विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अबको तीन वर्षभित्रमा कोशी प्रदेशलाई खेलकुदको गन्तब्य बनाउने बताएका छन् ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा आइतबार विराटनगरमा भएको खेलाडी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले राजनीतिक अस्थिरताका कारण खेलक्षेत्रको विकास सोचेजस्तो हुन नसकेको बताए ।
अब कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताको अन्त्य हुने भएकोले आगामी तीन वर्षभित्र कोशी प्रदेशलाई खेलकुदको गन्तब्यका रुपमा स्थापित गर्ने कार्कीले बताए । नेपालले क्रिकेटको माध्यमबाट अन्तराष्ट्रिय जगतमा पहिचान बनाउन सफल भएपनि राज्यको लगानी र ध्यान नपुग्दा फुटबल, भलीबल लगायत अन्य खेलकुदका विधाहरुमा विकास हुन नसकेको उनको भनाइ छ ।
सरकारको निकाय खेलकुद परिषद्ले खेल क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको भएपनि त्यस अनुसार उपलब्धि नभएकोले राज्यले खेलकुदका लागि बनाएको नीति, कानुन र व्यवस्थापकीय प्रबन्धहरुमा पुनःमूल्यांकन गर्नुपर्ने मुख्यमन्त्री कार्कीले बताए । खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय हुन जरुरी रहेको भएपनि त्यो हुन नसकेको उनको भनाइ छ ।
‘कोशी प्रदेशमा खेल क्षेत्रको विकासका लागि खेलकुद विकास बोर्ड गठन गरिएको छ । तर, त्यो पनि यहाँको राजनीतिक अस्थितरताको शिकार बन्यो,’ उनले भने, ‘न्यायालयको फैसलापछि अब भने खेलकुद क्षेत्रलाई पुनः संगठित गर्दै अगाडि बढ्न बाटो खुलेको छ ।’ खेलकुदको विकासका लागि बनाएका ऐन कानुनमा रहेका कमजोरीहरुलाई सच्याउँदै अब कोशी प्रदेशस्तरीय खेलकुद परिषद् निर्माण गर्ने मुख्यमन्त्री कार्कीले बताए ।
खेलकुदका लागि कोशी प्रदेशमा अन्तराष्ट्रिय मापदण्डको प्रदेशस्तरीय रंगशाला बनाउने, विराटनगरस्थित बैजनाथपुरमा रहेको क्रिकेट रंगशालालाई प्रदेश मातहतमा ल्याएर निर्माण गर्ने, इन्डोर र आउटडोर खेलका संरचनाहरु विराटनगरमा निर्माण गरिने मुख्यमन्त्री कार्कीले बताएका छन् । झापामा आदिवासी जनजाति रंगशाला निर्माण गरेर अन्तराष्ट्रिय खेलकुदको थलोको रुपमा विकास गर्न नेपाल सरकारसँग आवश्यक पहल भइरहेको उनले जानकारी दिए ।
कार्यक्रममा भर्खरै सम्पन्न अन्तर प्रदेश राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त खेलाडी तथा खेल क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउनुहुने २०० भन्दा धेरै व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।