विराटनगर । विराटनगर महानगरपालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने ल्याउँदै छ । महानगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले आगामी वर्षको अनुमानित आय व्यय विवरणसहित आर्थिक प्रस्ताव र विनियोजन विधेयक नगरपरिषदमा पेश गर्ने निर्णय गरिसकेको छ ।
महानगरले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ८० करोड रुपैयाँ हाराहारीमा (करिव पौने चार अर्ब रुपैयाँ) बजेट ल्याउने तयारी गरेको छ । शुक्रबार सम्पन्न कार्यपालिका बैठकले वडाहरुलाई दिएको बजेट सिलिङ तथा महानगरका शाखा, महाशाखाहरुको सिलिङका आधारमा प्राप्त भएका योजनाहरु स्वीकृत गरी बजेटको आकारलाई पूर्णता दिएको एक जना कार्यपालिका सदस्यले जानकारी दिए ।
आगामी वर्षको बजेटमा महानगरपालिकाले खासै नयाँ कार्यक्रमहरुलाई ठाउँ दिएको छैन । लक्ष्य अनुसार राजश्व संकलन नभएपछि महानगरले केही नगरस्तरीय बाहेक नयाँ कार्यक्रमहरु समावेश नगरेको बताइएको छ ।महानगरपालिकाले चालु एक अर्ब २ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको भएपनि गतवर्षको जति राजश्व संकलन गर्न महानगरलाई हम्मे परेको छ । गतवर्ष महानगरले ६४ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।
आगामी वर्षको बजेटमा महानगरपालिकाले सबै वडाहरुलाई समानुपातिक रुपमा २ करोड रुपैयाँको बजेट सिलिङ तोकेर योजना माग गरेको थियो । त्यसका आधारमा अधिकांश वडाहरुले योजना र कार्यक्रमको विवरण महानगरमा बुझाइसकेका छन् । विराटनगर महागनरपालिका वडा नम्बर ४ ले सबैभन्दा बढी २ करोड ५० लाख रुपैयाँको सिलिङ प्राप्त गरेको बताइएको छ । केही वडाले २ करोड २० लाख रुपैयाँको सिलिङ पाएका थिए । वडा नम्बर ६, ९, र १२ ले आइतबारसम्म बजेट सिलिङका आधारमा योजनाहरु पेस गरेका छैनन् ।
शुक्रबार बसेको कार्यपालिका बैठकमा आगामी वर्षको बजेटको ठूलो हिस्सा मेयर तथा उपमेयर कोषमा एकमुष्ठ राख्ने विषयमा सहमति भएको छ । उक्त कोषमा झण्डै ४० करोड रुपैयाँ एकमुष्ठ राखेर विभिन्न योजनामा खर्च गर्ने गरी बैठकमा छलफल भएको र त्यसमा जनप्रतिनिधिहरुबीच सहमति जुटेको स्रोतले बतायो । चालु आर्थिक वर्षको बजेट ल्याउँदा महानगरपालिकाले मेयर तथा उपमेयर कोषमा ३४ करोड रुपैयाँ एकमुष्ठ राखेको थियो । कुनै योजनाबिना अबण्डामा ठूलो रकम राखिएको भन्दै गतवर्ष विरोधसमेत भएको थियो । अबण्डामा बजेट राख्न नपाइने भएपनि स्थानीय तहहरुले यस्ता कोषमा रकम राखेर दुरुपयोग गर्ने गरेको भन्दै विज्ञहरुले यस्तो प्रवृत्तिको विरोध गर्दै आएका छन् ।