबाटै थाहा पाएका हौं । मैले आफैँले फोन गरेर सोधीखोजी गरेपछि रकम लुटिएको भनिएका व्यक्ति सम्पर्कमा आएका छन्,’ प्रवक्ता बस्नेतले भने, ‘अहिले अनुसन्धानको काम भइरहेको छ । वरिपरिको सिसि टिभी फुटेज हेर्ने काम भइरहेको छ । बैंकदेखि रकम लुटपाट भएको ठाउँसम्मको सिसिटिभी फुटेज हेर्नका लागि टोली परिचालन गरिएको छ ।’ अनुसन्धानपछि थप विषय खुल्ने उनले बताए । ‘गहन रुपमा हामीले अनुसन्धान थालेका छौ,’ उनले भने ।
कर्णका अनुसार मोटसाइकलमा आएका दुई जना लुटेराले ब्यागमा राखिएको रकम लिएर फरार भएका थिए । उद्योगमा कामदार आपूर्ति गर्ने पाथिभरा म्यानपावर सप्लायर्सबाट रकम लुटपाट भएको उनले बताए । उनी उक्त कम्पनीका संचालक हुन् । ‘कामदारहरुलाई भुक्तानी दिनका लागि विराटनगरको कंचनबारीस्थित एभरेष्ट बैंकबाट दिउँसो मेरो ज्वाइँ अमरेसकुमार कर्णले १४ लाख ४७ हजार रुपैयाँ झिकेर कार्यालयमा आउनुभएको थियो । मोटसाइकलमा आएका दुई जना मध्ये एक जना फोनमा बोल्दै भित्र आए अनि ब्यागमा राखिएको रकम लिएर फरार भए । त्यसपछि हामीले पनि लखेट्यौं । मोटरसाइकलमा बसेर लुटेरा आयल निगमतिर हुँदै फरार भए,’ कर्णले भने ।
कार्यालयमा आएका एक नकाबधारीले झोला थुतेर भागेको उनको भनाइ छ । उनले भने, ‘बैंकबाटै लुटेराले दागा धरेको अथवा चिनजानकै कसैले योजना बनाएर लुटेको हुनसक्छ ।’
मोटरसाइकलमा आएका लुटेराले नकाब लगाएर कार्यालयमा हतियार देखाइ झोला खोसेर भागेको कर्णले सुनाए । ती व्यक्ति कार्यालय नजिकैको सडकमा स्टार्ट बन्द नगरी राखिएको मोटरसाइकल चढेर भागेको उनले बताए ।
लुटपाटको घटनापछि सम्बन्धित व्यक्तिहरूले प्रहरीको सहयोग लिनुपर्नेमा त्यस्तो नगरेको पाइएको छ । प्रहरीलेसमेत यस घटनालई शंकास्पद मानेर सूक्ष्म अनुसन्धान सुरु गरेका छ ।