सम्पादकीय
सुगम जिल्ला मोरङको दुर्गम क्षेत्रमा पर्छ पर्यटकीय जेफाले डाँडा । सुन्दर र रमणीय जेफालेमा धनकुटाको भेडेटार र इलामको कन्यामको जस्तै मौसम र वातावरण छ । तर, त्यहाँ पर्यटकीय पूर्वाधारको विकास हुन सकेको छैन । वाह्रैमास शिरिरि हावा चलिरहने, छिनछिनमै मौसम परिवर्तन हुने १ हजार ९७० मिटर उचाइमा रहेका जेफालेबाट सुर्योदयको दृश्य मात्र नभएर पूर्वका १६ वटै जिल्ला र हिमश्रृंखलाहरु देख्न सकिनछ । विश्वकै अग्लो हिमाल सगरमाथा र कञ्चनजंघा पनि जेफाले भ्युटावरबाट देख्न सकिन्छ । सो क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यावरणीय पर्यटनको संगमस्थल बन्ने संभावना भएको क्षेत्र हो । जेफालेमा रहेको करिब एक हजार रोपनीमा फैलिएको चियाबारीले इलामको झल्को दिने गरेको छ । मनोरम दृश्यावलोकन तथा अध्ययन अनुसन्धानका लागि पनि त्यो क्षेत्र महत्वपूर्ण छ । तर, सञ्चार, स्वास्थ्य, सुरक्षा र सडकलगायतका विकासको पूर्वाधारबाट पछि परेको कारण नै संभावना भएपनि जेफालेको पर्यटकीय विकास हुन सकेको छैन ।
धनकुटाको भेडेटार राजारानीबाट सम्वेवा चोक हुँदै पुग्न सकिने जेफाले जाने सबैभन्दा छोटो बाटो भने मोरङको केराबारी हुँदै जाने बाटो हो । केराबारीबाट २५ किलोमिटरको दुरीमा रहेको जेफाले राम्रो सडक नभएकै कारण पर्यटकीय क्षेत्रको रुपमा स्थापित भइसकेको छैन । उत्तरी मोरङको केराबारीबाट सिंहदेवी जाने ‘खोर्साने–केराबारी–सिंहदेवी रोड’ निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी सीआइसीओ (सिको) र केसीसीपीएल जेभीले काम नगर्दा सडकको मात्र बेहाल भएको छैन, जेफालेवासीको सपना पनि मिचिएको छ । दुई कम्पनीले दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का लिएको सडकको काम ५ वर्ष बित्न लाग्दा पनि ५४ प्रतिशत मात्रै भएको छ । सडकमा सामान्य स्ट्रक्चरको काम मात्र भएको छ । जसले गर्दा सो सडक भएर आवतजावत गर्नेहरुले जोखिसँगै सास्ती बेहोर्नुपर्ने बाध्यता छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा बनिरहेको सडकको दुर्दशाले हाम्रो विकासको गतिलाई झल्काउँछ । निर्माण कम्पनीले ठेक्कामा लिएर सडक निर्माणमा चरम लापरबाही गरेको कारण स्थानीयले समस्या भोगिरहेका छन् । निर्माण कम्पनीमाथि सरकारी निकायले कार्वाही गर्न सकेको छैन । किनकि सडकको ठेकेदार कम्पनी कान्छाराम प्रतिनिधिसभाका सांसदको कम्पनी हो । पूर्व क्षेत्रका धेरै सडकको ठेक्का लिएर अलपत्र बनाएको कान्छाराम कन्ट्रक्सन नेपाली कांग्रेसबाट निर्वाचित रामेछापका प्रतिनिधिसभा सांसद पूर्णबहादुर तामाङको कम्पनी हो । तोकिएको समयमा आफूले ठेक्का लिएको सडक निर्माण नगरि अलपत्र पारेर नागरिकलाई दुःख दिएका तामाङ भने ‘मुलुक नै बनाउँछु’ भन्ने गफ दिइरहेका छन् । सडक निर्माणको ठेक्का पाएको कान्छारामले गरेको लापर्वाही अक्षम्य हो । अझ मुलुक बनाउँँछु भनेर जिम्मा लिएको सांसदको कन्स्ट्रक्सन कम्पनीले नै काम अलपत्र पार्नु गम्भीर विषय हो । उक्त सडकमा लापर्वाही गर्ने कम्पनीलाई कार्वाही गरेर भएपनि छिटोभन्दा छिटो सडकको काम सम्पन्न गर्न सरकारी निकायले तदारुकता देखाउनुपर्छ । सडक राम्रो नभएकै कारण मोरङ मात्र नभएर कोशी प्रदेशै राम्रो पर्यटकीय संभावना बोको जेफाले ओझेलमा परेकोप्रति प्रदेश सरकार पनि गम्भीर बन्नुपर्छ ।