अराजकतालाई रोक

 सम्पादकीय

मोरङ विराटनगरमा केहि दिनयता केही अराजक गतिविधि भए । महेन्द्र मोरङ क्याम्पस अगाडि सरकारी गाडी विद्यार्थीको नाममा जलाइयो । मानगढ खानेपानी आयोजनाको निर्वाचनमा अति राजनीतिकरण गरियो । नोबेल अस्पतालका संचालक तथा संघीय सांसद सुनिल शर्माका छोराले विद्यार्थीमाथि कुटपिट गरे । यो अराजक घटनाले विराटनगरमा पुनः गुण्डागर्दी सुरु हुन लागेको त होइन भन्ने प्रश्न खडा भएको छ । तर, बिडम्बना सबै घटनाका दोषिहरू अहिलेसम्म कानूनी दायरामा आएका छैनन् । बरु, प्रहरी प्रशासनकै मिलेमतोमा घटनालाई सामसुम बनाउने प्रयास भइरहेको भान भएको छ ।

खानेपानी उपभोक्ता समितिको निर्वाचनमा उपभोक्ताहरुबीच नै प्रतिस्पर्धा हुनु अस्वभाविक होइन । प्रतिस्पर्धामा उत्रिएकाहरुको खानेपानीको गुणस्तर कायम गर्ने एजेण्ड नै प्रमुखताका साथ उठेको छ । मानगढ खानेपानीको हजारौं उपभोक्ताहरु जोडिएका छन् । त्यहाँको पानी गुणस्तर नभए पानी उपभोग गर्नेहरुको स्वास्थ्यमा समस्या हुन सक्छ । खानेपानी आयोजनामा भ्रष्टाचार र अनियमितता भए त्यसले पनि खानेपानीको गुणस्तरमै असर गर्छ । निर्वाचनको क्रममा भ्रष्टाचारका कुरा उठेका छन्, अनियमितताको कुरा उठेका छन् र लामो समयदेखि नेतृत्वमा रहेकाहरुमाथि प्रश्न उठाइएको छ । नेतृत्व परिवर्तनको बहस उठेको छ । सबैकुरा जायज छन् । तर, तिनैकुरालाई आधार मानेर कुनै राजनीतिक दलहरुले लेटरप्याडमा हस्ताक्षर गराएर पार्टीकै कार्यकर्तालाई उम्मेद्वार सिफारिस गर्ने, वडाको, पालिकाको वा संसदको निर्वाचन जस्तो गर्नु अनुचित थियो । एकले अर्कोलाई खुट्टा तान्ने, पार्टीको गुटउपगुट नै निर्वाचनमा होमिनु पर्ने । पार्टीकै नेताहरुलाई उम्मेद्वारले आर्थिक प्रलोभन पारेर चुनाव प्रभावित पार्न खोज्ने नियत गलत छ । यसले आम उपभोक्ता र स्वयं मानगढ खानेपानी संस्थाको छवि धुमिल्याएको छ । यसलाई आम नागरिकहरुले सचेततापूर्वक रोक्न आवश्यक छ ।

यस्तै महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले सरकारी गाडी जलाएको घटना सामसुम जस्तै भएको छ । घटनामा दोषि को हुन् र संलग्न को को थिए भन्ने विषयमा प्रहरी प्रशासनले थाहा पाइसकेको छ । तर, पनि उनीहरुलाई पक्राउ गरेर कानूनी दायरामा ल्याउने प्रयास भएको छैन । कानूनी शासन हुन्थ्यो भने उनीहरु यस बेलासम्ममा कानूनी कठघरामा हुन्थे । तर, नेताहरु र राजनीतिको छत्रछायाँमा रहेका उनीहरु खुलेआम हिंडिरहेका छन् । प्रशासनले अराजकतालाई प्रश्रय दिइरहेको छ । यस्तै संघीय सांसद सुनिल शर्माका छोराले विद्यार्थीमाथि कुटपिट गरेको घटना सोमबार सार्वजनिक भएको थियो । उक्त घटनामा संलग्न भएका इशान शर्मालाई प्रहरीले केही बेर नियन्त्रणमा पनि लियो । तर, राजनीतिक दबाबकै कारण उनलाई छोडिएको छ भने घटनालाई मिलेमतोमै सामसुम पारिएको छ । पटकपटक अराजकता मच्चाउँदै आएका उनलाई छोड्दा भविष्यमा त्यस्तै घटना नगराउलान् भन्न सकिन्न ।

उल्लेखित घटना प्रतिनिधि पात्रहरु हुन् । रंगेलीका वडाध्यक्षलाई अदालतले पक्राउ पूर्जी जारी गरेको महिनादिन हुन लाग्यो । तर, उनी अहिलेसम्म पक्राउ परेका छैनन् । सरकारी कागजात किर्ते गरेर जग्गा अर्कैको नाममा नामसारी गरेको घटनामा उनलाई पक्राउ पूर्जी जारी गरिएको हो । तर, उनलाई कानूनी दायरामा ल्याउनुको साटो प्रहरीले अनदेखा गरिरहेको छ । उनलाई अहिलेसम्म पक्राउ गरेको छैन । राजनीतिक दबाब, प्रभाव र शक्तिको दुरुपयोग गर्दै समाजमा खुलेआम अराजकता मच्चाउन उल्लेखित घटनाका पात्रहरुलाई कानूनी दायरामा नल्याएसम्म समाजमा सुशासन कामय हुन सक्दैन । यस विषयमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत गृह प्रशासनले विशेष ध्यान दिनु आवश्यक छ

बुधबार, ०६ असार, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर