विराटनगर । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्वद्ध अधिकारीकै तदारुकता अभावमा राजस्व चुहावट र अवैध ओसार–पसार नियन्त्रणमा प्रतिफल प्राप्त नभएको बताएका हुन्।
राजस्व चुहावट र अवैध ओसार–पसार नियन्त्रणमा देखिने गरी काम गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्।
विराटनगरमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा मन्त्री लामिछानेले लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्नु र चुहावट बढ्नुका कारणबारे जानकारी हुँदाहुँदै पनि सरकारी निकायबीचको समन्वय र सम्वद्ध अधिकारीकै तदारुकता अभाव भएको बताएका छन् । यसले प्रतिफल प्राप्त नभएको उनले बताए ।
जिल्लामा अवैध गतिविधि भइरहने तर नियन्त्रणको कानूनी अधिकार भएका सुरक्षा अधिकारीहरु त्यसैलाई टुलुटुलु हेरिरहने प्रवृत्ति स्वीकार्य नहुने उनले चेतावनि दिए । मन्त्री लामिछानेले अधिकार प्रयोगमा हिचकिचाउने र जिम्मेवारी पन्छाउने कर्मचारीविरुद्ध कठोर हुने चेतावनी समेत दिएका छन्।
खुला सीमाका कारण अवैध बाटोबाट विदेशी उत्पादन भित्रिदा नेपाली उत्पादनले बजार नपाउने समस्याप्रति गम्भीर बन्न र बजार अनुगमन बढाएर आन्तिरिक उत्पादनलाई प्रोत्साहनको वातावरण बनाउन पनि सुरक्षा अधिकारीलाई निर्देशन पनि दिएका छन्