अनाहकमा मारिए हरिलाल ऋषिदेव

बाँसको भाटाले दुई पटक टाउकोमा प्रहार भएपछि ढलेका हरिलाल फेरि उठेनन्

विराटनगर । जेठ २५ गते शुक्रबारको दिन । बिहानको करिब १० बजेतिर । सधँै झैं टन्टलापुर घाम । केटाकेटी आ–आफ्नै धुनमा थिए । वृद्धवृद्धा र महिलाहरू बिहानको खाना बनाउन लागेका थिए । जवानहरू काममा निस्किसकेका थिए ।

सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर १ को मुसहरी टोलको दिनचर्या सामान्य थियो । तर, त्यस दिन अचानक भाटा, लाठी, हँसिया, बञ्चरो, कोदालो जस्ता घरेलु हतियार लिएर मोटरसाइकलमा दुई दर्जनजति युवाहरु बस्तीमा आए । उनीहरुले स्थानीय काशिनाथ ऋषिदेवको घर भत्काउन थाले ।

स्थानीय झोरा खोलाको साँधैमा ऐलानी जग्गामा निकै कष्टले बनाएको घर भत्काउन थालेपछि बस्तीमै कोलाहल मच्चियो । बालबच्चा रुन थाले । मुसहरी समुदायका अगुवाहरु भेला भए । घर भत्काउन आएका यादव समुदायका युवाहरुलाई सम्झाउने प्रयास गरे । तर, यादव समुदायका दर्जनौं मानिसहरुले अन्धाधुन्द आक्रमण सुरु गरे । फिल्मी शैलीमा आक्रमण भयो ।

‘हामीले घर किन भत्काउनु भएको हो भनेर सोधिखोजी गर्न थाल्यौं । जवाफ नदिई उनीहरुले लाठी मुङ्ग्री सुरु गरे,’ स्थानीय रामप्रसाद ऋषिदेवले भने । हरिलाल ऋषिदेव पनि त्यही बाटो हुँदै आउँदै थिए… । उनले पनि किन आक्रमण गरेको भनेर सोधे । त्यसो भन्ने बित्तिकै उनीहरुले हरिलालमाथि बाँसको भाटा र भाला प्रहार गर्न थाले ।

हरिलाल भाग्न खोजे । तर, घटनास्थलबाट झण्डै सय मिटर पर पुगेपछि उनी ढले । ढलेका उनलाई त्यही आक्रमणकारीले कुटपिट गरे । उनको मुखबाट रगत आयो र बेहोस भए । लगत्तै कोशी अस्पताल पु¥याउँदा उनको ज्यान गइसकेको थियो । अस्पतालका चिकित्सकले उनलाई तत्कालै मृत घोषणा गरिदिए ।
हरिलालका जेठा छोरा हेमकुमार ऋषिदेव त्यस दिन बिहानै विराटनगरमा ज्याला मजदुरी गर्न भनेर हिँडेका थिए । ‘त्यस दिन म घरमा थिइनँ । विराटनगरमा काम गर्न गएको थिएँ । यताबाट घटना भयो भन्ने खबर भयो । बरगाछीमा ल्याउँदै गर्दा भेटें । बिहान सञ्चै छोडेको मेरो बुबाको लाश मात्रै थियो । यहाँको के भयो केही थाहा भएन,’ उनले सुनाए ।

आक्रमणकारीको आक्रमणबाट अन्य पाँच जना घाइते भए । घाइते पाँचै जना उपचारपछि घर फर्किसकेका छन् । घाइते हुनेहरुमा गर्भवती कल्पना ऋषिदेवदेखि चन्द्रलाल ऋषिदेवसम्म छन् । ‘लडाइँ नगरौं, जे छलफल हुन्छ त्यो हिसाबले गरौं भनेपछि मलाई पनि भाटाले हाने । फेरि पनि घटनालाई मिलाउँ भनेको टाउकोमा हाने । म पनि ढलेंछु ।त्यसपछि के के भयो मलाई नै थाहा छैन’ आक्रमणकारीले भाटाले टाउकोमा हानेको चोट देखाउँदै चन्द्रलालले भने, ‘मिलाउन खाजेको थिएँ तर आक्रमणमा परें ।’

