विदेश पठाउने बाबुको इच्छा पूरा नगरेका मेहता सफल उद्यमी

विराटनगर । सामान्य किसान परिवारमा जन्मेका पिन्टु मेहता सानैदेखि स्वदेशमा केही गर्छु भन्ने सोच राख्दथे । विद्यालय शिक्षा लिइरहेकै बेलादेखि आफू जन्मेको ठाउँमा नै कुनै व्यवसाय गरेर बस्ने उनको चाहना थियो । तर उनका बाबु छोरालाई दुःख गरेरै भए पनि विदेशमा पढाउन चाहन्थे ।

मेहताले विद्यालय शिक्षा (१२ कक्षा) उतीर्ण गरेपछि बाबु ज्ञानदेव मेहताले विदेश पठाउन लाग्ने खर्चको जोहो गर्न थाले । तर पिन्टुले बाबुलाई विदेश जान्न भनिदिए । उनले बरु कुनै व्यवसाय सुरु गर्ने तर विदेश नजाने आफ्नो योजना सुनाए ।

त्यसपछि उनले सुनसरीको देवानगंज १ मध्यहर्षाहीमा ३१ हजार रुपैयाँ लगानी गरेर डेरी उद्योग स्थापना गरे । सुनसरी बाघेश्वरी डेरी प्रालि स्थापना गरेर उनले स्थानीय किसानले उत्पादन गरेको दुध संकलन गरी बिक्री गर्न थाले ।२०७२ सालमा एउटा फ्रिज किनेर दुध र दुधबाट बनेका परिकारहरुलाई स्थानीय बजारमा बिक्री गर्न थालेका मेहताले पेशालाई निरन्तरता दिए । उनी भन्छन्, ‘हरेक महिना भएको आम्दनीलाई डेरी उद्योगमै लगानी गर्दे विस्तार गर्दै गएँ । अहिले ३१ हजारबाट सुरु गरेको डेरी १ करोड ५० लाख रुपैयाँ पुँजीको भइसकेको छ ।’

वैदेशिक रोजगारीमा जाने गरेका युवाहरुलाई देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन सानो भए पनि सफलता पाएको उनी बताउँछन् । पिन्टुको योजना सुनेर गाउँका धेरैले हासिमजाक बनाएका थिए । तर, अहिले गाउँकै युवाहरु व्यवसायको बारेमा बुझ्न आउने गरेको उनी बताउँछन् ।दैनिक ४० लिटर दुध स्थानीय किसानबाट आफैंले किनेर सुरु गरेको डेरीले अहिले विभिन्न चार ठाउँमा दुध संकलन केन्द्र स्थापना गरेर दुध संकलन र बिक्री वितरण गर्दै आइरहेका छन् ।

सुनसरीको देवानगंज, हरिनगर, बर्जु र भोक्रहा नसिङ्ग गाउँपालिकामा दुध संकलन गर्ने केन्द्र स्थापना गरेको उनले बताए । उनले दैनिक चार हजार लिटर दुध संकलन गरी बिक्री वितरण गर्दै आएका छन् । उनको डेरीले दुध, दही घिउ, नौनी, पनिर, मही आदि उत्पादनहरु बजारमा बिक्री गर्दै आएको छ ।

उनले उत्पादन गरेको वस्तु कोशी प्रदेशको राजधानी विराटनगरदेखि मधेश प्रदेशको सप्तरी र सिरहाका बजारमा बिक्री गर्दछन् । भोजभत्तेरका लागि भारतको बिहारबाटसमेत दुध र दुग्धजन्य परिकार अर्डर आउने गरेको भन्दै उनले अर्डर बमोजिम बिक्री गर्ने गरेको बताए । सप्तरी र सिरहामा ब्रतबन्ध, विवाह, मृत्युभोजलगायतमा दही दुधको माग बढेको छ उनले बताए ।

३१ हजार रुपैयाँ लगानीबाट सुरु गरेको व्यवसायले अहिले मासिक दुई लाख बढी आम्दानी भइरहेको मेहताले बताए । त्यही आम्दनीबाट घरव्यवहार चलाएर बाँकी रकम व्यवसायमै लगानी गर्ने गरेको उनले बताए । ‘उद्योग अझै विस्तार गर्नु छ’, उनले भने ‘कोशी प्रदेश नमुना डेरीको रुपमा विस्तार गर्ने लक्ष्य लिएको छु । उनले अहिले एक दर्जन युवालाई रोजगार दिएका छन् ।

कोरोना कालमा भएको लकडाउनमा झण्डै धेरै नै नोक्सान भएकाले अहिले सोचे अनुसारको व्यवसाय विस्तार गर्न नसेको उनले बताए ।

आइतबार, २७ जेठ, २०८१, बिहानको ०९:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page