सरकारी गाडी आगजनी प्रकरण : स्ववियु सचिव ठकुरीसहित १० जनाविरुद्ध पक्राउ पूर्जी जारी

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसअगाडि सरकारी गाडी आगजनी गरेको घटनामा संलग्न १० जना विरुद्ध मोरङ प्रहरीले मुद्दा दर्ता गर्ने भएको छ ।
कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको सरकारी गाडीमा आगजनी गरेको घटनामा १० जनाको संलग्नता रहेको मोरङ प्रहरीले गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । उक्त घटनामा संलग्नको पहिचान भएपछि मोरङ प्रहरीले महेन्द्र मोरङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सचिव सनिम ठकुरीसहित १० जनाविरुद्ध अदालतबाट पक्राउ अनुमति लिएको हो ।

आइतबार सरकारी गाडी आगजनीमा संलग्नलाई पक्राउ गर्न मोरङ अदालतबाट अनुमति लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । ‘घटनामा संलग्नको पहिचान भएपछि हामीले मुद्दा चलाउनको लागि अदालतबाट पक्राउ पूर्जी लिएका छौं । अहिले पक्राउ पूर्जीमा नाम भएका प्रतिवादीको खोजीमा प्रहरी लागेको छ,’ डिएसपी बस्नेतले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ ।’ प्रहरीले यस घटनामा अहिलेसम्म एक जनालाई पनि पक्राउ गरेको भने छैन । प्रहरीले पक्राउ पूर्जी जारी भएका व्यक्तिको नाम गोप्य राखेर अनुसन्धान गर्दैछ ।

यस घटनामा महेन्द्र मोरङ क्याम्सका स्ववियु सभापति जसवन्त पौडेलको संलग्नता देखिएको भए पनि प्रशासनले उनलाई जोगाउन लागि परेको स्रोतको दाबी छ । उनी नेपाली काँग्रेसबाट उम्मेदवार भएर महेन्द्र मोरङ क्याप्सको स्ववियु सभापतिमा निर्वाचित भएका हुन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) का सदस्य दीपक यादवसहित ६ जनालाई प्रहरीले रंगेलीमा पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरूलाई बिना शर्त रिहाई गरिनुपर्ने माग राख्दै २७ जेठमा विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष रामचन्द्र अधिकारी सवार सरकारी गाडीमा आगजनी गरेका थिए । यस्तै विद्युत् प्राधिकरणको पाँचवटा गाडिसमेत तोडफोड गरिएको थियो । तोडफोड गरिएका गाडीहरूमा बा एबी ८१८०, बागमती प्रदेश ०१–०० ञ २७०१, बा १ ञ २४१९, बा ०० ञ २९९०, र बा १ ञ १८८७ नम्बरका छन् । यसअघि पनि महेन्द्र मोरङ क्याम्पसका केही विद्यार्थी नेताहरूले त्रिविवि परीक्षा नियन्त्रण कार्यालयको गाडीमा आगो लगाएका थिए ।

बिहिबार, ०७ असार, २०८१, साँझको ०६:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर