दुई सातामा १८ जनाको मृत्यु, तीन जना बेपत्ता

विराटनगर । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी कोशी प्रदेशको चार जिल्लामा १२ दिनमा १८ जनाको मृत्यु भएको छ ।
जेठ ३२ गतेदेखि असार १२ गतेसम्म बाढी र पहिरामा परी १८ जनाको मृत्यु भएको हो । दुई जना बेपत्ता र १७ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । झापामा ३ जना, मोरङमा ५, सुनसरीमा १, ताप्लेजुङमा ५, संखुवासभा ३ र ओखलढुङमा १ जनाको मृत्यु भएको छ ।

मंगलबार रातीदेखि परेको वर्षाको कारण मोरङ, झापा, संखुवासभा, ताप्लेजुङ र ओखलढुङमा एकै दिन ४२६ घरपरिवारका २ हजार बढी बिस्थापित भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

झापा, मोरङ, सुनसरी र ओखलढुङ्गामा बाढी, पहिरो र चट्याङमा परेर नौं जनाको मृत्यु भएको थियो । बाढीले बगाएर तीन जना वेपत्ता भएका छन् । जमिनमा पानी जमेपछि सर्पको टोकाइका कारणले पनि मानिसहरुले ज्यान गुमाउने क्रम बढेको छ । बुधबार झापामा सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ ।

झापाको चनकवल गाउँपलिका ३ ठूलो केचना वस्ने हरिप्रसाद राजवंशीको १२ वर्षीया छोरी मनिषा राजवंशीको सर्पले डसेर मृत्यु भएको हो । आफ्नै भण्डार कोठाभित्र टेबल निकाल्ने क्रममा उनलाई विषालु सर्पले टोकेको थियो ।

यस्तै मोरङको रंगेली नगरपालिका ४ मा ४५ वर्षका योगेन्द्र मण्डलको खोला तर्ने क्रममा बाढीले बगाएको छ । उनी अहिलेसम्म फेला पर्न सकेका छैनन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

बुधबार, १३ असार, २०८१, रातीको ०८:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर