विराटनगर । विश्वव्यापी बजार विस्तार गर्दै गएको नेपाली खाद्य उद्योग एशियन थाई फुड्स प्रा. लि.ले नाइजेरियाको लागोसमा आयोजना भएको ‘फुड एन्ड बेभरेजेज वेस्ट अफ्रिका २०२४’ अन्तर्राष्ट्रिय व्यापारिक मेलामा सहभागिता जनाएको छ । यो अफ्रिकामा सहभागिता जनाउने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ ।
स्थापनाको २५ वर्षे अवधिमा यस कम्पनीले नेपालको नूडल्स (चाउचाउ) र स्न्याक्स उत्पादनहरूको बाजार विश्वभरिका अनेकौं देशसम्म पु¥याएको छ । टु पीएम, रमपम र प्रिती जस्ता लोकप्रिय ब्रान्डहरू उत्पादन गर्ने पहिलो नेपाली कम्पनीको रूपमा एसियन थाई फुड्सले पहिचान बनाएको छ । अमेरिका, आस्ट्रेलिया, युरोप, गल्फ राष्ट्रहरूलगायत एशियाका थुप्रै मुलुकहरूमा नेपालमा तयार गरिएका प्रशोधित खाद्य पदार्थहरू विश्वव्यापी धारणा बनाउन एसियन थाई फुड्सले महत्वपूर्ण भूमिका खेलेको छ ।
“विश्वभरको बजारमा भारतीय उपमहाद्वीपमा तयार पारिएको खाद्य उत्पादन र मसालाप्रति अलग्गै आकर्षण रहेको छ । त्यसमध्ये नेपाली खाद्य उत्पादनप्रति पनि अलग्गै रुचि र आकर्षणको सम्भावना छ, “कम्पनीका प्रबन्ध निर्देशक महेश जाजुले भने, “यसै अनुभूतिका आधारमा हामीले बाजार विस्तार गर्दै नेपालको निर्यात बढाउने लक्ष्य राख्यौं र यसको धेरै सुखद परिणाम आएको छ ।”
अन्तर्राष्ट्रिय व्यापारिक मेला र प्रदर्शनीहरूमा सहभागिता दिनु बाजार विस्तारको रणनीति रहेको बताउँदै जाजुले हाल २६ भन्दा बढी देशहरूमा आफ्ना उत्पादनहरू निर्यात गरिरहेको जानकारी दिए । गल्फ फूड दूबई, वल्र्ड फुड इस्तानबुल (टर्की), वल्र्ड फूड इन्डिया र आहार इन्डिया जस्ता प्रतिष्ठित व्यापारिक मेला–प्रदर्शनीहरूमा सहभागिता जनाउँदै यस कम्पनीले नेपाल र नेपाली खाद्य उत्पादनहरूप्रति अलग्गै र अमिट छाप छोडेको छ ।
“उल्लेखनीय रूपमा, यी प्रदर्शनीहरूमा यस कम्पनीको उपस्थिति पूर्णरूपले आफ्नै खर्चमा भएको छ,” जाजुले भने, “यसले नेपाली खाद्य उत्पादनहरूलाई विश्वव्यापी मञ्चमा प्रवद्र्धन हुन सक्छन् भन्ने सम्भावना उजागार भएको छ ।”
एशियन थाई फुड्सले अकबरे, कोरियन रैमन, किम्ची रैमन, नेपोलिटाना, मशरूम, श्रिम्प, सी–फुड जस्ता थुप्रै नयाँ स्वादहरूमा विश्वबाजार अनुरूपका कयौं प्रिमियम श्रेणीका चाउचाउहरू उत्पादन गरेको जनाएको छ । यी उत्पादनहरू नेपाली बाजार मात्रै होइन, विश्वबजारसम्म पुगेका छन् र नेपाली चाउचाउलाई वैश्विक बनाउनेतर्फ सघाउँदै आएको छ ।
त्यसैगरी, चिजबल, फायरबल, लेमन मिन्ट स्टिक्स, श्रिम्प क्रेकर, चिकन क्रेकर, फायर क्रेकर, पञ्जाबी पकोरा, मसाला मन्च, अकबरे स्टिक्स, पोटेटो क्रेकर र इटालियन पास्तालगायतका अनेकौं नमकिन स्ञ्याक्स उत्पादनहरू पनि लञ्चिङ गरिरहेको कम्पनीले जनाएको छ । यसले नेपालको आर्थिक भविष्य बलियो बनाउने आधार तयार पारेको जाजुले बताए ।
उनले स्थानीय उत्पादन र निर्यातको प्राथमिकतालाई बढावा दिने सरकारी प्रतिबद्धता बयान कागजी मात्रै भएको भन्दै यस्ता सम्भावनाहरुलाई राज्यले पनि सहयोग गर्नुपर्ने बताए ।