विराटनगर । कोशी प्रदेश सरकारले आगामि आर्थिक वर्ष २०८१–८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख बराबरको बजेट विनियोजन गरेको छ । उक्त बजेटमाथि सोमबारबाट प्रदेशसभामा छलफल सुरु भएको छ । बजेटमा चालू आर्थिक वर्ष २०८०–८१ को चालू खर्चभन्दा आगामी आर्थिक वर्षमा चालू खर्च २ अर्बले बढाइएको छ । चालू खर्चलाई नियन्त्रण गर्नुपर्ने आवाज उठिरहेको बेला सरकारले भने त्यसलाई नियन्त्रण गर्न सकेको देखिएको छैन ।
विनियोजित बजेटमा चालू खर्चका लागि १४ अर्ब ४७ करोड २३ लाख विनियोजन गरिएको छ । उक्त बजेटमा सवारी साधन संचालन तथा मर्मत सम्भार, पदाधिकारी भत्ता तथा सुविधा, मसलन्द, इन्धन प्रयोजनका साथै सेवा परामर्श, कार्यक्रम, गोष्ठी तथा विभिन्न शीर्षकमा बजेट बढाइएको छ ।
सरकारले सवारी साधन संचालन तथा सम्भार खर्चको नाममा ३६ करोड ७१ लाख १८ हजार विनियोजन गरेको छ । जसमा पदाधिकारीको इन्धन, कार्यालय प्रयोजनको इन्धन, सवारी साधन मर्मत र बिमा तथा नवीकरण खर्च जोडिएको छ । चालू आर्थिक वर्षमा उक्त शीर्षकमा २८ करोड ३३ लाख ७६ हजार खर्च हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९–८० मा २८ करोड ५१ लाख ८९ हजार खर्च भएको थियो ।
यस्तै पदाधिकारी भत्ता तथा अन्य सुविधा ४ करोड ९५ लाख ४९ हजार खर्च हुने अनुमान गरिएको छ । उक्त शीर्षक अनुसार पदाधिकारी बैठक भत्ता, पदाधिकारी अन्य सुविधा र पदाधिकारी अन्य भत्ता रहेका छन् । चालू आर्थिक वर्षमा यस्तो खर्च ३ करोड ९१ लाख ९० हजार खर्च हुने अनुमान छ । आर्थिक वर्ष २०७९–८० मा भने यस्तो खर्च २ करोड ८६ लाख ४९ हजार भएको थियो ।
कार्यालय सामाग्री र मसलन्द शीर्षकमा पनि १४ करोड ५३ लाख बजेट विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा यस्तो खर्च १० करोड ६६ लाख ६७ हजार हुने अनुमान छ । आर्थिक वर्ष २०७९–८० मा यस्तो खर्च १३ करोड ८४ लाख ८० हजार खर्च भएको थियो । यस्तै पुस्तक तथा सामाग्री खर्च १ करोड ४१ लाख १५ हजार हुने अनुमान गरिएको छ । चालू आर्थिक वर्षमा १ करोड ७८ लाख २९ हजार यथार्थ खर्च हुने अनुमान छ । आर्थिक वर्ष २०७९–८० मा यस्तो खर्च १ करोड ७१ लाख १७ हजार थियो ।
यस्तै इन्धन प्रयोजनका लागि यस वर्ष २ करोड १२ लाख ७३ हजार छुट्याइइएको छ । चालू आर्थिक वर्षमा यस्तो खर्च १ करोड ६० लाख १६ हजार खर्च हुने अनुमान छ । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा यस्तो खर्च १ करोड २७ लाख ६७ हजार रुपैयाँ भएको थियो । पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च पनि यस पटक अत्याधिक बढाइएको छ । आगामी आर्थिक वर्षका लागि उक्त शीर्षकमा ९ करोड ४१ लाख ६५ हजार छुट्याइएको छ । चालू आर्थिक वर्षमा भने ६ करोड ९६ लाख २८ हजार खर्च हुने अनुमान छ । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा यस्तो खर्च ६ करोड १३ लाख १७ हजार भएको थियो ।
