दूधको रकम उपलब्ध गराउन मुख्यमन्त्री कार्कीको पहल

विराटनगर । विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका ८ जिल्लाका किसानहरूको दूधको रकम लामो समयदेखि भुक्तानी गर्न नसकेकोप्रति मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चासो राखेका छन् ।

प्रदेशका विभिन्न जिल्लाका किसानहरूले दूधको रकम नपाएको गुनासो गरेपछि मुख्यमन्त्री कार्कीसँग रकम उपलब्ध गराउने विषयमा पहल थालेको बताएका छन् ।

शुक्रबार विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख र कर्मचारीहरूलाई कार्यालयमा बोलाएर मुख्यमन्त्री कार्कीले रकम कसरी उपलब्ध गराउन सकिन्छ र प्रदेश सरकारले के गर्न सक्छ भन्ने विषयमा छलफल गरेका छन् । प्रदेश सरकार तीनै तहको संरचनासँग समन्वय गरेर अगाडि बढ्ने सरकार भएकाले किसानको गुनासोलाई सम्बोधन गर्न सरोकारवालालाई बोलाएर समन्वय र निर्देशन दिइएको मुख्यमन्त्री कार्कीले बताए ।

मुख्यमन्त्रीले आयोजना सङ्घीय सरकारको संरचना भए पनि किसानहरूको हितलाई ध्यानमा राखेर आयोजनासँग सहकार्य गर्ने र पूर्णरुपमा सञ्चालन र बजारीकरणका लागि सङ्घीय सरकारसँग पनि छलफल गरेर अगाडि बढ्ने बताएका छन् । सङ्घीय सरकारसँग पनि किसानको रकम उपलब्ध गराउन तत्कालै कुराकानी गर्ने र चाँडोभन्दा चाँडो रकम दिनका लागि समन्वय गर्ने उनले बताए ।

कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्मासहितको उपस्थितिमा छलफल भएको थियो । विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशको धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथरसाथै मधेस प्रदेशको सप्तरी जिल्लासमेत गरेर किसानलाई ३२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

कार्यालयका प्रमुख परमेश्वर चौधरीका अनुसार बजारमा खुल्ला रुपमा बिक्री भइरहेको दूधभन्दा आयोजनाले बेच्ने दूध महंगो भएको र बजारीकरणमा पनि समस्या भएकाले अहिलेको अवस्था आएको बताए । आयोजनाले प्रतिलिटर ९८ रुपैयाँमा दूध बिक्री गरिरहेकोमा बजारमा ८५ रुपैयाँसम्ममै दूध पाइन्छ ।

शुक्रबार, २९ असार, २०८१, दिउँसोको ०२:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर