विराटनगर । पूर्वका तीन मुख्य राजस्व कार्यालयले गत आर्थिक वर्षको लक्ष्य भेट्टाउन नसकेको पाइएको छ । आर्थिक मन्दीका कारण विक्रीमा आएको कमी, औद्योगिक उत्पादनमा भएको ह्रास र पुँजीगत खर्चको सुस्तताको असर राजस्व संकलनमा देखिएको हो ।
पूर्वका मुख्य राजस्व कार्यालय विराटनगर, इटहरी र भद्रपुरले लक्ष्यको ८८.५, ८५ र ८४.६९ प्रतिशत राजस्व संकलन गरेका हुन् । लक्ष्यमा सबैभन्दा बढी प्रतिशत हासिल गर्ने विराटनगरले ९ अर्ब ४३ करोडका लक्ष्यमा ८ अर्ब ३५ करोड संकलन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको असुलीभन्दा ६५ करोडले र ८ प्रतिशतले बढी भएको कार्यालयले जनाएको छ । अघिल्लो आवमा कार्यालयले १० अर्ब ४ करोड ३० लाखको लक्ष्यमा ७ अर्ब ७१ करोड २४ लाख संकलन गरेर ७६ प्रतिशत मात्र प्रगति गरेको थियो ।
कार्यालयले लामो समयपछि गत आवमा अन्तःशुल्कको लक्ष्य पूरा गरेको छ । नेपाल लिकर्सले गत आवमा आक्रामक उत्पादन र मार्केटिङ गरेपछि कार्यालयको अन्तःशुल्कको असुलीमा वृद्धि भएको हो । अन्तःशुल्कको २ अर्ब ४० करोड ४२ लाखको लक्ष्यभन्दा ३३ प्रतिशतले बढी २ अर्ब ७२ करोड ७३ लाख असुली भएको छ ।
तर, भ्याट र आयकरमा भने कार्यालयले लक्ष्यको ८० र ७७ प्रतिशत मात्र प्रगति भएको देखिएको छ ।भ्याटको ३ अर्ब १५ करोड ७५ लाखको लक्ष्यमा २ अर्ब ४२ करोड ६१ लाख र आयकरको ३ अर्ब ६२ करोडको लक्ष्यमा २ अर्ब ८९ करोड असुली भएको छ ।
पूर्वको अर्को मुख्य इटहरीस्थित आन्तरिक राजस्व कार्यालयले ५ अर्ब ५१ करोड ८६ लाखका लक्ष्यमा ४ अर्ब ६९ करोड ५० लाख संकलन गरेको छ ।
कार्यालयले कुनै शीर्षकमा पनि लक्ष्य पूरा गरेको छैन र सबैभन्दा बढी रकम अन्तःशुल्कबाट संकलन गरेको छ । अन्तःशुल्कको २ अर्ब २८ करोड ८३ लाखको लक्ष्यमा १ अर्ब ८७ करोड ४४ लाख संकलन हुँदा लक्ष्यको ८२ प्रतिशत प्रगति भएको छ ।
रकममा अन्तःशुल्कको अंक बढी देखिए पनि कार्यालयले प्रतिशतमा सबैभन्दा बढी आयकर संकलन गरेको छ । आयकरतर्फ १ अर्ब ५१ करोड ८६ लाखको लक्ष्यमा १ अर्ब ४५ करोड ४६ लाख संकलन भई ९६ प्रतिशत प्रगति देखिएको छ ।त्यस्तै भ्याटतर्फ १ अर्ब ६१ करोड ११ लाखको लक्ष्यमा १ अर्ब ३० करोड ५९ लाख असुल गरेको छ ।
अर्को मुख्य कार्यालय भद्रपुरले ३ अर्ब ७९ करोडमा लक्ष्यमा ३ अर्ब २१ करोड संकलन गरेको छ ।कार्यालयले आयकरको १ अर्ब ७० करोडको लक्ष्यमा १ अर्ब ५३ करोड, भ्याटको १ अर्ब २९ करोडको लक्ष्यमा १ अर्ब ११ करोड र अन्तःशुल्कको ६५ करोडको लक्ष्यमा ४५ करोड असुली भएको जनाएको छ ।