खर्च कटौती गर्दै राजश्वको दायरा बढाउनुपर्छ : आङ्बो

विराटनगर । कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारमा रहेको स्रोत व्यवस्थापनको चुनौती हटाउन अनुत्पादक र चालु खर्च कटौती गर्नुपर्ने सुझाब दिएका छन् ।

सरकारले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा आजको प्रदेशसभा बैठकमा भाग लिँदै नेता आङ्बोले स्रोत व्यवस्थापनको लागि सरकार सचेत हुनुपर्ने अवस्था रहेको बताए । त्यसको लागि अनुत्पादक र चालु खर्च कटौती गर्दै पूँजीगत खर्च बृद्धि गर्नेगरि बजेट आउनुपर्ने उनको सुझाब छ ।

राजश्वको दायरा फराकिलो बनाएर राजश्वमा बृद्धि गर्नुपर्ने र वित्तीय संघीयता अनुसार प्राप्त गर्ने अनुदान थप प्राप्त गर्न संघीय सरकारसँग पहल गर्नुपर्नेमा पनि आङ्बोले सुझाब दिए । सरकारले ल्याएको नीति तथा कार्यक्रम संयम र सन्तुलित रहेको भन्दै उनले यसअघि बनेको प्रदेशको आवधिक योजनाको अपेक्षित कार्यान्वयन नभएको र सोचेजस्तो प्रतिफल नआएकोले त्यसको समिक्षा गर्दै अगाडि बढ्नुपर्ने बताए ।

नीति तथा कार्यक्रमले कृषि क्षेत्रको विकासलाई जोड गरेको भएपनि अझै ठोस गर्नुपर्ने आङ्बोले बाए । ‘कृषि निर्यातमा देशको ४० प्रतिशत हिस्सा हाम्रै प्रदेशको छ’ उनले भने, ‘अलैचा, अलैची मासुजन्य र दुधजन्य पदार्थको अन्तराष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्छ ।’ चिया निर्यात र बजारीकरणमा बारम्बार आएको समस्या समाधान गर्न चिया बोर्ड प्रदेशमा आउनुपर्ने भन्दै उनले अलैची र अदुवाको निर्यात तथा बजारीकरणको अध्ययन गरि प्रशोधन गर्न तीन तहकै सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

प्रदेशमा रहेका धार्मिकसँगै साहसिक र प्राकृति पर्यटनका संभावनालाई साकार प्राप्त गर्न अधिकार सम्पन्न पर्यटन बोर्ड आवश्यक रहेको भन्दै आङ्बोले भारतको उत्तर प्रदेश, बंगला र विहारका पर्यटकको सहजीकरण गर्न संघीय सरकारसँग समन्वय गर्नुपर्ने बताए । ‘पर्यटनबाटै राजश्व बृद्धि गरि आर्थिक गतिबधि बढाएर रोजगारी सिर्जना गर्न सकिन्छ’ उनले भने, ‘त्यसको लागि नीतिगत रुपमा काम गर्नुपर्छ । संघीय सरकारसँग समन्वय र सहकार्य गर्नुपर्छ ।’

मुन्धुम पदमार्गसहित बाँकी पदमार्ग व्यवस्थित गर्नसके थप पर्यटक आकर्षित गर्न सकिने भन्दै आङ्बोले धार्मिक महत्वका क्षेत्रमा पुग्ने सडक विकास र पालिकाको केन्द्रमा पुग्ने सडकमा अब प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । जनता आवासको मोडालिटी परिवर्तन गरेर न्युन आय भएका नागरिकलाई पनि समेट्नुपर्ने उनको सझुाब छ ।

शिक्षा क्षेत्रमा मनोमोहन विश्वविद्यालयको स्तरोन्नती र प्राबिधिक महाविद्यालयलाई जोड दिनुपर्ने भन्दै आङ्बोले शिक्षकलाई तालिम दिएर दक्ष बनाउन प्रदेश सरकारले लगानी गर्नुपर्ने बताए । सामुदायिक स्वास्थ्य क्षेत्र र अस्पताल स्तरोन्नतीमा ध्यान दिनुपर्ने भन्दै उनले मध्यपहाडी क्षेत्रका पाँचथर, धनकुटा र खोटाङमा न्युनतम् १०० शय्याको अस्पताल बनाउनुपर्ने बताए । त्यसले पहाडी क्षेत्रको बसाई सराइ पनि कम गर्ने उनको भनाइ छ ।

मेची प्रादेश अस्पताललाई प्रतिष्ठानको मोडलमा रुपमा विकास गरेर मेडिकल कलेज सञ्चालनको अवधारणाम जानुपर्ने आङ्बोको भनाइ छ । झापाको दमकमा बनेको भ्युटावरको अन्य उपयोगिता तत्काल नदेखिएकोले त्यसलाई मेडिकल कलेजको संरचना बनाउन सकिने उनले सुझाब दिए ।

औद्योगिक करिडोरलाई थप व्यवस्थित गर्न अमरडुवाको जमिन र दमकको औद्योगिक पार्कको काम अगाडि बढाउनुपर्ने भन्दै आङ्बोले प्रदेश सरकारले संघसँग थप पहल र समन्वय गर्नुपर्ने बताए । अब उद्यमशिलता र रोजगारी बढाउन घरेलु तथा साना र मझौला उद्योगको विकासमा स्टार्टअप र नवप्रबद्र्धनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

बुधबार, २३ जेठ, २०८१, रातीको ०८:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page