सेवा परामर्श तथा अन्य सेवा शुल्क भने घटाइएको छ । गत आर्थिक वर्ष २०७९–८० मा यस्तो खर्च ६४ करोड ३८ लाख ७२ हजार भएको थियो । चालू आर्थिक वर्षमा १ अर्ब ११ करोड २४ लाख १३ हजार खर्च हुने अनुमान छ । त्यसलाई घटाउँदै आगामी आर्थिक वर्षका लागि भने ९१ करोड ६५ लाख ५३ हजार मात्रै खर्च हुने अनुमान छ ।
यस्तै कार्यक्रममध्ये तालिम तथा गोष्ठीमा मात्रै आगामी आर्थिक वर्षका लागि ३३ करोड ९२ लाख ६७ हजार खर्च हुने अनुमानका साथ बजेट विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा यस्तो खर्च २२ करोड ४९ लाख ७ हजार खर्च हुने अनुमान छ । आर्थिक वर्ष २०७९–८० मा २१ करोड ६७ लाख ९७ हजार रुपैयाँ खर्च भएको थियो । तालिम तथा गोष्ठीकै कार्यक्रम खर्च, विशेष कार्यक्रम खर्च, विविध कार्यक्रम खर्च भनेर थप साढे ११ करोड बढी रकम विनियोजन गरिएको छ ।
यस्तै अनुगमन मूल्याङ्कन र भ्रमण खर्चका लागि १८ करोड २१ लाख ७३ हजार विनियोजन गरिएको छ । यो चालू आर्थिक वर्षमा खर्च हुने अनुमानित १३ करोड १८ लाख ४६ हजार भन्दा झण्डै ५ करोडले बढी हो ।
यस्तै विविध खर्चको नाममा २३ करोड ४८ लाख ३० हजार विनियोजन गरिएको छन् । यस्तो खर्च चालू आर्थिक वर्षमा १६ करोड ७३ हजार ५४ हजार खर्च हुने अनुमान छ । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा विविध खर्च ९ करोड ८० लाख ५२ हजार खर्च भएको थियो । प्रदेश सरकारले आफ्नो संरचना बनाउन नसकेको छैन । प्रत्येक वर्ष सवारी साधन खरिदको बाढी लगाइरहेको छ । तर, प्रदेश सरकारले वर्षेनी जग्गाको भाडा, घर
भाडा, सवारी साधन तथा मेसिनर औजार भाडा तथा अन्य भाडामा ८ करोड ८० लाख ९८ हजार खर्च गर्न सक्ने गरी बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा यस्तो खर्च ७ करोड ५१ लाख १२ हजार हुने अनुमान गरिएको छ भने अघिल्लो आर्थिक वर्ष २०७९–८० मा यस्तो खर्च ६ करोड ६४ लाख ८० हजार भएको थियो ।
प्रदेश सरकारले भैपरी आउने चालू खर्च शीर्षकमा ५९ करोड ४१ लाख ८९ हजार विनियोजन गरेको छ । यस्तै भवन तथा संरचना निर्माण शीर्षकमा आवासीय भवन निर्माण÷खरिदका लागि ३० लाख, गैर आवासीय भवन निर्माण खरिदका लागि १ अर्ब ८६ करोड ३५ लाख ७५ हजार विनियोजन गरेको छ ।
यस्तै सवारी साधन तथा मेसिनरी औजार खरिदका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ९४ करोड ५० लाख ७४ हजार रुपैयाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा यस्तो खर्च ४८ करोड ६१ लाख ६६ हजार हुने अनुमान छ । गत आर्थिक वर्ष २०७९–८० मा सवारी साधन तथा मेसिन औजार खरिदका लागि ४७ करोड ३७ लाख १४ हजार खर्च भएको थियो ।