१५ जनाविरुद्ध किटानी जाहेरी

काशिनाथ ऋषिदेवको घर झोरा खोलाको साँधैमा छ । उक्त जग्गा ऐलानी हो । सो ऐलानी जग्गासँग स्थानीय जागेश्वर यादवको खेत जोडिएको छ । आफ्नो खेतको छेउमा घर बनाएको भन्दै यादवले पटक–पटक घर हटाउन दबाब दिँदै आएका थिए ।

स्थानीयका अनुसार केही दिन अगाडि जागेश्वर यादवले आफ्नो जग्गा नापी गरे काशीनाथलाई तेरो घर मेरो जग्गामा पर्दछ, तुरून्त हटाउनु नभए भत्काइदिन्छु भनेर धम्की दिएका थिए । त्यसपछि जेठ २० गते ज्यान जानसक्छ भन्दै जागेश्वरसहितको समूहले धाकधम्की दिएको थियो । त्यसबेला काशिनाथले ऐलानी जग्गामा घर बनाएको भन्दै नाप्दा नम्बरीमा घर बनाएको पाइएमा हटाउछु भनेका थिए ।

जग्गा नापजाँच गर्न यादव तयार भएनन् । बरु, जेठ २५ गते बिहानै बस्तीमा आक्रमण गरियो । स्थानीय ऋषिदेव समुदायले दलित भएकै कारण साँध सिमानामा बस्न नदिने नियतले घर हटाउन धाक धम्की दिएको बताएको छ ।मृतकका छोरा हेमकुमारले इलाका प्रहरी कार्यालय दुहवी सुनसरीमा जागेश्वर यादवसहित १५ जनाविरुद्ध ज्यान सम्बन्धि कसुरमा किटानी जाहेरी दिएका छन् । जागेश्वरका छोरा अर्जुन यादव, जोगेश्वरका भाइ जोगानन्द यादव र सोही ठाउँका पुलकित भन्ने फुलदेव यादव, जोगिन्दर यादव, राजेन्द्र यादव, विष्णु यादव, फुलचन यादव, उमेश यादव, रामेश्वर यादव, रामफल यादव, राजकुमार यादव, हरेराम यादव, लतर यादव र वलदेव यादव विरुद्ध उजुरी छ ।

दुई जना पक्राउ, बाँकी फरार

शुक्रबार हरिलालको मृत्युको १३ औं दिनको काममा परिवार र आफन्त जुटेका थिए । उनीहरुको संस्कार अनुसार १३ औं दिनमा भोज भतेर गर्नुपर्छ । उनीहरुसँग भोजभतेर लगाउन पैसा थिएन । मालसामान जुटाउन सोही टोलमा नेपाल ऋषिवंशी जनकल्याण संघ सुनवर्षी नगरपालिकाको अगुवाइमा राहत वितरण गरिएको थियो ।
राहत वितरण कार्यक्रममा भेला भएका दलित समुदायका अगुवाहरु त्रासमा देखिन्थे । यादव समुदायको आक्रमणमा परेर ज्यान जाँदा पनि प्रहरी प्रशासन, जनप्रनिधिहरुले उनीहरुकै कुरा सुनेर घटनालाई सामसुम पार्ने प्रयत्न भइरहेको स्थानीयको गुनासो छ ।

‘घटनालाई मिलापत्र गराउन दबाब आइरहेको छ,’ स्थानीय दिपेन्द्र मेहताले भने, ‘तर, उनीहरुलाई सुरुको दिनदेखि नै मैले सहयोग गरिरहेको छु । मलाई ब्याक हटिदिन दबाब आइरहेको छ ।’ घटना भएको दिनदेखि वडाध्यक्ष, पालिका अध्यक्ष तथा उपाध्यक्षहरुले पनि यादवहरुको पक्षमा लागेर जाहेरी नदिन दबाब दिएका थिए । उनीहरु अहिले पनि ‘यो समुदायले मुद्दा लड्नै सक्दैनन्, कति दिनको चुरिफुरी हो हेरौंला न भनिरहेका छन्,’ मेहताले भने ।

घटनामा संलग्न भनिएका जागेश्वर यादव र उनका छोरा अर्जुन यादव पक्राउ परेका छन् । ‘घटनामा संलग्न भएको पाइएमा अरु पनि पक्राउ पर्छन्,’ सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले भने, ‘पोष्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न सकिएन ।’ जाहेरी परेकाहरुको संलग्नता पाइएमा अरु व्यक्ति पनि पक्राउ पर्ने उनले बताए ।

आइतबार, १० असार, २०८१, दिउँसोको ०२:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर